कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

रित्तिए रौतहटका क्वारेन्टाइन

शिव पुरी

रौतहट — भारतमा कोरोना संक्रमण बढेसँगै रोजगारीका अवसर पनि गुमे । त्यसमाथि स्वास्थ्यमै जोखिम बढेपछि भारत गएकाहरू वैशाख पहिलो सातादेखि धमाधम घर फर्किन थाले । नाकामा स्वदेश भित्रिनेको लर्को लागेपछि उनीहरूलाई क्वारेन्टाइनमा राख्न स्थानीय तहलाई हम्मेहम्मे पर्‍यो ।

रित्तिए रौतहटका क्वारेन्टाइन

जिल्लाका १८ वटै पालिकाले धमाधम १ सय ३० वटा क्वारेन्टाइन सञ्चालनमा ल्याए । चैत ११ देखि हालसम्म १३ हजार ३ सय ७ जना क्वारेन्टाइनमा बसे । उनीहरूको स्वाब परीक्षण गरियो । तीमध्ये १ हजार ३ सय जनाभन्दा बढीमा कोरोना संक्रमण देखियो । रिपोर्ट नेगेटिभ आएकाहरू घर फर्किए । महिना दिनअघिसम्म खचाखच भरिएका क्वारेन्टाइन अहिले रित्तिएका छन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लाभर क्वारेन्टाइनमा अहिले एक जना पनि छैनन् । बस्ने व्यक्ति नै नभएपछि अधिकांश बन्दसमेत गरिएका छन् । हाल एक सय बेडको क्वारेन्टाइन मात्रै सञ्चालनमा छ तर त्यहाँ पनि कोही छैनन् । त्यसबाहेक संक्रमितको उपचारका लागि जिल्लाभर ४ सय १९ बेड क्षमताका आइसोलेसन सञ्चालनमा छन् । ‘अहिले सक्रिय संक्रमितहरू मात्र आइसोलेसनमा छन्,’ प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भने, ‘भारत र बाहिरी देशबाट आएकाहरू घर फर्केपछि क्वारेन्टाइन रित्तो भएका हुन् ।’

प्रशासनका अनुसार जिल्लाका क्वारेन्टाइनमध्ये सबैभन्दा धेरै राजपुरस्थित मदरसहा क्वारेन्टाइनमा बसेका थिए । सुरुमा भारतबाट घर फर्केर क्वारेन्टाइन बसेकामा मात्र संक्रमण देखिएको थियो । अहिले समुदायमै रहेकामा पनि संक्रमण पुष्टि भएको छ । हाल स्थानीय, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, जनप्रतिनिधिलगायत गरी १ सय ९३ जना आइसोलेसनमा छन् ।

जिल्लामा अहिलेसम्म १ हजार ७ सय ६० जनामा संक्रमण पुष्टि भइसकेको छ । १ हजार ५ सय ६२ जना निको भएर घर फर्किसकेका छन् भने ५ जनाको उपचारका क्रममा वीरगन्जमा मृत्यु भएको छ ।

प्रकाशित : भाद्र ३०, २०७७ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?