१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

‘सेल्फ’ प्रशिक्षणमा रम्दै राष्ट्रिय फुटबलर

मकवानपुर — फुटबल खेलाडी उत्पादनको हिसाबले मकवानपुर जिल्ला पनि अग्रस्थानमा आउँँछ । नेपालको पुरुष फुटबलको राष्ट्रिय टोलीमा मकवानपुरका चारजना खेलाडीले नियमित रूपमा स्थान बनाइरहेका छन् । अन्य खेलाडीहरूको पनि राष्ट्रिय टोलीमा स्थान बनाउने र बाहिरिने क्रम चलिरहेको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को असर देशका चर्चित फुटबलरमा पनि परिरहेको छ ।

‘सेल्फ’ प्रशिक्षणमा रम्दै राष्ट्रिय फुटबलर

मकवानपुरबाट राष्ट्रिय टोलीमा रहेका खेलाडी अन्जन विष्ट, रन्जन विष्ट, सुनील बल र एलन न्यौपाने हुन् । रन्जन र अन्जन दाजुभाइ हुन् । कोरोनाका कारण अहिले विष्ट दाजुभाइ र सुनील हाल गृहनगर हेटौंडामै छन् भने एलन एक महिनाअगाडि मात्र अस्ट्रेलियातर्फ लागेका थिए । विभिन्न उमेर समूहमा नेपालको राष्ट्रिय टोलीको जर्सी लगाएर मैदानमा उत्रेका विंगर तथा च्यासलका कप्तान अमिर श्रेष्ठ र मनाङ मस्र्याङ्दी क्लबका गोलरक्षक अशोक बराल पनि हेटौंडामै छन् ।


मनाङको अग्रपंक्ति सम्हालिरहेका विष्ट दाजुभाइ आफूलाई फिट राख्नका लागि हेटौंडा–१० स्थित घर नजिकै रहेको वनविज्ञान अध्ययन संस्थान (फरेस्ट्री) मैदानमा बेलुकी समयमा प्रशिक्षण गरिरहेका छन् । ‘क्लबमा हुँदा समूहमा रहेर प्रशिक्षकको निर्देशन अनुसार प्रशिक्षण गरिन्थ्यो । अहिले एक्लै आफूलाई फिट राख्नका लागि प्रशिक्षण गरिरहेको छु,’ अन्जनले बेलुकी समय प्रशिक्षणमा बिताए पनि बिहान र दिउँसो घरमै बसिरहेको बताए । गायनमा सौखिन उनी गिटार बजाएर दिन काटिरहेको बताउँछन् ।


रन्जन भने बिहान र दिउँसो घरमै बसिरहेको र बेलुकाको समयमा ‘सेल्फ’ प्रशिक्षण गरिरहेको बताउँछन् । ए डिभिजन लिग र मोफसलमा भएका विभिन्न नकआउट फुटबल प्रतियोगितापछि घरमा आएर परिवारसँग बस्दा आफूलाई फिट महसुस गरेको उनले सुनाए । भने, ‘लिगलगत्तै विभिन्न जिल्लामा भएको नकआउट फुटबलको व्यस्तताबाट राहत मिलेको छ ।’ उनले फुटबलप्रेमी एवं सबैलाई कोरोनाबाट बच्नका लागि सुरक्षित घरमै बस्न आफ्नो फेसबुक पेजमार्फत् आग्रह गरिरहेको बताए ।


नेपालले आफ्नै भूमिमा १३ औं सागमा फुटबलको स्वर्ण पदक जित्दा महत्त्वपूर्ण भूमिका खेलेका सुनील अहिले हेटौंडा–१४ स्थित आफ्नै घरमा छन् । ‘घर नजिकैको चौरमा बिहान र बेलुका पसिना बगाइरहेको छु । यो समयमा कहाँ जानु । घरमै बसेर दिन बितिरहेको छ,’ उनले लिगमा च्यासलबाट खेल्दा सोचेजस्तो नतिजा नआए पनि अझै आफ्नो खेललाई कसरी तिखार्न सकिन्छ भनेर भरपूर सोच्ने मौका लकडाउनले दिएको बताए । ‘अन्य क्लबमा जानेबारे अहिल्यै सोचेको छैन,’ थ्रीस्टार छाडेर लिगअघि च्यासलमा आबद्ध उनले भने ।


‘ए’ डिभिजन लिगमा विपक्षी खेलाडीविरुद्ध अभद्र व्यवहार गरेपछि कारबाही भोगेका अशोक बराल पनि अहिले फरेस्ट्रीमै अभ्यास गरिरहेकै भेटिन्छन् । मनाङले धरानमा भएको बुढासुब्बा गोल्डकप र पोखराको आहा–रारा गोल्डकप जित्दा उत्कृष्ट गोलरक्षक घोषित अशोक आफूलाई फिट राख्न बिहान र बेलुका नै प्रशिक्षण गरिरहेको बताउँछन् । यस्तै अमिर श्रेष्ठ पनि हेटौंडा–९ स्थित पशुपतिनगरमा रहेको औद्योगिक क्षेत्रको मैदानमा नियमित प्रशिक्षण गरिरहेका छन् । ‘घर नजिकैको जुनियर भाइ र म दैनिक प्रशिक्षण गरिरहेका छौं,’ अमिरले लकडाउनको दिनदेखि नै घरबाट मैदानबाहेक अन्यत्र नगएको सुनाए ।


संकटा क्लबसँग आबद्ध मकवानपुरे गोलरक्षक रोहित कार्की र बिग्रेड ब्वाइजका डिफेन्डर एन्जल महर्जनलगायतका खेलाडी पनि अहिले घरमै छन् । जिल्ला फुटबल संघ मकवानपुरका प्रशिक्षक विजयलाल श्रेष्ठ आफूसँग नियमित रूपमा प्रशिक्षण गर्ने करिब ४० भन्दा बढी खेलाडीलाई लकडाउनको घोषणा भएसँगै घरमै बसेर सामान्य अभ्यास गर्न आग्रह गरिएको बताउँछन् ।

प्रकाशित : चैत्र २५, २०७६ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?