नेकपा संयोजक पुष्पकमल दाहालको परिवारबाट ३ जना उम्मेदवार थिए तर उनी मात्र विजयी भए । एमाले उपमहासचिव रघुवीर महासेठ र उनकी श्रीमती जुली महतो उम्मेदवार भए पनि दुवै पराजित भए ।
What you should know
काठमाडौं — नेकपाका संयोजक पुष्पकमल दाहालको परिवारबाट हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा ३ जना चुनावी मैदानमा थिए । रुकुम पूर्वबाट दाहाल, चितवन-३ बाट छोरी रेनु र कञ्चनपुर-१ बाट बुहारी बिना मगर उम्मेदवार भएका थिए । ३ जनामध्ये रुकुम पूर्वबाट दाहाल मात्रै विजयी भए । बाँकी २ जनाले राजनीतिक विरासत जोगाउन सकेनन् ।
छोरी रेनु भरतपुर महानगरपालिकाको मेयरबाट राजीनामा दिएर चितवन-३ बाट उम्मेदवार बनेकी थिइन् । उनलाई रास्वपाकी सोविता गौतमले पराजित गरिन् । चुनाव प्रचारका बेला उनले सशस्त्र युद्ध, संविधानसभा र भरतपुरको मेयरको रुपमा गरेको कामलाई देखाउँदै मत मागेकी थिइन् । ‘म प्रचण्डको छोरी हुँ । तर, लामो राजनीतिक यात्रा र योगदानका आधारमा उम्मेदवार भएकी हुँ,’ उनले उम्मेदवार भएपछि भनेकी थिइन् ।
संविधानसभा सदस्य, भरतपुरको मेयर हुँदै प्रतिनिधिसभा उम्मेदवार बनाएर दाहालले आफ्नो विरासतको राजनीतिमा अघि बढाउन चाहेका छन् । ०७४ मा यो क्षेत्रबाट उनका बुबा पुष्पकमल दाहालले जितेका थिए ।
कञ्चनपुर-१ बाट दाहालकी बुहारी बिना पनि यो निर्वाचनमा पराजित भएकी छन् । ०७४ मा उनले त्यही क्षेत्रबाट चुनाव जितेकी थिइन् । त्यसपछि उनी खानेपानी तथा सरसफाइमन्त्री समेत भएकी थिइन् । यसपटक रास्वपाका जनक धामीसँग उनी पराजित भइन् ।
संविधानसभाका अध्यक्ष स्वर्गीय सभामुख सुवास नेम्वाङका छोरा सुहाङ इलाम-१ बाट विजयी भएका छन् । उनले कांग्रेसका भेषराज आचार्यलाई पराजित गरेका हुन् । सुवासको निधन (२६ असार २०८०)पछि भएको उपनिर्वाचनमा पनि सुहाङले जितेका थिए ।
एमाले उपमहासचिव रघुवीर महासेठ धनुषा-४ र उनकी श्रीमती जुली महतो धनुषा-३ मा उम्मेदवार थिए । यसपटक दम्पतीले नै चुनाव हारेका छन् । धनुषा-३ बाट रास्वपाका मनिष झाले चुनाव जिते भने दोस्रोमा कांग्रेसका विमलेन्द्र निधि र तेस्रो स्थानमा महतो रहेकी छन् ।
धनुषा-४ मा पनि रास्वपाकै राजकिशोर महतोले जिते । कांग्रेस नेता महेन्द्र यादव दोस्रो र उपमहासचिव महासेठले तेस्रो स्थानमा सीमित भए ।
कर्णालीको डोल्पामा सहोदर दुई भाइ प्रतिस्पर्धी थिए । नेकपाबाट धनबहादुर बुढा र कांग्रेस सहमहामन्त्री एवं उनका भाइ कर्णबहादुर बुढा । ०७९ को निरन्तरता दिँदै धनबहादुरले यसपटक पनि चुनाव जिते । उपविजेता एमालेका लंकबहादुर रोकाया भए भने कर्णबहादुर बुढा तेस्रो । डोल्पाको राजनीतिमा बुढा परिवार निर्णायक हुँदै आएका छन् ।
रौतहट-३ बाट कांग्रेस नेता मोहम्मद आफताभ आलमका छोरा मोहम्मद फिरदोश आलमले जितेका छन् । कांग्रेस नेता शेख इद्रिशको राजनीतिक विरासतबाट राजनीतिमा आएको आलम परिवारबाट फिरदोशले चुनाव जितेका हुन् ।
मुस्ताङबाट कांग्रेस नेता रोमी गौचन थकालीका छोरा योगेशले चुनाव जितेका छन् । ०७९ मा पनि उनले चुनाव जितेका थिए ।
कांग्रेस नेता अर्जुननरसिहं केसी समानुपातिक उम्मेदवार छन् । सूचीमा उनी खसआर्य क्लस्टरमा १ नम्बर छन् । उनका भाइ जगदीशनरसिंह केसी नुवाकोट-२ बाट उम्मेदवार थिए । उनलाई रास्वपाका अच्युतम लामिछानेले पराजित गरे ।
कांग्रेस नेता एवं पूर्वअर्थमन्त्री रामशरण महतका भाइ प्रकाशशरण महतले नुवाकोट-१ बाट यो निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए । उनलाई रास्वपाका विक्रम तिमिल्सिनाले पराजित गरे ।
माओवादी नेता देवेन्द्र पौडेलका लागि नवलपरासी पश्चिम-२ नयाँ क्षेत्र थियो । ०७९ मा बागलुङ-२ बाट चुनाव जितेका उनले यसपटक नवलपरासी पश्चिम-२ बाट उम्मेदवारी दिएका थिए । निर्वाचन परिणामले उनलाई सातौं स्थानमा धकेलेको छ । उनकी श्रीमती बलावती शर्मा नेकपाको समानुपातिक उम्मेदवारको सूचीमा छन् । उनी खसआर्य क्लस्टरबाट १ नम्बरमा छिन् । श्रीमान् देवेन्द्र पराजित भए पनि उनी समानुपातिक सांसद हुने निश्चितजस्तै छ ।
एमाले नेता शेरबहादुर तामाङ सिन्धुपाल्चोक-२ बाट उम्मेदवार भई पराजित भए । नेकपाका युवराज दुलाल विजेता बने भने कांग्रेका वंशलाल तामाङ निकटतम् प्रतिस्पर्धी भए । तामाङकी श्रीमती उषाकला राई एमाले समानुपातिक आदिवासी जनजाति महिला क्लस्टरको समानुपातिक सूचीमा छन् । उनी चौथो नम्बरमा भएकाले निर्वाचित हुने सम्भावना छ ।
राप्रपाका पूर्वनेता दीपक बोहराका दुई छोरा प्रज्वल बोहरा (रुपन्देही–१) र गौरव बोहरा (रुपन्देही–३) बाट उम्मेदवार बनेका थिए । दाजुभाइ नै पराजित भए । रुपन्देही-१ मा रास्वपाका सुनिल लम्सालले चुनाव जितेका छन् । कांग्रेसका हिराबहादुर खत्री र प्रज्वल तेस्रो नम्बरमा रहे ।
रुपन्देही-३ मा रास्वपाकै डा. लेखजंग थापा विजयी भए भने गौरव तेस्रो स्थानमा पुगे । ०७९ को निर्वाचनमा रुपन्देही-३ बाट राप्रपाका दीपक बोहरा निर्वाचित भएका थिए ।
पत्रकार ऋषि धमला र एलिजा गौतम आम जनता पार्टीबाट उम्मेदवार भएका थिए । धमला रौतहट-४ उम्मेदवार भएका थिए । चुनावी प्रचार शैलीका कारण चर्चित बने पनि विजेता बन्न सकेनन् । उनकी एलिजा आजपाबाट समानुपातिकतर्फ उम्मेदवार बनेकी छन् ।
माओवादी सशस्त्र द्वन्द्वमा होमिएका वर्षमान पुन र ओनसरी घर्तीको राजनीतिक यात्रा संघर्षमय छ । यो निर्वाचनमा पुनले रोल्पाबाट चुनाव जितेका छन् । ०७९ को निर्वाचनमा पनि उनले रोल्पाबाटै जितेका थिए । पुन पूर्वअर्थ र उर्जामन्त्री भइसकेका छन् । पूर्वसभामुख भइसकेकी ओनसरी भने यसपटक उम्मेदवार भइनन् ।
एमाले महासचिव शंकर पोखरेल दाङ-२ बाट पराजित भएका छन् । रास्वपाका बिपिनकुमार आचार्यले उनलाई पराजित गरेका हुन् । एमाले केन्द्रीय सदस्य उनकी श्रीमती सुजिता शाक्य यसपटक उम्मेदवार भइनन् । ०७९ मा उनी समानुपातिकबाट सांसद थिइन् ।
माओवादी पूर्वमहासचिव रहेका नेकपा नेता देव गुरुङ र उनकी श्रीमती यशोदा सुवेदी गुरुङ सुरुदेखि नै माओवादी द्वन्द्वमा सहभागी भएका थिए । हाल नेकपा नेता रहेका गुरुङ पटकपटक मन्त्री र सुवेदी सांसद भइसकेका छन् । यसपटक यशोदालाई नेकपाले मनाङबाट उम्मेदवार बनाएको थियो । उनी कांग्रेस उम्मेदवार टेकबहादुर गुरुङबाट पराजित भएकी छन् ।
पूर्वमन्त्री एवं नेकपा नेता दीनानाथ शर्माकी छोरी कल्पना शर्मा काठमाडौं-५ बाट उम्मेदवार भएकी थिइन् । तर, निर्वाचनमा उनी सातौं नम्बरमा परिन् । काठमाडौं-५ बाट रास्वपाका सस्मित पोखरेल विजयी भए ।
त्यस क्षेत्रमा कांग्रेस महामन्त्री प्रदीप पौडेल र एमाले वरिष्ठ नेता ईश्वर पोखरेल, राप्रपा नेता कमल थापा पराजित भए ।
