संक्रमितलाई वैकल्पिक उपचारको खोजी

अतुल मिश्र

काठमाडौँ — सरकारले कोरोनाका बिरामीको लक्षणअनुसार उपचार गरिरहेको छ । स्वास्थ्य निकायहरूले बिरामीको निगरानी गरेर आवश्यकताअनुसार फरक–फरक उपचार गरिरहेको स्वास्थ्य मन्त्रालयको भनाइ छ ।

संक्रमितलाई वैकल्पिक उपचारको खोजी

ज्वरो भएकालाई घटाउने उपाय, पखालाको समस्या भएकालाई जलवियोजन चिकित्सा, सास फेर्न गाह्रो हुँदा अक्सिजन दिनेलगायत उपचार पद्धति अपनाएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । कोभिडको कुनै विशिष्ट उपचार नरहेको अवस्थामा हाल परीक्षणको चरणमा रहेका विभिन्न उपचार विधिबारे समेत गृहकार्य भइरहेको उनको भनाइ छ ।

हाल परीक्षणको चरणमै रहेको प्लाज्मा थेरापी विधिबाट १४ वटा स्वास्थ्य निकायबाट कोरोनाका जटिल बिरामीको उपचार गर्न सकिने नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले बताए । केही दिनअघि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा एक बिरामीलाई प्लाज्मा थेरापीबाट उपचार गरिएको थियो । उनी कोरोनामुक्त भइसकेका छन् । हालसम्म १३ जनालाई प्लाज्मा थेरापी गरिएको छ । परिषद्का अनुसन्धान अधिकृत सरोज भट्टराईका अनुसार कोरोनाका बिरामीमा प्लाज्मा थेरापीको नतिजा राम्रो पाइएको छ । परीक्षण चरणअन्तर्गत नै एन्टिभाइरल औषधि, स्टेराइड डेक्सामिथासोनलगायत अन्य उपचार प्रक्रिया भने हालसम्म सुरु भएको छैन । ‘जटिल अवस्थाका बिरामीमा डेक्सामिथासोन नेपालमा पहिले पनि चलेकै हो । तर कोरोनाका बिरामीमा यो कति प्रभावकारी छ भन्नेबारे परिषद्मा प्रस्ताव तयार हुँदै छ,’ डा. ज्ञवालीले भने ।

ब्रिटेनमा भएको रिकभरी ट्रायलमा कोरोनाका गम्भीर बिरामीलाई डेक्सामिथासोन दिँदा मृत्युदर धेरै कम पाइएको थियो । हल्का लक्षण भएकामा यो औषधिले फाइदा भएन । डा. ज्ञवालीका अनुसार एन्टिभाइरल औषधिको प्रभावकारिताबारे अनुसन्धान गर्न औषधि व्यवस्था विभागलाई औषधि उपलब्ध गराउन परिषद्ले अनुरोधसमेत गरेको छ ।

कोभिड उपचारमा अब विभिन्न विकल्पको उपयोग गर्नुपर्ने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिसिन विभाग प्रमुख प्रा.डा. सञ्जीवकुमार शर्मा बताउँछन् । ‘आज पनि दुई जना बिरामीलाई निजको आफन्तले उपलब्ध गराएपछि एन्टिभाइरल औषधि रेमडेसिभिर चलाएका छौं,’ उनले भने । केही चिकित्सक भने अन्य मुलुकले कोरोनाका बिरामीलाई प्रयोग गरेका औषधि चलाउनुपर्ने बताउँछन् । ‘बाहिरी मुलुकमा प्रभावकारी देखिएका औषधि र उपचार पद्घति हामीले समेत प्रयोग गर्नैपर्छ,’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रमुख कन्सल्टेन्ट डा. अनुप बास्तोलाले भने, ‘अब बिरामीको लाक्षणिक उपचारमा मात्र भर पर्नु हुँदैन ।’ टेकु अस्पतालमा अक्सिजन आवश्यक भएका कोरोनाका बिरामीमा हाल डेक्सामिथासोन उपयोग भइरहेको उनले बताए ।

‘२० प्रतिशत बेड नछुट्याउनेको पीसीआर

अनुमति खारेज’स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितका उपचारका लागि निजी अस्पतालले २० प्रतिशत बेड नछुट्याए पीसीआर परीक्षणका लागि दिइएको अनुमति खारेज गर्ने चेतावनी दिएको छ । बुधबार आयोजित कोभिड–१९ नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले मेडिकल कलेजले एक तिहाइ बेड कोरोनाको उपचारका लागि छुट्याए उनीहरूले पीसीआर परीक्षणका लागि अनुमति पाउने पनि जानकारी गराए । केही समयअघि मन्त्रालयले कोभिड उपचारका लागि हरेक अस्पतालले २० प्रतिशत बेड र मेडिकल कलेजले एक तिहाइ आइसोलेसन बेड छुट्याउन निर्देशन दिएको थियो ।

प्रवक्ता गौतमले निजी अस्पतालले संक्रमितको उपचार गर्दिनँ भन्न नपाउने बताए । ‘आउने एक–दुई वर्षमा कुनै पनि उपचार गर्ने अस्पतालले कोभिडबाहेकको मात्र उपचार गर्न सम्भव छैन,’ उनले भने, ‘जँचाउन आउने ननकोभिड बिरामी पनि कोभिड संक्रमित हुन सक्छन् । त्यतिबेला अस्पतालले तुरुन्त रेफर गर्न सम्भावना कम हुन्छ ।’

प्रकाशित : भाद्र ४, २०७७ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?