ईपीएल : अन्तिम बलमा शरदको छक्का, खेल ‘टाई’- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ईपीएल : अन्तिम बलमा शरदको छक्का, खेल ‘टाई’

विनोद पाण्डे

काठमाडौँ — ललितपुर प्याट्रियट्स र भैरहवा ग्लाडियटर्सबीच बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा बिहीबार भएको खेल ‘टाई’ मा टुंगिएको छ । १ सय ७८ रनको लक्ष्य लिएर आएको भैरहवाले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय ७७ रन बनाएपछि स्कोर बराबरी भएर खेल सुपर ओभरमा लम्बिएको थियो । तर खराब प्रकाशका कारण थप खेल हुन असम्भव भएपछि दुवै टोलीलाई १–१ अंक प्रदान गरिएको थियो ।

भैरहवाका कप्तान शरद भेषावकरले खेलको अन्तिम बलमा छक्का प्रहार गर्दै स्कोर बराबरी गरेका थिए । शरदले पहिलो बल सामना गर्दै राशिद खानको बलमा छक्का प्रहार गरेका थिए ।

भैरहवालाई यो स्कोरमा पुर्‍याउने प्रमुख भुमिका उपुल थाराङ्गा र कुशल मल्लले गरे । थाराङ्गाले ४४ बलमा अविजित ६७ रन बनाए । उनले ६ चौका र ३ छक्का प्रहार गरे । कुशल मल्लले १९ बलमा ३ चौका र २ छक्का प्रहार गरी ३५ रन बनाए ।

भैरहवाका लागि अन्य खेलाडीमा तामिम इक्बालले १४ र आरिफ शेखले २८ रन बनाएका थिए । ललितपुरका राशिदले ३ र रिजन ढकालले २ विकेट लिए । यस नतिजापछि भैरहवा ३ खेलमा ४ अंक जोड्दै शीर्ष स्थानमा पुगेको छ । चितवन टाइगर्सको पनि ४ अंक नै छ तर टोली रन रेटमा भैरहवाभन्दा पछाडि छ । ललितपुरले तेस्रो खेलमा आएर पहिलो अंक बटुलेको हो ।

यसअघि टस हारेपछि ब्याटिङमा आएको लतिलपुरले निर्धारित २० ओभर खेलेर ७ विकेट गुमाई १ सय ७७ रन बनाएको थियो । ओपनर सन्दीन विराकोडीले सर्वाधिक ५८ रन बनाए । उनले ४१ बल खेली २ चौका र ५ छक्का प्रहार गरे ।

कप्तान एवं ओपनर कुशल भुर्तेललाई २ रनमै रनआउटमा गुमाए पनि विराकोडीले अर्का श्रीलंकाली खेलाडी ओसाडा फर्नान्डोसँग दोस्रो विकेटमा ८ ओभरमा ६६ रनको साझेदारी गरे । फर्नान्डोले १९ बल खेली १ चौका र २ छक्कासहित २० रन बनाए ।

सन्दीप जोराले ३८ र अफगानिस्तानका अजमतुल्लाह ओमारजाईले ४२ रन बनाएपछि ललितपुर चुनौती स्कोर बनाउन सफल भयो । सन्दीपले २५ बल खेली २ चौका र २ छक्कासहित ३८ तथा ओमारजाईले २२ बल खेली २ चौका र ४ छक्का प्रहार गरे ।

पवन सर्राफ १ र योगेन्द्रसिंह कार्की ७ रनमा आउट भए । अविनाश बोहराले २ विकेट लिए । तर त्यसका लागि उनले ४ ओभरमा ४७ रन खर्चे । धम्मिका प्रसाद, कृष्ण कार्की र आरिफ शेखले १–१ विकेट लिए ।

प्रकाशित : आश्विन १४, २०७८ १८:०२
प्रतिक्रिया
पठाउनुहोस्

नेपाल-भारत संयुक्त परियोजना अनुगमन समितिको बैठक : भूकम्पपछिको पुनर्निर्माणमा सन्तुष्टि

कान्तिपुर संवाददाता

काठमाडौँ — भूकम्कपछि भारतीय सहयोगमा नेपालमा पुनर्निर्माण भएका परियोजनाहरुको प्रगतिलाई नेपाल–भारत संयुक्त परियोजना अनुगमन समिति (जेपीएमसी) को बैठकमा दुवै पक्षले सन्तुष्टि जनाएका छन् । 

नेपालमा २०७२ सालमा भूकम्प गएपछि भारतले नेपालका भूकम्प प्रभावित जिल्लाहरुमा घर, विद्यालय र स्वास्थ्य भवन तथा सांस्कृतिक सम्पदा निर्माणमा सहयोग गरेको छ ।

भारतको सहयोगमा निर्मित पुननिर्माण परियोजनाको प्रगतिको सम्बन्धमा बिहीबार काठमाडौंमा बैठक भएको थियो । मेरियट होटलमा भएको उक्त संयुक्त बैठकमा नेपालको तर्फबाट राष्ट्रिय पुननिर्माण प्राधिकरणका सचिव सुशीलचन्द्र तिवारी र भारतीय पक्षबाट विदेश मन्त्रालयका नेपालसहित उत्तरी महाशाखा हेर्ने सहसचिव अनुराग श्रीवास्तवले आ–आफ्नो टोलीको नेतृत्व गरेका थिए । बैठकले भारतको सहयोगमा नेपालका आवास, शिक्षा, स्वास्थ्य र सांस्कृतिक सम्पदाको क्षेत्रमा सञ्चालित भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरुको प्रगतिको बृहत समिक्षा गरेको नेपाल र भारतीय दुवै पक्षले जनाएको छ ।

उक्त बैठकपछि भारतीय पक्षले विज्ञप्ती निकाल्दै आवासको क्षेत्रमा भारत सरकारको आर्थिक सहयोगमा गोरखा र नुवाकोट जिल्लामा सफलतापूर्वक ५० हजार निजी घरको पुनर्निर्माण भएकोमा दुवै पक्षले सन्तुष्टि व्यक्त गरेको जनाएको छ ।

बैठकमा दुवै पक्षले शिक्षा, सांस्कृतिक सम्पदा र स्वास्थ्यको क्षेत्रमा अघि बढिरहेका पुनर्निर्माण परियोजनाहरुमा भएको प्रगतिको सराहना गरेका छन् । उक्त समितिको बैठक दुवै मुलुकको सहमतिमा मिति तय गरेर अर्को पटक बस्ने सहमति भएको छ । बैठकमा नेपाल सरकारका सम्बन्धित मन्त्रालय, विभाग एवं निकायका प्रतिनिधि र भारत सरकारका अधिकारी, परामर्शदाता तथा परियोजनाको कार्यान्वयनमा संलग्न सरोकारवालाहरुको उपस्थिति थियो ।

भारतको सहयोगमा नेपालमा सञ्चालित भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरुको प्रगतिको समिक्षा गर्न दुवै मुलुक मिलेर सन् २०१७ अगस्टमा उक्त जेपीएमसी संयन्त्र खडा गरिएको थियो । उक्त बैठक यसअघि २०७६ को फागुन २५ गते बसेको थियो ।

प्रकाशित : आश्विन १४, २०७८ १७:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×