भीमफेदी–कुलेखानी सडकखण्ड र कान्तिलोकपथका विभिन्न स्थानमा पहिरो, राजमार्ग अवरुद्ध

आश्विन ८, २०७७

सुवास विडारी

मकवानपुर — अविरल वर्षाका कारण तराईलाई काठमाडौंसँग जोड्ने छोटो दूरीको मार्ग भीमफेदी–कुलेखानी सडक खण्ड र कान्तिलोकपथका विभिन्न स्थानमा पहिरो खसेपछि दुवै मार्ग अवरुद्ध बनेका छन् ।

भीमफेदी कुलेखानी सडकखण्ड अन्तर्गत् इन्द्रसरोबर–२, देउराली नजिक बुधबार र बिहीबार बिहान गएको पहिरोका कारण उक्त सडकखण्ड अवरुद्ध रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ‘पहिरो पन्छाउने र झर्ने क्रम चलिरहेको छ । यो सडकखण्डको स्तरोन्नतिको काम भएका कारण पनि यसवर्ष बढी पहिरो झरेको हो ।’, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी  नायब उपरीक्षक  इन्द्रबहादुर रानाले भने ।

रानाका अनुसार कान्तिलोकपथ अन्तर्गत् बकैया गाउँपालिका–११, सिमात नजिकै, बैकया– १२, ठिङ्गन नजिकै  पहिरो गएकाले लोकपथ पनि अवरुद्ध रहेको छ । यस मार्ग लामो समयदेखि निर्माणको क्रममा रहेको भएपनि वर्षातको समयमा धेरै स्थानमा पहिरो खस्ने गरेको छ । ‘कान्तिलोकपथको तत्काल पन्छाउन सक्ने अवस्था छैन । मकवानपुरमा मात्र होइन । ललितपुरपट्टि पनि पहिरो गएको छ ।’, रानाले भने । 

बाढी-पहिरो

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully