सभापति थापाले उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिने
काठमाडौँ — कांग्रेस सभापति गगन थापा सत्तारुढ दल रास्वपाको प्रथम महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुने भएका छन् । स्वकीय सचिव शंकर कुइँकेलले सभापति थापा उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिन चितवन जाने जानकारी दिएका हुन् । कुइँकेलले केहीबेरमा सभापति थापा चितवन जाने इकान्तिपुरलाई जानकारी दिए ।
यसअघि आइतबार बिहान सभापति थापाले रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको अवसरमा शुभकामना व्यक्त गर्दै महाधिवेशन विचार, संगठन र नीतिका दृष्टिले 'ऐतिहासिक अवसर' भएको बताएका थिए ।
यसअघि कांग्रेसबाट उपसभापति पुष्पा भुसाल जाने खबर आएको थियो । रास्वपाले महाधिवेशनका लागि पार्टी प्रमुखहरूलाई निम्ता गरेको थियो । पार्टी प्रतिनिधिका रुपमा एमालेबाट केन्द्रीय सदस्य ज्ञवालीले महाधिवेशनमा सहभागी जनाउँदैछन् ।
रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार नेकपाबाट वर्षमान पुन, राप्रपाबाट राजेन्द्र लिङ्देन, जनमतबाट सीके राउत, जसपाबाट उपेन्द्र यादवसमेत सहभागी हुने कार्यक्रम छ ।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि रास्वपा महाधिवेशनमा सहभागी हुनेछन् । रास्वपाको महाधिवेशन उद्घाटन कार्यक्रम भरतपुरको गेस्टहाउस चौरमा हुँदै छ । बन्दसत्र चितवन उद्योग संघको औद्योगिक प्रदर्शनी केन्द्रमा हुनेछ ।
