कुस्तीमा नेपाललाई सागको पहिलो स्वर्ण दिलाएकी संगीता धामी आमाको पीडा भुलाउन चाहन्छिन् । आफूले पाएको सफलता आमाकै संघर्ष र प्रेरणाको फल भएको ठान्छिन् उनी ।
कञ्चनपुर — १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा कुस्तीका लागि एकमात्र स्वर्ण पदक जितेकी संगीता धामी दैनिक ४ घण्टा ट्रेनिङमा बिताउँछिन् । सांँझ र बिहान ट्रेनिङ, दिनमा पढाइ अनि घरको काम । तर अहिले उनको दैनिकी फेरिएको छ । एक महिनायता उनी न अभ्यासका लागि घरबाहिर निस्कन सकेकी छन् न त पढाइका लागि कलेज नै ।
संगीताको दैनिक घरायसी काम र यू–ट्युबमा खेलसम्बन्धी भिडियोहरू हेरेरै बित्छ । कहिलेकाहीं साथीभाइ र प्रशिक्षकसँंग फोनमै कुराकानी हुन्छ । ‘केही दिन अघिसम्म त गहुंँ कटाइको धुमधाम थियो । अहिले घरकै सानोतिनो घरायसी काम छ,’ संगीताले सुनाइन्, ‘आमा घरमा नहुनु भएको बेला गाईभैंसीको रेखदेख पनि गर्ने गरेको छु ।’
भीमदत्त नगरपालिका–३ तिलकपुरमा बसोबास गर्ने उनी धनादेवीका चार छोरीमध्ये तेस्री (साइँली) हुन् । दुई दिदीको विवाह भएपछि घरको रेखदेखको जिम्मा उनकै काँंधमा छ । छोरा नजन्मेको भन्दै बुवाले अर्कै विवाह गरेर गएपछि धनादेवीले अँंधिया खेती गरेर र भैंसी पालेर छोरीहरूलाई हुर्काएकी हुन् ।
कुस्तीमा नेपाललाई सागको पहिलो स्वर्ण दिलाएकी संगीता आमाको पीडा भुलाउन चाहन्छिन् । आफूले पाएको सफलता आमाकै संघर्ष र प्रेरणाको फल भएको उनी बताउँछिन् ।
संगीतालाई लामो समयसम्म ट्रेनिङ गर्न नपाउँदा निकै खल्लो महसुस भइरहेको छ । थोरै भए पनि उनी बिहान दौड्ने र घरमै अभ्यास त गर्छिन् । तर त्यो पर्याप्त हुँदैन । ‘यु–ट्युबमा कुस्तीका भिडियोहरू हेरेर दिन बित्छ,’ संगीता भन्छिन्, ‘सांँझ–बिहान खाना बनाउने, भाँडाकुँडा धुने यस्तै काम चलिरहेको छ ।’ स्नातक तहमा अध्ययनरत उनी कलेज बन्द भएपछि घरमै बसेर अध्ययन गरिरहेकी छन् ।
संगीताजस्तै १३ औं सागमा रजत पदक जितेकी अम्बिका भण्डारीको दैनिकी पनि खेतीपाती र घरायसी काममै बितिरहेको छ । उनी पनि गहुँ कटाइ–चुटाइमै व्यस्त छिन् । लकडाउनले एकातिर खेतीपातीको काममा लाग्न सजिलो भएको छ भने अर्कोतिर ट्रेनिङ गर्न पाइएको छैन । ‘हिजो अस्तीसम्म गहुँ काट्न, चुट्नमै व्यस्त थिएँ,’ अम्बिकाले भनिन्, ‘अहिले खेतीपातीको काम सकिएको छ, अब पढाइसँँगै घरायसी काममा सघाउँँछु ।’
अम्बिकाका आमाबुवा दुवै भारतको बेंग्लोरमा बस्छन् । उनी हजुरआमा र दिदीहरूसँगै बस्छिन् । घरायसी कामकाजमा हजुरआमालाई दिदीबिहिनी मिलेर सघाउने गरेको अम्बिका बताउँछिन् ।
‘गुरु (प्रशिक्षक) सँग फोनमै कुरा गरेर साँझ–बिहान कहिलेकाहीं अभ्यास पनि गर्छु,’ अम्बिकाले भनिन्, ‘गुरुले पनि ट्रेनिङ निरन्तर राख्न भन्नुभएको छ, नियमित कुराकानी भइराख्छ ।’ उनले कुस्तीका अन्य खेलाडीसँग पनि फोनमार्फत नै कुराकानी भइरहने बताइन् ।
१३ औं सागअन्तर्गत जनकपुरमा भएको कुस्ती प्रतियोगितामा कञ्चनपुरबाट सहभागी संगीता र अम्बिकासहित ७ खेलाडीले नै पदक जितेका थिए ।
संगीताले स्वर्ण जितेकी थिइन् भने अम्बिकासहित ३ खेलाडीले रजत र ३ खेलाडीले कांस्य जितेका थिए ।
महेन्द्रनगरमा २० खेलाडी कुस्तीको प्रशिक्षणमा सहभागी हुने गरेका छन् । लकडाउन सुरु भएपछि सबै प्रशिक्षण बन्द भएको छ । खेलाडीलाई घरमै नियमित अभ्यास गर्न भनिरहेको कुस्तीका प्रशिक्षक राजेन्द्र चन्द बताउँछन् । उनी पनि यतिबेला खेतीपातीको काममै व्यस्त छन् । खेलाडीहरूसँग फोनमा कुराकानी गरेर निरन्तर अभ्यास गर्न सल्लाह दिइरहेको उनले बताए । खेलाडीले घरमै बसेर भए पनि आफ्नो फिटनेस कायम राख्नुपर्ने उनको सुझाव छ ।
