१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

फेरि खेलकुद ठप्प

कुशल तिमल्सिना

काठमाडौँ — चार महिनाको लकडाउनपछि ब्युँतिन लागेको नेपाली खेल क्षेत्र कोरोना भाइरसका संक्रमित दिनैपिच्छे बढेसँगै ठाउँ–ठाउँमा लागू गरिएको निषेधाज्ञाअघि नै पुनः ठप्प भएको छ । बुधबार मध्यरातबाट निषेधाज्ञा लागू भएपछि यो फेरि कहिले ब्युँतिने हो टुंगो छैन ।

फेरि खेलकुद ठप्प

निषेधाज्ञाअघि नै खेल क्षेत्रका केहीलाई कोरोना संक्रमणसमेत देखिएपछि त्रास थपिएको छ । कोभिड–१९ (कोरोना भाइरस) को महामारीबाट जोगाउन भन्दै सरकारले चैत ११ देखि देशव्यापी लागू गरेको लकडाउन साउन १ देखि खुकुलो पारिएको थियो । यद्यपि खेलकुद प्रशिक्षण भने भदौ १ देखि सुरु गर्ने निर्णय भएको थियो ।

लकडाउन खुलेसँगै कोरोना संक्रमितको दर ह्वात्तै बढेपछि प्रशिक्षणको तयारीमा जुटेका खेलाडीलाई फर्काइएको छ भने खेलकुदको मुख्य निकाय बन्द गरिएका छन् । काठमाडौं उपत्यकामा बुधबारदेखि एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ ।

लकडाउन खुकुलो भएसँगै विश्व क्रिकेट लिग–२ का बाँकी खेलका लागि नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीको प्रशिक्षण सुरु गर्ने तयारी गरेको थियो । विश्वभर नै नियन्त्रणमा आइनसकेको कोरोना महामारीका कारण प्रतियोगिताअन्तर्गत सन् २०२० मा हुने सिरिजहरू स्थगित भए । सरकारी निर्देशनअनुसार त्रिवि क्रिकेट मैदान बन्द गरिएपछि व्यक्तिगत रूपमा अभ्यास गरिरहेका केही राष्ट्रिय खेलाडीहरू घरमै बस्न बाध्य छन् ।

सन् २०२२ को कतार विश्वकप र सन् २०२३ मा चीनमा हुने एसिया कपको छनोट प्रतियोगिता खेलिरहेको राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण भदौ १ देखि सुरु गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले देशभर रहेका खेलाडीलाई काठमाडौं बोलाएर क्वारेन्टाइनमा राखेको थियो । यसबीचमा साउन २६ र २७ गते ५५ जना खेलाडी तथा अफिसियलको कोरोना परीक्षण पनि गरेकामा एक खेलाडीमा संक्रमण देखिएको थियो । साउन २९ गते एसियाली फुटबल महासंघ (एएफसी) ले कोरोना महामारीको त्रास कम नभएकाले विश्वकप तथा एसिया कप छनोटका बाँकी तीन खेल निर्धारित मितिमा सञ्चालन गर्न नसक्ने भनेपछि एन्फाले तयारी रोकेको हो । खेलाडीमा संक्रमण देखिएपछि सातदोबाटोस्थित एन्फा कार्यालय एक साताका लागि बन्द गरिएको छ ।

साउन २६ गतेको मन्त्रिपरिषद बैठकले भदौ १ देखि सञ्चालनमा आउने भनिएका खेलकुद प्रशिक्षणलगायतका क्षेत्र भदौ १५ सम्म यथावत राख्ने निर्णय गरेका कारण पनि घरेलु खेलकुद गतिविधि पुनः रोकिएका हुन् । कोरोनाकै कारण एक वर्ष सारिएको ग्रीष्मकालीन ओलम्पिकको छनोट प्रतियोगिता खेल्न छानिएका कराते खेलाडीलाई असार ७ देखि नै प्रशिक्षण गराइएको थियो ।

स्वास्थ्य सुरक्षा अपनाएर सुरु गरिएको प्रशिक्षण साउन २७ देखि बन्द गरिएको हो । प्रशिक्षक दीपक श्रेष्ठले कोरोना संक्रमण दर बढिरहेको र सरकारी निर्देशनअनुसार प्रशिक्षण बन्द गर्नुपरेको बताएका छन् । ओलम्पिक छनोटका लागि करातेबाट अनु अधिकारी र नवीन रसाइलीलाई प्रशिक्षणमा राखिएको थियो ।

लकडाउन खुकुलो पारिएसँगै बढेको कोरोना संक्रमण खेलक्षेत्रमा पनि प्रवेश गरेको छ । एकजना फुटबल खेलाडी, स्क्वासका प्रशिक्षकसहित ओलम्पिक कमिटीका २ जना कर्मचारीमा संक्रमण देखिएको छ । त्यस्तै एपीएफका खेलाडीमा पनि संक्रमण पुष्टि भएको थियो । ओलम्पिक कमिटीले साउन २७ गते ३ दिनका लागि कार्यालय बन्द गरेको थियो । तर कर्मचारीमै संक्रमण देखिएपछि साउन ३१ देखि एक साताका लागि बन्द गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सोमबार विज्ञप्ति जारी गरी अत्यावश्यकबाहेक अन्य कार्य अनिश्चितकालका लागि बन्द गरिएको जानकारी दिएको छ । राखेप सदस्यसचिव रमेशकुमार सिलवालले परिस्थिति हेरेर प्रशिक्षण सरु गर्दै जाने बताए पनि संक्रमणको दर बढिरहेको र निषेधाज्ञासमेत जारी गरिएकाले नेपाली खेलकुद पुरानै अवस्थामा ल्याउने तयारी पर धकेलिएको छ ।

खेलकुदको प्रशिक्षण लकडाउनको बहानामा रोकिनु नहुने तर्क विज्ञको छ । लामो समय प्रशिक्षणबिना बस्दा एउटा खेलाडीलाई पूर्ववत् अवस्थामा फर्कन दोब्बर समय लाग्ने भन्दै सुरक्षा मापदण्ड पूरा गरी प्रशिक्षण गर्नुपर्ने खेल विज्ञ प्रकाश प्रधान बताउँछन् । बजेट, सामाजिक अवस्था र संरचनाका कारण तत्कालका लागि यस्तो सम्भावना भने देखिँदैन ।

राखेपका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापाले कोरोनाको सबैभन्दा त्रासदीपूर्ण समय सुरु भएको र तत्काल खेलकुद गतिविधि सञ्चालन गर्न नसकिने प्रष्ट पारे । ‘स्थिति सहज भएको अवस्थामा हामीले भदौ १ देखि प्रशिक्षण सुरु गर्ने तयारी गरेका थियौं । संक्रमितको संख्या दिनहुँ बढ्नु र सरकारले समेत निषेधाज्ञा जारी गरिसकेकाले तत्काल खेलकुद गतिविधि सञ्चालन हुँदैन,’ कान्तिपुरसँग कुरा गर्दै उनले थपे, ‘जोखिम कम भएपछि सुरु हुन्छ । हामी सरकारी निर्देशन पालना गर्नेछौं ।’

मैदानबाहिरको खेल जारी

कोरोना महामारीको त्रास र लकडाउनका कारण मैदानभित्रको खेलकुद तथा प्रशिक्षणमा गम्भीर असर परे पनि मैदानबाहिरको खेलले भने यो लकडाउनकै अवधिमा उल्लेख्य फड्को मारेको छ । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ यही समयमा लागू भयो । पुरानो ऐन खारेज गरी नयाँ व्यवस्थाअनुसार खेलकुद ऐन असार १७ देखि लागू भएको हो ।

ऐनकै प्रावधानअनुसार प्रक्रिया अपनाएर राखेपका उपाध्यक्ष र सदस्य–सचिव चयन भइसकेको छ । राखेपको ३७ जना बोर्ड सदस्यमध्ये ६ जनाको नियुक्ति र शपथसमेत सम्पन्न भइसकेको छ । अहिले बाँकी सदस्यको मनोनयनका आकांक्षीको दौडधुप जारी छ ।

प्रकाशित : भाद्र ४, २०७७ १२:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?