म्यानचेस्टर — वेस्ट इन्डिजका कप्तान जेसन होल्डरले इंग्ल्यान्डविरुद्धको टेस्ट सिरिज खेल्नु पाउनुलाई ठूलो उपलब्धि मान्दै यसमा आफ्ना खेलाडी खुसी हुनुपर्ने बताएका छन् । उनका अनुसार कोरोना भाइरस संक्रमणको महामारीबीच यो सिरिज सजिलै रद्द हुन सक्थ्यो । साउथह्याम्पटनको एगेस बाउलमा पहिलो टेस्ट जुलाई ८ बाट सुरु हुनेछ ।
त्यसपछिका दुई टेस्ट ओल्ड ट्राफोर्डमा हुनेछ । शृंखलाका तीनै टेस्टमा दर्शक हुने छैनन् । अहिले क्यारेबियन टिमका खेलाडी म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा क्वारेन्टाइन समय बिताइरहेका छन् । उनीहरूको होटल मैदानसँगै जोडिएको छ । यो सिरिज हुन अगाडिका अधिकांस प्रतियोगिता र शृंखला भाइरस संक्रमणको महामारीकै कारण स्थगित र रद्द भइसकेका छन् ।
होल्डरले पत्रकारसँगको कुराकानीमा भनेका छन्, ‘कम्तीमा अहिले क्रिकेट खेल्नु ठूलो हो । धेरैको कमाइ कहिले कम भएको छ, तर हामी भने केही आम्दानी गर्दैछौं । यसका लागि सबैलाई धन्यवाद दिनैपर्छ । हामीले अहिले प्राप्त अवसरलाई दुवै हातले खुसी ग्रहण गर्न सक्नुपर्छ ।’ महामारीका कारण मार्च १३ देखि विश्व क्रिकेट रोकिएको स्थितिमा छ ।
अस्ट्रेलियामा अक्टोबर १८ बाट सुरु हुने भनिएको विश्व ट्वान्टी–२० अहिलेसम्म हुने वा नहुने टुंगो लाग्न सकेको छैन । वेस्ट इन्डिज टिमले ओल्ड ट्राफोर्डमा तीन साता बिताउने छ र त्यसपछि साउथह्याम्पटनतर्फ लाग्नेछ । खेलाडीलाई होटल र मैदानमा मात्र जान दिइनेछ । कप्तान होल्डरले आफ्ना खेलाडी यो नियमसँग अभ्यस्त हुने विश्वास पनि पोखे ।उनले भने, ‘खेलाडीलाई एक प्रकारले यस्तो बानी हुन्छ, किनभने हामी सबै विदेश यात्राका क्रममा बाहिर घुम्न जाने गर्दैनौं ।’
गत वर्ष इंग्ल्यान्डलाई आफ्नो घरेलु मैदानमा भएको शृंखलामा २–१ ले हराएर वेस्ट इन्डिजले विज्डन ट्रफी जितेको थियो र अहिले टिमले त्यसकै रक्षा गर्ने प्रयास गर्नेछ । होल्डरले इंग्ल्यान्ड आफ्नो घरेलु मैदानमा बलियो टिम रहेको माने ।
उनको विश्लेषण छ, ‘पछिल्लो एक वर्षको अन्तरमा धेरै परिवर्तन भएका छन् । हामीलाई इंग्ल्यान्ड भूमिमा शृंखला जित्नका लागि बलियो प्रत्याशी मान्नु ठीक छैन । टेस्ट वरीयतामा इंग्ल्यान्ड हामी भन्दा माथि छ र उनीहरू नै यो सिरिज जित्न बलियो प्रत्याशी हुन् ।’ उनले दर्शनबिना क्रिकेट खेल्नुमा धेरै मज्जा भने नहुने माने । उनले समर्थकले क्रिकेटमा राम्रो खेल्न प्रेरित गर्ने पनि बताए ।
