जसको काम लकडाउनले रोकेन

वैशाख ११, २०७७

प्रशान्त माली

काठमाडौँ — जाजरकोटका चरण ठाकुर मिक्सर मेसिन चालक हुन् । कान्ति लोकपथको चारघरे खण्डमा भइरहेको सडक विस्तारमा गिट्टी, बालुवा र सिमेन्ट घोलेर ढलान बनाउनेमा उनको दैनिकी बितिरहेको छ । झापाका जीवन शर्मा चालकका हेल्पर हुन् । उनी भने मेसिन र ढलान घोल्न, पानी हाल्न व्यस्त छन् ।

उदयपुर गाईघाटका मिलन मगर, बादल लिम्बू, हरिबहादुर क्षत्रीलगायत ८ जनाको टोलीको दैनिकी पनि निर्माणाधीन कान्ति लोकपथ सडकमा ढुंगा, बालुवा ओसार्ने र वाल लगाउनमा बितिरहेको छ । उनीहरूजस्तै कान्ति लोकपथअन्तर्गत चारघरेमा मात्रै १३–१४ जना छुट्टाछुट्टै काममा छन् ।

हेटौंडालाई काठमाडौं उपत्यकासँग जोड्ने छोटो, भरपर्दो वैकल्पिक लोकमार्ग कान्ति लोकपथको ललितपुर खण्डअन्तर्गत बगुवा र छपेलीमा पनि छुट्टाछुट्टै टोली काममा छन् । मिलन भन्छन्, ‘ठेकेदारले खानेबस्ने व्यवस्था मिलाएका छन् । लकडाउनका कारण काम र कोठाबाहेक कतै जाने गरेका छैनौं ।’

बिहान ७ देखि बेलुका ६ बजेसम्म काममा खटिइरहेको उनले बताए । ‘११ बजेतिर खाना खान निस्कन्छु,’ उनले भने, ‘उपत्यका नजिकै घर हुने केही साथीहरू हिँडेर गए । हामी लकडाउन खुलेपछि जाने सोचमा छौं ।’

लकडाउनमा लेले टीकाभैरव–बगुवा खण्डअन्तर्गत दुई किमि कालोपत्र गरिसकिएको उनले जानकारी दिए । भट्टेडाँडा खण्डमा ढलानको काम भइरहेको कान्ति लोकपथ आयोजना प्रमुख ज्ञानेन्द्रकुमार झाले बताए । ‘लकडाउनको सात–आठ दिनसम्म काम ठप्प रह्यो,’ उनले भने, ‘अहिले स्थानीय लेबर राखेर पनि काम भइरहेको छ ।’

भट्टेडाँडा खण्डमा मात्रै चालक, लेबर गरेर ४२ जना कामदार दिनहुँ खटिरहेको लोकपथअन्तर्गत ललितपुर खण्डका ठेकेदार केदार तिमिल्सेनाले बताए । ‘माल्टा दोबाटोमा वालको काम भइरहेको छ,’ उनले भने, ‘बालुवा र गिट्टीका लागि बगुवा क्षेत्रमा क्रसर सञ्चालन गरिरहेका छौं ।’

लोकपथको ललितपुर खण्डअन्तर्गत साढे दुई किमि सडक चौडा गर्न बाँकी छ । १५ किमि कालोपत्र गर्न बाँकी छ । ललितपुर खण्डतर्फ सूर्य वाइबा जेभी र मकवानपुरतर्फ मोतीदान, श्रेष्ठ/बानियाँ जेभी र अमर कन्स्ट्रक्सनले ठेक्का पाएका हुन् । सरकारले यो आयोजनाका लागि चालु आवमा सुरुमा ६० करोड रुपैयाँ बजेट छुट्याएको थियो । लोकपथ विस्तार भई सञ्चालनमा आउन योजनाले ३ अर्ब ३५ करोड बजेट अनुमान गरेको छ ।

सन् २०१३–२०१६ मा नेपाली सेनाले गरेको कान्ति लोकपथको ट्र्याक निर्माण हो ।

प्रशान्त

Link copied successfully