वालिङ पहिरोमा एकै परिवारका ९ जनाको मृत्यु [अपडेट]- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वालिङ पहिरोमा एकै परिवारका ९ जनाको मृत्यु [अपडेट]

प्रतीक्षा काफ्ले

स्याङ्जा — स्याङ्जाको छुट्टाछुट्टै दुई ठाउँमा गएको पहिरोमा परी ज्यान गुमाउनेको संख्या १० पुगेको छ । वालिङ नगरपालिका–१४ तमादीमा बिहीबार बिहान गएको पहिरोमा परी एकै परिवारका नौ जनाले ज्यान गुमाएका छन् भने, कालीगण्डकी गाउँपालिका–४ मा गएको पहिरोमा १ जनाको मृत्यु भएको छ । 

तमादीमा बिहीबार बिहान ६ बजे घरमाथिबाट आएको पहिरोमा परी बेपत्ता भएका १० जनामध्ये ९ जनाको मृत्यु भएको छ भने एक जनाको जीवितै उद्धार गरिएको छ ।

मृत्यु हुनेमा ७ महिनाका शिशुसमेत रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीका अनुसार पहिरोमा परी मृत्यु हुनेहरुमा ६० वर्षीया सानी नेपाली, ४८ वर्षीया माया नेपाली, २८ वर्षीया उमाकला नेपाली, ३० वर्षीय दीपक नेपाली, २१ वर्षीय कुलदीप नेपाली, १६ वर्षीया विनिता नेपाली, १४ वर्षीय विक्रम नेपाली र ९ वर्षीय विवश नेपाली रहेका छन् ।

उमा मायाकी बहिनी हुन् । उनी पाहुना आएकी थिइन । यसैगरी, मायासहित उनका ४ जना छोराहरु दीपक, कुलदीप, विक्रम र विवशको पनि मृत्यु भएको छ । विनिता कुलदीपकी श्रीमती हनुन् । पहिरोमा परी मृत्यु भएका ७ महिने शिशु उनीहरुकै हो ।

पहिरोमा परी मायाकी छोरी १६ वर्षीया मनिषा नेपाली घाइते भएकी छन् । उनलाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ ।

त्यसैगरी बिहीबार बिहान २ बजे कालीगण्डकी गाउँपालिका–४ मा गएको पहिरोमा परी १६ वर्षीय विष्णु दमाईको मृत्यु भएको छ ।

प्रकाशित : आश्विन ८, २०७७ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्

सप्तरीमा एक कोरोना संक्रमितकाे मृत्यु

अवधेशकुमार झा

राजविराज — सप्तरीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीमा कार्यरत ५५ वर्षीय पुरुषको बिहीबार बिहान मृत्यु भएको हो ।

११ दिनअघि प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा प्रमुखहरुको स्वाब संकलन गरिएको दिन उनले पनि पीसीआरका लागि स्वाब दिएका थिए । अन्यको रिपोर्ट नेगेटिभ आएपनि उनको रिपाेर्ट पोजिटिभ आएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि २–३ दिन सामान्य अवस्था देखिएपनि पछि उनमा लक्षण देखिन थालेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी आनन्दकुमार ठाकुरले बताए । ३ दिनअघि उनी २४ घण्टा राजविराजस्थित साईकृष्ण मेकिडल कलेजको पुरानो भवनमा रहेको आइसोलेसनमा समेत बसेका थिए ।

घर फर्केर होम आइसोलेसनमा बस्दै आएका कार्यालय सहयोगीको बिहीबार बिहान मृत्यु भएको हो । ‘बिहीबार बिहान उठ्दा सामान्य अवस्थामा रहेपनि अचानक उनको मृत्यु भएको हो,’ सूचना अधिकारी ठाकुरले भने । सप्तरी जिल्लामा कोरोना संक्रमित भइ मृत्यु हुनेको संख्या योसमेत गरी १२ जना पुगेको छ ।

प्रकाशित : आश्विन ८, २०७७ ११:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×