रुपन्देहीमा पौडल पक्षमाथि देउवा पक्षको आक्रमण

अमृता अनमोल

बुटवल — कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत रुपन्देही क्षेत्र नम्बर ३ 'क' को मतगणना चलिरहँदा संस्थापन शेरबहादुर देउवा पक्ष आक्रमणमा उत्रिएको छ । मत गणनामा पौडेल पक्षले नेतृत्व गरेपछि संस्थापन पक्षले पौडेल पक्षका ५ जनामाथि आक्रमण गरेको हो ।

आक्रमणबाट क्षेत्रीय सचिवको उम्मेदवार तथा नेविसंघ रुपन्देहीका पूर्वअध्यक्ष शैलेश पन्थ सख्त घाइते भएका छन् । उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । घाइते अन्यको निजी अस्पतालमा उपचार भइरहेको कांग्रेस लुम्बिनी प्रदेशसभा सदस्य रमा अर्यालले जानकारी दिइन् ।

प्रदेश ३ 'क' को निर्वाचनमा पौडेल पक्षबाट सभापतिमा पुरणप्रसाद श्रेष्ठ र संस्थापनबाट सुरेन्द्रजंग थापा उमेदवार छन् । निर्वाचनपछि साँझदेखि सिद्धार्थ नगरपालिकामा मतगणना सुरु भएको थियो । सभापतिमा पौडेल पक्षले नेतृत्व गरेपछि राति साढे १ बजे तरुण दल रुपन्देही अध्यक्ष सोमबहादुर गुरुङलगायतको समूहले नेटर बन्द गरी आक्रमण गरेको थियो । पौडेल पक्षका उम्मेदवारहरुलाई उनीहरुले मुक्का र लात्ती हानेको अर्यालले बताइन् । गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा आक्रमण भएको पौडेल पक्षले आरोप लगाएको छ ।

संस्थापन पक्षका नेता एवं जिल्ला सचिव रामकृष्ण खाँणले भने मादक पदार्थ सेवन गरेर कार्यकर्ताबीच घम्साघम्सी हुँदा हात हालाहाल भएको बताए । उनका अनुसार उक्त निर्वाचन क्षेत्रमा १६ सदस्यमध्ये १५ जनामा संस्थापन पक्षले जित हासिल गरेको छ । सभापतिका लागि मतगणना हुँदा मतगणनास्थल बाहिर हात हालाहाल भएको र मतगणना रोकिएको उनले जानकारी दिए ।

प्रकाशित : मंसिर ४, २०७८ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्

अधिकृतलाई हाजिर गराउन अन्तरिम आदेश

कान्तिपुर संवाददाता

राजविराज — सप्तरीको कञ्चनरूप नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिरी दिन उच्च अदालत जनकपुरले अन्तरिम आदेश दिएको छ । प्रमुख प्रशासकीय अधिकृतमा हालै नियुक्त रेणुका साहलाई नगर कार्यपालिका बैठकको निर्णयअनुसार हाजिर नगराइएपछि विवाद अदालतसम्म पुगेको थियो । अदालतको आदेशपछि पनि नगर कार्यपालिका भने कनिष्ठ अधिकृतलाई नभई दरबन्दीअनुसार उपसचिव नै नियुक्त भई आउनुपर्ने अडानमा छ । 


सामान्य प्रशासन मन्त्रालयले गत कात्तिक ४ मा साहलाई कञ्चनरुपको प्रमुख प्रशासकीय अधिकृतको रूपमा पठाएको थियो । यसअघि छिन्नमस्ता गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएकी साहलाई मन्त्रालयले निर्णय सच्याएर कञ्चनरुप पठाएको हो । तर कञ्चनरुपको कार्यपालिका बैठकले कि त दरबन्दी भएका उपसचिवलाई पठाउनुपर्ने वा अहिले नै भएका निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज खड्कालाई नै राख्नुपर्ने निर्णय गर्दै साहलाई हाजिर नगराउने निर्णय गरेको थियो ।

उक्त निर्णयअनुसार साहलाई कार्यालयमा हाजिर हुन दिइएन । त्यसपछि कात्तिक २२ मा उनले आफू हाजिर भई कामकाज गर्न पाउनुपर्ने मागदाबीसहित उच्च अदालत जनकपुरको राजविराज इजलासमा निवेदन दिएकी थिइन् । न्यायाधीश लेखनाथ ढकालको इजलासले जानकारी प्राप्त भएको मितिले २४ घण्टाभित्र हाजिर गराई कामकाजमा लगाउनू भन्दै विपक्षी कञ्चनरुप नगरपालिकाको नाममा मुलुकी देवानी संहिता २०७४ को दफा १५८ तथा उच्च अदालत नियमावली २०७३ को नियम ४२ (१) बमोजिम गत कात्तिक २८ मा अन्तरिम आदेश जारी गरेको थियो ।

अदालतले आदेश दिए पनि नगरपालिकाले साहलाई अझै हाजिर गराएको छैन । उनले नगरपालिकाविरुद्ध अदालतको अपहेलना मुद्दा चलाउने बताइन् । तर नगर प्रमुख वसन्तकुमार मिश्रले अदालतले हाजिर गराउन दिएको आदेश निस्तेज बनाउन र सो मुद्दाको लिखित जवाफसमेत पेस गरिसकेकाले अब अदालतको अन्तिम निर्णयको प्रतिक्षामा रहेको बताए । ‘कि त मन्त्रालयले दरबन्दी भएका उपसचिव पठाउनुपर्‍यो । कि त अहिले भएकै निमित प्रमुख प्रशासकीय अधिकृतलाई काम गर्न दिनुपर्‍यो,’ मिश्रले अडान दोहोर्‍याए । कार्यालयमा हाजिर हुन आउँदा साहले कर्मचारी तथा प्रतिनिधिमाथि अभद्र व्यवहार गरेको मिश्रले आरोप लगाए । तर साहले भने उक्त आरोप अस्वीकार गरिन् । ‘म एक जना महिलाले कसरी सबैमाथि अभद्र व्यवहार गर्न सक्छु ? यो सब झूठो आरोप हो,’ उनले भनिन् । यही विवादका कारण गत कात्तिक १५ देखि नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा कार्यपालिकाका सदस्यहरूले लगाएको तालाबन्दी कायमै छ । ‘प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षबाहेक अन्य सबै फाँट तथा शाखा भने खुला छन्, जनताको काम भइरहेको छ,’ निमित्त प्रमुख प्रशासकीय अधिकृत खड्काले भने ।

प्रकाशित : मंसिर ४, २०७८ ०८:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×