प्रतिदिन ४० क्विन्टलसम्म माछा बिक्री हुँदै आएकोमा अहिले मुस्किलले तीन क्विन्टल मात्र खपत
तिलोत्तमा — रूपन्देहीका ग्रामीण क्षेत्रका पोखरीमा माछा टनाटन छन् । पोखरीका माछा सहरसम्म पुर्याएर बेच्ने व्यवस्था नहुँदा किसान मर्कामा परेका छन् । उत्पादकले बजारमा लगेर बिक्री गर्ने अवस्था छैन । स्थानीय सरकारले माछा बेच्ने व्यवस्था मिलाउन नसक्दा समस्या बढ्दै गएको छ । अहिले जिल्लामा साना–ठूला बजार बन्द छन् । एक महिना लामो लकडाउनका कारण स्थानीय र बाह्य बजार बन्द भएपछि माछा पोखरीमै रहेपछि चिन्ता बढेको हो ।
रूपन्देहीका चार गाउँपालिकालाई माछा उत्पादन ‘सुपर जोन’का रूपमा छुट्याइएको छ । ती गाउँपालिकामा दुई हजारभन्दा बढी माछापालक किसान छन् । दैनिक ती क्षेत्रबाट ४० क्विन्टलसम्म माछा बिक्री हुँदै आएको थियो । अहिले मुस्किलले तीन क्विन्टलसम्म माछा बिक्री हुने गरेको माछा सुपरजोन कार्यक्रम संयोजक गणेशबहादुर शाहीले बताए । ‘माछा उत्पादकलाई अनुदान दिने, पोखरी अवलोकन गर्ने समय पनि यही हो,’ उनले भने, ‘अहिले त घरबाट बाहिर ननिस्कन भनेपछि सबै काम ठप्प भए ।’ सिँचाइ र पोखरी मर्मतका लागि आएको बजेट उपयोग नहुने अवस्था आएको शाहीले सुनाए ।
माछा बिक्री गर्ने समयभन्दा बढी ठूला भएर पोखरीमै रहँदा अक्सिजन कमी हुन थालेको र केही माछा मर्ने क्रम बढेको माछा उत्पादक सुवास कुर्मीले बताए । उनले सियारी गाउँपालिका–३ स्थित १० बिघामा माछा पालेका छन् । अहिले उपभोक्ता नहुँदा व्यापार नभएको उनको गुनासो छ । ‘जिउँदो माछा पसल र अन्य व्यापारीले खरिद गर्थे,’ उनले भने, ‘अहिले बजार ठप्प छ भनेर लिनै आउँदैनन् ।’
पोखरी मर्मत गरी नयाँ भुरा हाल्ने समय भए पनि न पर्याप्त दाना पाइएको छ, न त भुरा माछा । दाना उत्पादकले कच्चा पदार्थ ल्याउन नपाउँदा दाना नबनाएको जवाफ दिने गरेका छन् । कुर्मीले मासिक ४५ क्विन्टल उत्पादन गर्थे । प्रतिकिलो तीन सय रुपैयाँमा बिक्री गर्थे । त्यसले आम्दानी राम्रो भइरहेको थियो । माछा बेचेरै घरखर्च र अन्य व्यवहार चलाउँदै आएका उनले लकडाउनले परिवार धान्न अप्ठ्यारो भएको बताए । कुर्मीको पोखरीमा सिल्भर, रहु, नैनी, ब्रिगेट, कमन आदि माछा छन् ।
किसानको पोखरीबाट माछा खरिद गरेर बिक्री गर्दै आएकी सियारी–५ की तारा पाण्डेले लकडाउनले व्यापारी र किसान दुवै धराशायी हुने अवस्था आएको बताइन् । ‘हामीले माछा खरिद गरेर स्याङ्जासम्म बिक्री गर्ने गरेका थियौं,’ उनले भनिन्, ‘अहिले त मोटरसाइकलमा अलिअलि ओसारेका छौं ।’ कसैले माग गरेमा बजारसम्म पुर्याइदिने गरेको उनको भनाइ छ । किसानले माछा बिक्री गरिदिन आग्रह गरे पनि आफूहरूले बेच्ने ठाउँ नपाएको पाण्डेले बताइन् । अहिले दैनिक ६० किलोसम्म माछा बिक्री भइरहेको उनले सुनाइन् ।
अहिले माछाको प्रजनन र भुरा उत्पादन गर्ने सिजन हो । लकडाउनले भुरा र दाना दुवैको अभाव छ । शुद्धोधन गाउँपालिका–७ स्थित शान्ति मत्स्य ह्याचरी रिसर्च प्रालिका सञ्चालक पुण्य चौधरीले अहिले आफ्नो ह्याचरीबाट एकलटको भुरा बिक्री गरेर अर्को लट राखिसक्नुपर्ने समय भए पनि लकडाउनले हुन नसकेको गुनासो गरे ।
‘फागुनबाट भुरा धेरै बिक्री हुने र अहिले दोस्रो लट राख्ने समय हुन्थ्यो,’ उनले भने, ‘एक करोड भुरा माछा ह्याचरीमा छन्, जसमा सात लाखजति मात्रै बिक्री भए ।’ अहिलेको वर्ष २८ लाख रुपैयाँ बराबरको नोक्सानी भइसकेको चौधरीले बताए । यस्तो अवस्थामा ज्यान जोखिममा पार्न पनि नभएको तर व्यवसायका हिसाबले सरकारले ब्याज मिनाहा र किस्ता अलि समयपछि तिर्न पाउने गरी निर्देशन दिनुपर्ने उनको भनाइ छ । सरकारले सिफारिस गरेका सात जात (रहु, सिल्भर, नैनी, कमन, ग्राँस, तिलापिया, ब्रिगेट) माछा उनको ह्याचरीमा छन् ।
लकडाउन अवधिभरि समस्या भए पनि पर्खेर बस्नुको विकल्प नरहेको बताए । ‘माछापालक किसानलाई बिक्री गर्नका लागि रोकतोक छैन,’ उनले भने, ‘माछा कसलाई बेच्ने भन्ने अन्योल भयो ।’ कतिपय मानिसले माछा, मासु खान नहुने भन्ने हल्लाले खाएका छैनन् भने केहीले खान चाहेर पनि खरिद गर्ने स्थान नपाएकाले माछा बिक्री नभएको उनले सुनाए । पोखरीमा अहिले माछाको मात्रा अलि कम हुने र नयाँ राख्न नपाउँदा पछि समस्या आउने भुसालले सुनाए ।
