काठमाडौँ — महाधिवेशनबाट पार्टीभित्र शक्ति आर्जन गर्ने दौडमा रहेका कांग्रेस नेताहरू आ–आफ्नो जिल्ला र क्षेत्रमा केन्द्रीत बनेका छन् । अब तीन सातापछि १४ औँ महाधिवेशन हुँदैछ । महाधिवेशनमा पार्टीका विभिन्न पदका आकांक्षी नेताहरू अहिले खुलिसकेका छैनन् ।
नेताहरू आफ्नो क्षेत्रको अधिवेशनमा आफुपक्षीय नेता कार्यकर्तालाई नेतृत्वमा पुर्याएर त्यही शक्तिका आधारमा पार्टीभित्र माथिल्लो पद र शक्ति आर्जन गर्ने तयारीमा लागेका छन् । केन्द्रमा रहेका गुटको प्रभाव तल्ला तहको अधिवेशनसम्म पनि परेको छ ।
तल्ला तहको नेतृत्व र महाधिवेशन प्रतिनिधिमा आफ्नो गुटका कार्यकर्तालाई जिताउन केन्द्रका नेताहरू आफैँ लागेका छन् । त्यसका लागि पार्टीका पदाधिकारी र सबैजसो केन्द्रीय सदस्यहरू आ–आफ्नो जिल्लामा खटिएका छन् ।
महाधिवेशनअन्तर्गत करिब ६० जिल्लामा शुक्रबारदेखि प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन सुरू भएको छ । ७ प्रदेशमा गरी ३३० वटा प्रदेशसभा निर्वाचन क्षेत्र छन् । तीमध्ये १४ जिल्लामा अधिवेशन भइसकेको छ भने बाँकीमध्ये केही जिल्लामा क्रियाशील सदस्यताको विवादका कारण पालिका र वडास्तरको अधिवेशन नै हुन सकेको छैन । पालिका तहको अधिवेशन भइसकेका जिल्लामा शुक्रबारदेखि प्रदेश सभा निर्वाचन क्षेत्रीय कार्यसमिति र प्रदेश महाधिवेशन प्रतिनिधि चयन गर्ने प्रक्रिया सुरू भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
वडा तहबाट निर्वाचित भएका क्षेत्रीय प्रतिनिधिहरू प्रदेशसभा क्षेत्रीय अधिवेशनका मतदाता हुन्छन् । प्रदेशसभा क्षेत्रीय अधिवेशनबाट निर्वाचित भएका प्रदेश प्रतिनिधिहरूले मात्रै सम्बन्धित प्रदेश महाधिवेशनमा भाग लिन पाउँछन् । प्रदेशको नेतृत्व चयनले केन्द्रीय महाधिवेशनको संकेत गर्ने भएकाले पनि नेताहरूको ध्यान आफुपक्षीय प्रदेश प्रतिनिधिहरू चयन गर्नेमा केन्द्रीत भएको हो ।
कांग्रेसले ७ वटै प्रदेशको महाधिवेशन आगामी मंसिर १६ र १७ गतेका लागि तोकेको छ । अहिले प्रदेशसभा क्षेत्रीय अधिवेशनबाट चुनिएका प्रतिनिधिले प्रदेश महाधिवेशनमा मतदान गरी प्रदेश कार्यसमिति चयन गर्ने भएकाले पनि यो अधिवेशनमा शीर्ष नेताहरूकै चासो बढेको हो ।
‘प्रदेशसभा क्षेत्रीय अधिवेशन भनेको प्रतिनिधिसभा क्षेत्रको आधा भुगोल हो । यो अधिवेशनले प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको झल्को दिन्छ । फेरि यहाँबाट निर्वाचित प्रतिनिधिले नै प्रदेश कार्यसमिति चयन गर्ने हो, त्यसैले सबै नेताहरू जिल्ला जानुभयो,’ कांग्रेस केन्द्रीय कार्यालयका एक सचिवले भने, ‘अहिले त सबै नेताको ध्यान आफ्नो क्षेत्रतिर छ । आफ्नो क्षेत्रमै हारे माथि कसरी दाबी गर्ने ? भन्ने चिन्ता होला ।’
यसपटक केन्द्रीय महाधिवेशनका लागि सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वउपसभापति गोपालमान श्रेष्ठ र केन्द्रीय सदस्य शेखर कोइराला सभापतिका आकांक्षी छन् ।
देउवा आफ्नो समूहबाट एक्लो उम्मेदवार बन्न चाहन्छन् भने इत्तर समूहबाट समेत एकल उम्मेदवारको खोजी टुंगिएको छैन । सभापतिका सबै आकांक्षी नेताहरू कुन नेताको भुगोलमा कस्तो प्रभाव बलियो बन्छ ? त्यसआधारमा आ–आफ्नो चुनावी टिम र चुनावी रणनीति तयार गर्ने दाउमा छन् ।
तलदेखि नै टिम बलियो भए केन्द्रमा टिमलाई जिताउन सहज हुने अनुमान उनीहरूको छ । सभापति देउवाले त आफुपक्षीय नेता कार्यकर्ताहरूलाई प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र, जिल्ला र प्रदेश कार्यसमितिमा जिताउन तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा समेत आफुपक्षीय नेता कार्यकर्ताको बाहुल्य संख्या ल्याउन निर्देशन नै दिएका छन् ।
देउवाले सातै प्रदेशमा आफ्नो टिमलाई जिताउनका लागि चुनावी कमाण्डर नै तोकिसकेका छन् । प्रदेश १ मा ज्ञानेन्द्रबहादुर कार्की, प्रदेश २ मा रमेश रिजाल, बागमतीमा प्रकाशसरण महत, गण्डकीमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा बालकृष्ण खाण, कर्णालीमा पूर्णबहादुर खड्का र जीवनबहादुर शाही तथा सुदुरपश्चिममा रमेश लेखक र एनपी साउदलाई जिम्मेवारी दिएका छन् । त्यसबाहेक केन्द्रीय सदस्यहरूले आफ्नो जिल्ला र छिमेकी जिल्लाको अधिवेशनलाई नजिकबाट हेरेका छन् ।
त्यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेल समुहले पनि नेताहरूलाई आ–आफ्नो जिल्ला र क्षेत्रको जिम्मेवारी बाँडफाँड गरेका छन् । ‘हामीले त्यसरी तोकेका छैनौँ । तर, जसको क्षेत्र जहाँ पर्छ, त्यहाँ उसले स्वाभाविक जिम्मेवारी लिनुपर्छ भन्ने हो,’ एक केन्द्रीय सदस्यले भने । नेता कृष्णप्रसाद सिटौला पक्षले भने जिल्ला र क्षेत्रको राजनीतिक अंकगणितका आधारमा देउवा र पौडेल दुवै समूहसँग सहकार्य गरेर आफ्ना नेता कार्यकर्तालाई पदमा पुर्याउने रणनीति अपनाएको छ ।
‘अहिले सबै नेताहरूको ध्यान तल्ला तहमा कसको कस्तो वर्चस्व रहन्छ भन्नेमै केन्द्रीत छ ? हामीले पनि आ–आफ्नो क्षेत्र हेरिरहेकै छौँ,’ कांग्रेसका पूर्वसहमहामन्त्री रामशरण महतले भने, ‘केन्द्रीय महाधिवेशनका प्रतिनिधिको टुंगो लागेपछि त्यसले नेताहरूको शक्ति निर्धारण गर्छ । कहाँ कसको कस्तो प्रभाव रहृयो ? र कस्तो प्रभाव छ ? भन्ने आधारमा उम्मेदवारी दिने र टिम बन्ने भएकाले अबका अधिवेशनहरू महत्वपूर्ण हुन्छन् ।’ उनले पौडेल समूहबाट साझा उम्मेदवारी दिने विषय समेत क्षेत्रीय प्रतिनिधिहरू चयन भइसकेपछि मात्रै टुंगो लाग्ने बताए ।
केन्द्रीय निर्वाचन समितिका अनुसार डोल्पा, बाँके, कैलाली, सुर्खेत, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा, पाँचथर, इलाम, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, उदयपुर, झापा, मोरङ्ग, सुनसरी, सिन्धुली, काभ्रपलाञ्चोक, नुवाकोट, धादिङ्ग, चितवन, मकवानपुर, भक्तपुर, ललितपुर, काठमाडौं, लमजुङ, तनहुँ, कास्की, पर्वत, स्याङ्जा, बाग्लुङ्ग, नवलपुरासी पुर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रोल्पा, प्युठान, दाङ्ग, बर्दिया, रुकुम पश्चिम, सल्यान, जाजरकोट, दैलेख, डोटी, अछाम, बैतडी, डडेलधुरा र कञ्चनपुर लगायत जिल्लामा शुक्रबारदेखि प्रदेशसभा क्षेत्रीय अधिवेशन सुरू भएको छ । यी जिल्लामा ५ गतेभित्र प्रदेशसभा क्षेत्रीय अधिवेशन सम्पन्न भएपछि ६ गतेबाट प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सुरु हुनेछन् ।
निर्वाचन समितिले यी जिल्लाहरूमा ६ मंसिरमा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एकमात्र क्षेत्र भएका जिल्लाको अधिवेशन गर्ने मिति तोकेको छ । त्यस्तै, दुई वा सोभन्दा धेरै निर्वाचन क्षेत्र भएका जिल्लामा १० मंसिरमा जिल्ला अधिवेशन हुनेछ ।
