कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

परिवारलाई समय, अभ्यासमा कमी

कोरोना ब्रेकमा नेपाली क्रिकेटर
सन्जु पौडेल

तिलोत्तमा — खेलाडी प्रायजसो साँझ–बिहान व्यायाम र दिउँसो अभ्यास खेल वा प्रतियोगिताहरूमा व्यस्त रहन्थे । अहिले खेलाडीको दैनिकी फेरिएको छ । कोभिड–१९ संक्रमणको महामारीका कारण उनीहरूको खेल अभ्यासमा बाधा पुगेको छ । देश अहिले लकडाउनको स्थितिमा छ ।

परिवारलाई समय, अभ्यासमा कमी

कोरोना भाइरस संक्रमणका कारण सबैजसो राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिता रोकिएका छन् । कोरोना ‘ब्रेक’ को अधिकांस समय खेलाडीहरूले परिवारसित बिताइरहेका छन् । विभिन्न प्रतियोगिता रोकिएपछि दैनिक तालिका फेरिएको यहाँ भेटिएका क्रिकेट खेलाडीहरूले बताएका छन् ।


सधैं बिहान ६ बजे उठेर होस्टलका विद्यार्थी लिएर सँगै अभ्यास गर्ने पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचन अहिले ढिलो ओछ्यान छाड्छन् । ‘बिहान साढे ७ बजेतिर उठ्छु,’ उनले दैनिकी सुनाए, ‘फ्रेस भएपछि मात्र ब्याट समात्ने गरेको छु ।’


शक्ति गौचन

घरमै इन्डोर सिकाइ केन्द्र रहेकाले अभ्यासलाई निरन्तरता दिएको शक्तिले बताए । ‘लकडाउन हुनुअघि बिहानै विद्यार्थी जम्मा हुन्थे । उनीहरूलाई सिकाउँदा सजिलै समय बित्ने गथ्र्यो । अहिले दिन कटाउन समस्या छ ।’ बिहान अभ्यासपछि खाजा खाएपछि केहीबेर टीभीको खेल च्यानलमा भुलिन्थे उनी । त्यसपछि आराम गर्ने तालिका हुन्थ्यो । घरमै सञ्चालित एकेडेमीको होस्टलमा रहेका विद्यार्थीलाई अध्ययनमा सघाउने, होस्टलमा खाना पकाउनेदेखि हरेक काममा सहयोग गर्दै बिहानी समय बित्थ्यो । विद्यार्थी स्कुल गएपछि उनी वित्तीय संस्था, बजार र कुनै कार्यक्रमको निम्तो पूरा गर्न भ्याउँथे । त्यसपछि बुटवलस्थित न्यु होराइजन माविका विद्यार्थीलाई प्रशिक्षण दिन पुग्थे । दिउँसो ३ बजेसम्म आधारभूत प्रशिक्षण र थप सिकाउनुपर्ने भए केही बढी समय बिताउँथे । त्यसपछि घर आउने, साँझका प्रशिक्षार्थीसँग एकेडेमीमै खेल्ने, गफिने गर्ने र केहीबेर मोटिभेसनल कुरामा दिन कटाउँथे उनी । साँझको ७ बजेपछि परिवार, छोराछोरीसँग समय बित्थ्यो ।


अहिले विद्यार्थी सबै घर–घरमा छन् । ‘एकेडेमीका विद्यार्थी, होस्टेलका विद्यार्थी र छोराछोरी एकै लाग्छन्,’ शक्तिले भने, ‘त्यसैले सबैसँग समय बिताइरहेको हुन्थें । अहिले त्यसमा कमी आएको छ ।’


समाचार हेर्दा, सुन्दा एकदमै भयावह लाग्ने अवस्था रहेकाले सबैलाई घरमै बसेर सुरक्षित हुन र कहींकतै छुँदा आफ्नो हातलाई साबुनपानीले मजाले धुन सुझाउँछन् उनी । ‘कोरोनाका कारण विदेशमा कति मानिस मरिरहेका छन् । मान्छेबाट मान्छेमा सर्ने भाइरस भएकाले हामी आफैं सचेत हुनुपर्छ । घुम्ने, खेल्ने, रमाउने दिन आउँछ । अहिले भने घरमै बसम्,’ उनले सुझाए ।


आफैंले आफैंलाई बचाउने र अरुलाई सल्लाह दिएर बाँच्न सहयोग गर्ने बेला भएको उनी बताउँछन् ।’ अति आवश्यक सामग्री खरिद गर्न पहिले पनि आफैं बजार जाने शक्तिले अहिले सामान किन्दा दूरी कायम गर्नुका साथै मास्क प्रयोग गर्ने गरेको बताए ।


अर्का क्रिकेटर वसन्त रेग्मीले पनि लकडाउनले समय तालिकादेखि अध्यासमा प्रभाव पारेको बताए । मर्निङ वाकमा निस्कने उनी अहिले मजाले सुत्छन् । उठेपछि घरको छतमा हल्का व्यायाम गर्छन् । चिया पकाउने, खाना पकाउने, आमाबुवासँग दिनभर गफ गर्ने गर्छन् ।


कोरोनाका कारण विशेष समय पाए पनि गत माघमा जन्मिएकी छोरीलाई खेलाउन नपाउँदा भने उनी आत्तिएका छन् । नेपालगन्ज ससुराली रहेका वसन्तको घर सिद्धार्थनगरमा छ । श्रीमती र छोरी माइती छन् । भिडियो कल गरेर छोरी न्यास्रो

मेट्नुपरेको उनले बताए । ‘छोरीको खुबै न्यास्रो लाग्छ, यो बेला साथमा भएको भए झन् छोरीलाई खेलाउन पाइन्थ्यो,’ उनले भने । क्रिकेटबाहेक अन्य खेलमा पनि रुचि भएका वसन्त बिहान ब्याडमिन्टन कोर्ट पुग्थे । ‘साथीभाइसँग भेटघाट र खेल खेलिन्थ्यो,’ उनले भने, ‘कोरोनाको त्रासका कारण अल्छीपन बढेको छ ।’ बुवाआमासँग पारिवारिक गफ र बाल्यकालका कुरा सुन्दा भने खुसी नै महसुस भएको उनले सुनाए ।


सुशन भारी

अर्का क्रिकेर सुशन भारीलाई भने लकडाउनले अलि फरक अनुभव दिलाएको छ । तीन महिना जति भएको थियो उनी घर आउन नपाएको । लकडाउनले परिवार भेट्ने चाहना पूरा गरिदिएकामा अहिले उनी खुसी छन् । ‘परिवार भेट्न पाएको अर्थमा खुसी लागे पनि गेम खेल्न नपाउँदा र अभ्यास नहुँदा लकडाउनपछि मिहिनेत कति बढ्ला भन्ने चिन्ता छ,’ उनले भने, ‘अहिले त मोबाइलमा पोट खेल्ने, भिडियो कल गर्ने गर्दामै ठीक छ ।’ विदेशमा रहेकी दिदीसँग उनी अनलाइन गेम खेल्छन् । साथीभाइसँग भिडियोकलमा व्यस्त रहन्छन्, रमाइलो गर्दै हाँस्ने काम भइरहेको उनले सुनाए । पहिले बिहानै व्यायामसँगै बल घुमाउने, खाजा खाने, बाहिरी काम सकेर दिउँसोको ३ देखि ७ बजेसम्म लगातार क्रिकेट सिक्ने र खेल्ने गरेका उनी अहिलेको बसाइ धेरै आरामको समय मान्छन् । पहिले साँझमा प्राय: साथीभाइसँग भेटघाट र रमाइलो गर्ने गरेको र अहिले त्यो समय टीभी हेर्ने र सामाजिक सन्जालमा बिताइरहेको उनले सुनाए ।

यद्यपि बिहानी अभ्यास र खुला ठाउँमा बल फ्याँक्न नपाए पनि उपलब्ध स्थानमा आफ्नो सिकाइ निरन्तर जारी राखेको उनले बताए । सुशनले घरमा आमालाई खाजा पकाउनदेखि तरकारी केलाउन, करेसाबारीमा पानी राख्न, गोडमेल गर्न सघाउने पनि गरेका छन् । ‘पहिलो पटक यसरी घर बसेर पकाउने अभ्यास गर्दै छु,’ उनले भने, ‘सजिलो नहुने रैछ ।’ सबै कुरा मिलेमा मात्रै मिठो पाक्ने भएकाले त्यो अड्कलको सिकाइ पनि गरिरहेको सुशनले सुनाए । उनको यो बसाइप्रति आमा भने निकै खुसी छन् । निरन्तर खेल खेलिरहँदा सुशन घरमा बस्ने मौका पाउँदैनथे । लकडाउनले मौका दिएको अनुभव उनले साटिन् ।

लकडाउन हरेक नागरिकको हितका लागि भएकाले यसको पालना आफूले पनि गरेको र सबैले गर्नुपर्ने सुसन सुझाउँछन् । विषम परिस्थिति रहेकाले सबै सतर्क हुनुपर्नेमा उनको सुझाव छ ।


राष्ट्रिय टिममा एकपटक खेलेपछि हरेक खेलाडीको चाहना पुन: टिममा पर्न पाए हुन्थ्यो भन्ने हुन्छ । त्यही पर्खाइमा अभ्यासरत कृष्ण कार्कीलाई लकडाउनले योगसाधना सिकाएको छ । बिहान–बेलुकाको दुई घण्टा उनी योग सिकिरहेका छन् । बिहानी वर्कआउटमा बाहिर जान नपाएपछि योगसँगै उनले शारीरिक व्यायाम गर्छन् । ‘घरमा लगातार बसिरहेको बानी थिएन,’ उनले भने, ‘सुरुको दुई दिन अति नै उकुसमुकुस भयो । अहिले त लकडाउनअनुसारकै रुटिन चलेको छ ।’


कृष्ण कार्की

कृष्णलाई पनि अन्यलाई जस्तै निद्राले साथ दिएको छ । मजाले सुत्ने, उठ्ने, खाने, टीभी हेर्ने, क्रिकेटका पुराना खेल हेर्ने । यस्तै दिनचर्या चलिरहेको उनले सुनाए । परिवारमा उनको बसाइले खुसी थपेको छ । सबैजना एकदम खुसी भएको र आफूसँग खेलबारे जिज्ञासा राखिरहेको उनले बताए । उनले अहिलेको स्थिति डरलाग्दो भएकाले घरमै बसेर तालिका बनाएर नयाँ कुरा सिक्ने, परिवारसँग समय बिताउने गरेका छन् । ‘खेलाडीले अघिपछि खेल खेल्दा अरु कुरामा ध्यान दिनै भ्याइँदैन,’ उनले भने, ‘अहिले अन्य विषयमा पनि मजाले चासो दिन पाइएको छ ।

प्रकाशित : चैत्र २५, २०७६ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?