हाम्रा साना गल्ती, अभिव्यक्ति र जेस्चरले आउने परिणाम नेपाल जस्तो सानो देशलाई थेग्न गाह्रो हुनेछ : नेता ज्ञवाली
काठमाडौँ — एमाले नेता प्रदीप ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)लाई भूराजनीतिक सन्तुलन कायम राखेर जान आग्रह गर्दै राष्ट्रिय हित संरक्षणको दिशामा अघि बढ्न सुझाव दिएका छन्।
‘रास्वपा सभापति रवि लामिछाने भारत र परराष्ट्रमन्त्री शिशिर खनालले भारत र चीन भ्रमण गरेर फर्कनु भएको छ । भूराजनीति र जटिलता भएको नेपाल जस्तो देशले अनिकालमा बीउ जोगाउनु, हुलचालमा जिउ जोगाउनु भनेजस्तै भूराजनीतिभित्र राष्ट्रिय हितलाई संरक्षण गर्ने जटिलतालाई अवश्य पनि अनुभूत गर्नुभएको छ,’ उनले भने, ‘हाम्रा साना गल्ती, अभिव्यक्ति र जेस्चरले हुने गल्तीलाई नेपाल जस्तो सानो देशले थेग्न गाह्रो हुनेछ ।’
उनले सरकारका कतिपय गतिविधि आफ्नै वाचापत्रसँग मेल नखाएको बताए । ‘सरकारको प्रारम्भिक गतिविधिले प्रश्न खडा गरेको छ । महाधिवेशनबाट नेपाली जनतालाई प्रश्नको जवाफ दिनुपर्छ । लोकतन्त्र र नियन्त्रण र सन्तुलनको व्यवस्था हो । यदि न्यायालय कमजोर भयो, राष्ट्रपति कार्यालय कमजोर भयो भने, संसद् कमजोर भयो । आलोचनाका स्वर कमजोर भयो भने पारदर्शिता होइन, अपारदर्शिता भयो भने स्वभाविक छ जनमत सधैंभरि नरहन सक्छ,’ उनले भने ।
त्यस्तै उनले अगाडि भने, 'कतिपय वाचासँग मेल नखाने घटना भएका छन् । नेपालको लोकतन्त्र सुरक्षित छ भन्ने अनुभूति होस् शुभकामना छ । गाडीमा ब्रेक र एक्सलेटर हुन्छ । एक्सलेटर मात्र थिच्दा दुर्घटना पनि हुन सक्छ भन्ने ध्यानमा राखेर अघि बढ्नु हुनेछ ।'
