१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

महामारीमा पनि खेल पूर्वाधार धमाधम

सन्जु पौडेल

तिलोत्तमा — कोभिड–१९ महामारीले चैतदेखि जिल्लाका व्यवसाय, विद्यालय, मानिसको जनजीवनमा प्रभाव पारे पनि यहाँका स्थानीय तहको लगानीमा खेल पूर्वाधारको निर्माण भने धमाधम चलिरहेको छ । 

महामारीमा पनि खेल पूर्वाधार धमाधम

अरू बेला फरक काम गरेर जीविका चलाउने स्थानीय मजदुरलाई रोजगारी होस् र संरचना पनि निर्माण होस् भन्ने उद्देश्य स्थानीय तहहरूको छ । ती स्थानीय तहहरू स्वास्थ्य सावधानी अपनाई निर्माण कार्यलाई निरन्तरता दिइएको जनाएका छन् ।

सीमावर्ती सिद्धार्थनगर नगरपालिकामा निर्माण भइरहेको सिद्धार्थ क्रिकेट रंगशालामा भीआईपी प्यारापिट बनिरहेको छ । गत वर्ष रंगशालाका लागि छुट्याइएको ४ करोड बजेटबाटै अहिलेसम्मको काम भइरहेको नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य एवं रूपन्देहीका अध्यक्ष प्रशान्तविक्रम मल्लले बताए ।

‘यस वर्षका लागि १ करोड विनियोजन भएको छ,’ उनले भने, ‘कोरोना महामारीले पर्याप्त बजेट नपाए पनि काठमाडौंको मूलपानी र भैरहवाको सिद्धार्थ रंगशालाले सबैभन्दा धेरै बजेट पाएका हुन् ।’

सामान्य अवस्था भएर प्रतियोगिता गर्ने निर्णय भएमा अन्तर्राष्ट्रिय खेलकै लागि मैदान तयार भइसकेको उनको दाबी छ । रंगशालाको मैदान, ५ वटा पिच निर्माण, मैदानवरिपरि जाली लगाई तारबार, नाली निर्माण, स्टोर रूम, गार्ड रूम, सेक्युरिटी चेक प्वाइन्ट, चेन्जिङ रूम, संघको कार्यालयसमेत बनेको मल्लले बताए ।

अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको मापदण्डअनुसार ०७५ सालमा डीपीआर निर्माण सम्पन्न भई अघि बढेको सिद्धार्थ रंगशालामा भीआईपी प्यारापिट सम्पन्न भइसकेपछि ११ हजार दर्शक अटाउने सर्वसाधारणतर्फको प्यारापिटको काम थालिने मल्लले जानकारी गराए । यो योजनालाई बहुवर्षीय योजनामा लगेर ३/४ वर्षमै सम्पूर्ण निर्माण कार्य गर्न सकेमा छिटो निर्माण सम्पन्न हुने उनको बुझाइ छ । तिलोत्तमा नगरपालिकामा दक्षिण एसियाली खेलकुद सम्पन्न गर्न मिल्ने गरी इन्डोर र आउटडोर गरी १ सय बढी खेलको प्रतियोगिता एकैसाथ आयोजना गर्न मिल्ने गरी निर्माण गरिने स्पोर्टस् पार्कको डीपीआर निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

नगरपालिकाले वडा ६ मा ५० बिघा जग्गामा स्पोर्टस् पार्क निर्माण गरी प्रतियोगिता सञ्चालन तथा प्रशिक्षणका लागि दुई फुटबल मैदान र क्रिकेटका लागि एक प्रतियोगिता र अर्को प्रशिक्षण रंगशाला निर्माणको डीपीआर तयार गरिरहेको नगरपालिका प्रमुख वासुदेव घिमिरेले बताए ।

‘बहुउद्देश्यीय तिलोत्तमा स्पोर्टस् पार्कमा दक्षिण एसियाली खेलकुदअन्तर्गत हुने सम्पूर्ण खेल प्रतियोगिता आयोजना गर्न सकिनेछ,’ उनले भने, ‘यसका लागि राष्ट्रिय खेलकुद परिषद्ले आर्थिक वर्ष ०७६/७७ मा विनियोजन गरेको १ करोड रकमबाट २० लाख रुपैयाँ डीपीआरका छुट्याएको थियो ।’ बाँकी रहेको ८० लाख रुपैयाँबाट तारबार तथा मैदान सम्याउने काम धमाधम भइरहेको घिमिरेले जानकारी गराए ।

तिनाउ नदीसँगै जोडिएको खाली जग्गामा बन्ने यस पार्कका लागि १० अर्ब रुपैयाँभन्दा बढी बजेट आवश्यक पर्ने संरचना १० देखि १५ वर्षभित्र सम्पन्न हुने डीपीआर निर्माणको जिम्मा पाएको कन्सल्ट्यान्ट ग्रुपका योजना प्रमुख इन्जिनियर सुनील लम्सालले बताए । ‘मैदानमा १५ हजार बढी दर्शक अट्ने सुविधासम्पन्न प्यारापिट निर्माण गरिनेछ,’ उनले भने, ‘डीपीआरअनुसार तीनवटा बहुउद्देश्यको कभर्डहल बन्नेछन् ।’

सिद्धार्थ रंगशालाको भीआईपी प्यारापिट निर्माण हुँदै । तस्बिर : सन्जु/कान्तिपुर

फुटबलका लागि एक रंगशाला र अर्को प्रशिक्षण मैदान हुनेछ । त्यस्तै क्रिकेटका लागि पनि एउटा प्रशिक्षण मैदान र अर्को प्रतियोगिता रंगशाला बनाइने छ । इन्डोरतर्फ पौडी, टेनिस, कराते, भलिबल, ब्याडमिन्टनलगायत सम्पूर्ण इन्डोरका खेल खेल्न कभर्डहल निर्माण गरिने छ । हरेक कभर्डहलमा ४ हजार मानिस अट्ने क्षमताको प्यारापिट बनाइने इन्जिनियर लम्सालले बताए । यससँगै एकेडेमी र छात्रावाससमेत व्यवस्था हुने उनको भनाइ छ । ‘संघीय सरकारबाट राष्ट्रिय गौरवको आयोजनामा समेटिएर बजेट निकासा भए निर्माण कार्यलाई थप तीव्रता दिइने छ,’ उनले भने ।

मुलुकमै काठमाडौं, पोखरापछि रूपन्देही खेलकुदका लागि उपयुक्त हब हुने उनको दाबी छ । लम्सालका अनुसार काठमाडौंमा अन्तर्राष्ट्रिय विमानस्थल छ । त्यस्तै रूपन्देही र पोखरामा पनि विमानस्थल निर्माण अन्तिम चरणमा पुगेकाले विदेशी खेलाडी आउन सहज हुने र सुविधासम्पन्न होटल सुविधा भएकाले सरकारले तिलोत्तमामा बन्न लागेको स्पोर्टस् पार्कलाई भरपूर प्रयोग गर्नसक्नुपर्छ ।

पार्क नै बन्ने भएपछि अन्य ठूला हल, बाल उद्यानलगायत संरचनासमेत बन्ने उनले बताए । समुदायस्तरबाट पनि उक्त खेल पार्कका लागि स्थानीयले चासो दिएको र आवश्यक सहयोग गरिरहेको निर्माण समितिका अध्यक्ष दीपक पाठकले बताए । डीपीआरभन्दा अगाडि स्थानीय खेलकुद मैदान तथा पार्क निर्माणका लागि मास्टर प्लान बनाएर काम अगाडि बढाइएको उनले बताए । ‘स्थानीयकै संरक्षणमा सामान्य खेल मैदान बनाई क्रिकेट प्रतियोगिता गराउँदै आएको थियो,’ पाठकले भने, ‘स्पोर्टस् पार्क नै बनेपछि नगरपालिका र जिल्लाकै विकास अनि सान हुनेछ ।’

यसले आम खेलप्रेमीलाई अत्यन्तै हर्षित तुल्याएको पाठकको बुझाइ छ । ५० बिघाबाहेक थप जग्गा चाहिएमा सोहीअनुसार बीसौं बिघा जमिन तयारी अवस्था रहेको उनले सुनाए ।

सैनामैना नगरपालिकामा पनि देशकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्यसमेत अघि बढेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला नाम दिइएको सैनामैना–७ मा रहेको लौटैयास्थित १२ बिघा खाली जग्गामा निर्माण हुने मैदानमा अहिले माटो कटान, फिलिङ, प्राकृतिक प्यारापिट निर्माण र तारजालीको काम यस वर्ष सम्पन्न हुने गरी भइरहेको नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले बताए । उक्त मैदान लुम्बिनीबाट १४ किलोमिटर उत्तरतर्फ छ ।

यो आर्थिक वर्षको बजेटले उक्त रंगशालाको डीपीआर निर्माणको कामसमेत सम्पन्न गर्ने गरी नगरपालिका अघि बढेको उनले जनाए । ‘एकैपटक बहुवर्षीय ठेक्कामा जाने गरी लगानीको स्रोत जुटाउन संघीय सरकार, खेलकुद मन्त्रालय, खेलकुद परिषद्लगायत सबैको सहयोग आवश्यक छ,’ उनले भने, ‘स्थानीय तहले देशकै उत्कृष्ट स्टेडियम निर्माणको थालनी गरी खेल पर्यटनबाट समृद्धि हासिल गर्ने जमर्को गरेकाले यसको निर्माण सम्पन्न गर्ने जिम्मेवारी सबै तहले लिएर अघि बढ्नुपर्छ ।’ अहिले खेलकुद परिषद्बाट प्राप्त कुल १ करोड रुपैयाँबाट काम भइरहेको कार्कीले बताए ।

प्रकाशित : भाद्र ३०, २०७७ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?