२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

रुपन्देहीमा तिनाउ नदीकाे कटान सुरु

अमृता अनमोल

बुटवल — रुपन्देहीको तिनाउ नदीमा पानीको बहाव बढेपछि आसपासका क्षेत्रमा कटान सुरु गरेको छ । तिनाउमा आएको बाढीले बुटवल–११ बुद्धनगर, माझगाउँ, मझुवा एवं वडा नम्बर १७ का केही भागमा कटान थालेको हो ।

रुपन्देहीमा तिनाउ नदीकाे कटान सुरु

क्षतिको पूर्व आकलन गर्न भन्दै बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीसहितको टोलीले तिनाउ किनारको स्थलगत अनुगमन गरेको छ । अहिलेसम्म बुद्धनगर, मझुवा र मैनाबगर जोड्ने सडकको केही भाग र नदी कटान रोक्न मझुवामा बनाइएको तारजाली र ड्याम बगाएको स्थलगत अनुगमनमा गएका बुटवल–११ का वडाध्यक्ष रामचन्द्र खनालले बताए । ‘कटान सुरु भएँसगै नदी आसपासका बस्तीमा जोखिम बढेको छ,’ उनले भने, ‘पानी नरोकिए साँझसम्म आसपासका केही बस्ती खाली गर्नुपर्ने छ ।’

नदीले बिहान ५ बजेदेखि सतर्कताको तह पार गरेको छ । ५.२ सतर्कताको तह रहेको तिनाउ नदीमा बिहानदेखि ५.७१ पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । सतर्कताको तह नाघेर खतराको तहमा पुगेपछि पाल्पाको तिनाउ गाउँपालिका दोभानमा रहेको बाढी पूर्व सूचना प्रणालीले निरन्तर साइरन बजाएको छ । साइरन बजेलगत्तै बुटवल उपमहानगरले नदी छेउका बासिन्दालाई सुरक्षित हुन सूचना प्रवाह गरेको छ ।

चुरेबाट भेल लिएर बग्ने भएकाले बाढीका लागि यस क्षेत्रको सबैभन्दा जोखिम तिनाउ नदी हो । पाल्पाका करिब २० वटा खहरे खोलाहरू तिनाउमा मिसिने गरेका छन् । पछिल्लो समय जनताको तटबन्धअन्तर्गत नदी किनारमा तारजाली गर्ने र पर्खाल लगाउने गरेपछि पछिल्लो वर्षमा नदीको उपद्रो केही घटेको छ । यद्यपि नदीको बहाव क्षेत्र मिचिएकाले ठूलो पानी पर्‍यो कि कटान हुने क्रम रोकिएको छैन ।

प्रकाशित : आश्विन ८, २०७७ १३:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?