दल बदलेर भएका रास्वपाका ४२ सांसद

निर्वाचनको मुखमै दलबदलको जोखिम मोलेर विजयी हुनेमा मधेश प्रदेशका सबैभन्दा बढी १७ जना छन्,  दल छोड्नेमा सर्वाधिक १९ जना कांग्रेसका छन् भने नेकपाका ५ र एमालेका एकजना मात्र छन्

फाल्गुन २७, २०८२

पर्वत पोर्तेल, शिव पुरी, दीपेन्द्र बडुवाल, गंगा बीसी, दीपक परियार

42 Rashtriya Swayamsevak Sangh (RSS) MPs who switched parties

What you should know

काठमाडौं, विराटनगर, रौतहट, पोखरा र भैरहवा — राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनमा १२५ सिट जितेको छ । जसमा ४२ जना कांग्रेस, एमाले, नेकपा र मधेशकेन्द्रित दल छाडेर आएका उम्मेदवारले जितेका छन् ।

निर्वाचनको मुखमा दल बदलेरै पनि उनीहरू विजयी भएका हुन् । मधेश प्रदेशमा सबैभन्दा बढी १७ जनाले दल बदलेर रास्वपाबाट चुनाव जितेका छन् । 

सुनसरी–४ मा कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पराजित गरेर चर्चामा आएका नवनिर्वाचित सांसद दीपककुमार साह रास्वपा प्रवेश गरेको धेरै भएको छैन । केही समयअघिसम्म उनी सीके राउत नेतृत्वको जनमत पार्टीमा सक्रिय थिए । जनमतका उपाध्यक्ष तथा अनुशासन समिति संयोजकसमेत रहेका साहलाई नै पार्टीले अनुशासनको कारबाही गरेपछि पार्टी छाडेका थिए ।

जनमतले निष्कासन गरेलगत्तै साहले आफ्नै नेतृत्वमा ‘जनस्वराज’ नामक नयाँ दल गठन गरेका थिए । तर उक्त दललाई मान्यता नदिन माग गर्दै जनमतका अध्यक्ष राउत अदालत पुगे । अदालतले ‘जनस्वराज’ लाई मान्यता नदिएपछि साहले पार्टीको नाम परिवर्तन गरी ‘सर्वोदय’ राख्दै निर्वाचन आयोगमा दल दर्ता गराए । नवगठित सर्वोदय पार्टीका अध्यक्ष साह नै हुन् भने पार्टीको चुनाव चिह्न ‘मकैको घोगा’ राखिएको थियो । तर, २१ फागुनको निर्वाचन नजिकिँदै गर्दा साह आफ्नै दल र चुनाव चिह्न त्याग्दै रास्वपामा प्रवेश गरे । त्यसपछि रास्वपाबाट उम्मेदवार बनेका उनले कांग्रेसका प्रभावशाली नेता कार्कीलाई पराजित गर्दै चुनाव जिते । 

यस्तै, कांग्रेसका महामन्त्री गुरुराज घिमिरेलगायतका नेताहरूलाई हराउँदै चर्चामा आएका पूर्वपत्रकार सन्तोष राजवंशी पनि पार्टी प्रवेश गर्दै रास्वपा उम्मेदवार बनेका थिए । नेपाल टेलिभिजन र स्थानीय रेडियोहरूमा काम गरेको अनुभव भएका राजवंशी २०७९ को चुनावताकैदेखि पत्रकारिताभन्दा राजनीतिमा बढी सक्रिय देखिन थालेका थिए । त्यतिबेला उनी रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीमा आबद्ध थिए । सोही पार्टीबाट विराटनगर महानगरको वडाध्यक्षमा चुनाव लड्ने प्रयास गरेका उनले अन्तिम समयमा टिकट भने पाएनन् । 

राजवंशी रास्वपामा प्रवेश गरेको पनि धेरै भएको छैन । उम्मेदवारी मनोनयन दर्ता हुनुभन्दा करिब एक साताअघि मात्र उनले रास्वपामा प्रवेश गरी टिकट पाएका थिए । रातारात दल बदलेका उनी अहिले कांग्रेसका महामन्त्री घिमिरे, नेकपाका पूर्वमन्त्री अमनलाल मोदी र कोशी प्रदेशका पूर्वमन्त्री तथा एमाले नेता जीवन घिमिरेलाई पराजित गरेपछि चर्चामा छन् ।

मधेश प्रदेशमा सप्तरी–२ बाट विजयी रास्वपाका उम्मेदवार रामजी यादव २०७३ मा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट राजनीतिमा सक्रिय भएका थिए । पेसाले इन्जिनियरसमेत रहेका उनी पछिल्लो जेन–जी आन्दोलनपछि रास्वपाबाट उम्मेदवार भएर प्रतिनिधिसभा सदस्यमा लडेका थिए । त्यस्तै राजपाबाटै रास्वपा प्रवेश गरी सप्तरी–३ को निर्वाचनमा होमिएका अमरकान्त चौधरीले पनि जसपा अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरे । गत आमनिर्वाचनमा यादवले यही क्षेत्रबाट जितेका थिए ।कांग्रेस छाडेर रास्वपाबाट सप्तरी–४ मा उठेका सीताराम साहले पुरानो दल कांग्रेसकै उम्मेदवार एवं पूर्वमन्त्री तेजुलाल चौधरीलाई पराजित गरी प्रतिनिधिसभा सदस्य बने । 

विभिन्न मधेशवादी दलमा आबद्ध हुँदै छोड्दै आएका रामविनोद यादवले धनुषा–२ मा कांग्रेस उम्मेदवार दिनेशप्रसाद यादवलाई हराएर जित निकाले । त्यस्तै राजकिशोर महतोले जसपा छाडेलगत्तै रास्वपाबाट धनुषा–४ को टिकट पाए । उनी कांग्रेसका पूर्वसहमहामन्त्री महेन्द्र यादवलाई हराउन सफल भए । महोत्तरी–१ मा प्रमोदकुमार महतो लोकतान्त्रिक समाजवादी त्याग्दै रास्वपाका उम्मेदवार मात्र बनेनन्, नेकपाका गिरिराजमणि पोखरेललाई पछि पार्दै जित निकाले । जसपा छाडेर रास्वपाबाट महोत्तरी–३ को उम्मेदवार बनेका उज्ज्वलकुमार झाले पनि जित निकाले ।

त्यस्तै सर्लाही–३ बाट प्रतिनिधिसभा सदस्य बनेका नरेन्द्र साह कलवार कुनै बेला नेकपाका स्थानीय नेता थिए । उनले नेकपाकै वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई पराजित गरे । २०५४ मा एमालेको सदस्यता लिँदै राजनीति थालेका राजेशकुमार चौधरी २०७४ मा रौतहटका कांग्रेस जिल्ला सचिव भए । उनै चौधरीले यस पटक रास्वपाबाट रौतहट–१ मा रास्वपा उम्मेदवार हुँदै जित मात्र निकालेनन्, एमालेका अजयकुमार गुप्ता, कांग्रेसका अनिलकुमार झा र नेकपाका सहसंयोजक माधवकुमार नेपाललाई ठूलो मतान्तरले हराए । 

त्यस्तै रौतहट–३ मा जित निकालेका रवीन्द्र पटेल उम्मेदवारी मनोनयन गर्नुअघि रास्वपामा प्रवेश गरेका थिए । उनले जसपाका गोविन्द चौधरीलाई पराजित गरे । रौतहट–४ का विजेता गणेश पौडेल पनि कांग्रेस छाडेर रास्वपा प्रवेश गरेका थिए । उनले कांग्रेसका देवप्रसाद तिमल्सेनालाई पराजित गरे । त्यस्तै बारा–१ बाट सांसद बनेका गणेश धिमालको राजनीतिक पृष्ठभूमि पनि कांग्रेस हो । उनले कांग्रेसकै शम्भु बुढाथोकीलाई पराजित गरे । बारा–२ मा जसपा त्यागेर रास्वपामा पुगेका चन्दनकुमार सिंहले पूर्वपार्टी जसपाका नेता रामकिशोर यादवलाई पराजित गरे । बारा–४ मा माओवादीका पूर्वप्रदेश सांसद रहबर अन्सारीले रास्वपाबाट टिकट लिँदै जिते । 

पर्सा–२ मा रास्वपाबाट विजयी सुशीलकुमार कानु त्यसअघि जसपासँग आबद्ध थिए । त्यस्तै पर्सा–३ मा रास्वपाबाटै निर्वाचित रामाकान्तप्रसाद चौरासिया कुनै समय कांग्रेसका स्थानीय नेता थिए । उनले यस पटक कांग्रेसकै पुराना नेता सुरेन्द्र चौधरीलाई हराए । कुनै बेला नेकपाका स्थानीय नेता रहेका टेकबहादुर शाक्यले पर्सा–४ मा रास्वपाबाट जित निकाल्दा कांग्रेसका पुराना नेता रमेश रिजाल १५ हजार बढी मतान्तरले हारे । 

काठमाडौं–२ का रास्वपाका विजेता सुनील केसी राप्रपाका पूर्वनेता हुन् । उनले कांग्रेसका कविर शर्मालाई पराजित गरे । काठमाडौं–१० मा रास्वपाबाट जितेका प्रदीप विष्ट पहिले कांग्रेसका कार्यकर्ता थिए । उनले कांग्रेसका हिमाल कार्कीलाई नै पराजित गरेका छन् । भक्तपुर–२ मा रास्वपाका विजेता रुकेश रञ्जित पहिले एमालेका कार्यकर्ता हुन् । उनले यहाँ नेमकिपाको गढ मात्र भत्काएनन्, यसका वरिष्ठ नेता प्रेम सुवाललाई पनि हार चखाए । त्यस्तै काभ्रे–१ मा विजयी बनेका बदनकुमार भण्डारी एकीकृत समाजवादी त्याग गरी रास्वपाका उम्मेदवार बनेका थिए । 

धादिङ–२ बाट सांसद निर्वाचित रास्वपाका बोधनारायण श्रेष्ठ पूर्वमाओवादी समर्थक हुन् । यसअघिको उपनिर्वाचनमा कांग्रेस छाडेर रास्वपा प्रवेश गरेका स्वर्णिम वाग्ले यसपल्ट पुनः तनहुँ–१ मा निर्वाचित भए । तनहुँ–२ मा निर्वाचित श्रीराम न्यौपाने पनि कांग्रेस पृष्ठभूमिका हुन् । रास्वपा प्रवेश गर्नुअघि राष्ट्रपति रामचन्द्र पौडेलनिकट रहेर उनले काम गरेका थिए ।

उनी नेविसंघको पुल्चोक इन्जिनियरिङ क्याम्पसको इकाइ सभापति र स्ववियु सहसचिव भएका थिए । पर्वतबाट निर्वाचित सागर भुसाल रास्वपा प्रवेश गर्नुअघि कांग्रेसनिकट तरुण दलको जिल्ला सचिव थिए । जिल्ला सभापति प्रवीण गुरुङ पर्वतको विहादी गाउँपालिका अध्यक्ष चुनिएपछि उनलाई कार्यवाहक सभापति तोकिएको थियो । अधिवेशनबाट सभापति हुने इच्छा भए पनि उनी रास्वपा प्रवेश गरेका थिए । जेन–जी आन्दोलनअघि केही समय रास्वपा त्यागेर कांग्रेसमै फर्किएका उनी आन्दोलनपछि भने रास्वपासँग नजिकिँदै टिकट प्राप्त गरेका थिए । 

बागलुङ–१ बाट निर्वाचित रास्वपाका सुशील खड्का पहिले कांग्रेसको प्रदेश अधिवेशन प्रतिनिधि थिए । उनी पछिल्लो अधिवेशनमा म्याग्दीबाट प्रतिनिधित्व गर्दै कांग्रेसको गण्डकी प्रदेश अधिवेशनमा सहभागी भएका थिए । कास्की–२ मा रास्वपाबाटै निर्वाचित उत्तमप्रसाद पौडेल पनि पहिले तरुण दलको क्षेत्रीय सचिव थिए । रवि लामिछानेले ग्यालेक्सी टीभी छोडेर रास्वपा जन्माएपछि उनी पनि पार्टीमा आबद्ध भएका थिए । स्याङ्जा–१ बाट निर्वाचित धनञ्जय रेग्मी रास्वपा जानुअघि कांग्रेस पृष्ठभूमिका हुन् । पर्यटन बोर्डको कार्यकारी प्रमुख हुने बेला भने उनी एमालेसँग नजिकिएका थिए ।

पुराना दल परित्याग गरेका उम्मेदवारले जनताको ‘परिवर्तन’ को चाहना पूरा गर्न प्रतिनिधिसभा रोजेको बताएका छन् । तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टीबाट रूपन्देही ४(१) मा विजयी कन्हैया बनियाले प्रदेशसभा सदस्यबाट राजीनामा दिएका थिए । मनोनयनपूर्व जसपा (नेपाल) बाट रास्वपा प्रवेश गरेका उनी रूपन्देही–४ बाट विजयी भए । 

पश्चिम नवलपरासी–१ र २ बाट पनि पूर्वकांग्रेसीले रास्वपाबाट जित हात पारेका छन् । जिल्ला पार्टीभित्र आन्तरिक किचलो बढेपछि तत्कालीन कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाल मनोनयनपूर्व रास्वपा प्रवेश गरेका थिए । ०७९ को निर्वाचनमा पश्चिम नवलपरासी–१ बाट विनोद चौधरी उम्मेदवार भएपछि खनालले बागी उम्मेदवारी दिएका थिए । त्यसबेलादेखि कांग्रेस जिल्ला समितिमा विवाद सुरु भएको थियो । विद्रोही उम्मेदवार बनेपछि खनाललाई कांग्रेसले अनुशासनको कारबाही गरेको थियो । 

कांग्रेसले यस पटक पश्चिम नवलपरासी–१ बाट चौधरीलाई उम्मेदवार बनायो । लगत्तै पार्टी त्यागेर खनाल रास्वपाबाट उम्मेदवार बन्दै निर्वाचित भए । पश्चिम नवलपरासी–२ बाट पनि पूर्वकांग्रेस नेता नरेन्द्र गुप्ता निर्वाचित भए । कांग्रेसबाट टिकट पाउने सम्भावना नभएपछि उनी पनि रास्वपा प्रवेश गरेका थिए । कांग्रेसले पश्चिम नवलपरासी–२ मा भीमबहादुर थापा र देवेन्द्रराज कँडेललाई टिकट दिएको थियो । थापाले पहिले मनोनयन दर्ता गरेकाले निर्वाचन आयोगले उनकै उम्मेदवारी आधिकारिक मान्यो । कांग्रेसभित्र चुलिएको विवाद र रास्वपाका पक्षमा देखिएको लहरको लाभ उठाउँदै गुप्ता निर्वाचित भए । गुप्ता कांग्रेसबाट ०७४ मा सदरमुकामस्थित रामग्राम नगरपालिका प्रमुख निर्वाचित भएका थिए । 

मनोनयनका बेला रास्वपा प्रवेश गरेर कपिलवस्तु–२ बाट पूर्वकांग्रेस नेता विक्रमसिंह थापा निर्वाचित भएका छन् । थापाले कांग्रेस उम्मेदवार पूर्वमन्त्री सुरेन्द्रराज आचार्यलाई पराजित गरेका हुन् । ०७९ मा प्रवेशसभा सदस्यमा झिनो मतान्तरले पराजित थापा यस पटक प्रतिनिधिसभा सदस्य उम्मेदवारका आकांक्षी थिए । पार्टीले टिकट नदिएपछि उनले रास्वपा रोजे । पाल्पा–२ बाट डा. माधव थापाले कांग्रेस सभापति हिमालदत्त श्रेष्ठलाई पराजित गरे । कांग्रेसनिकटका अनुसार थापा अझै जिल्ला कार्यसमिति सदस्य छन् ।

कांग्रेस जिल्ला सभापति श्रेष्ठसँग निकट सम्बन्ध रहेका थापा मनोनयनको मुखमा रास्वपा प्रवेश गरेका थिए । श्रेष्ठले थापालाई जिल्ला कार्यसमितिमा लगेका थिए । सँगै यात्रा र बसउठ गर्ने थापाले आफ्ना मित्र श्रेष्ठलाई पराजित गरेका हुन् । उनी रास्वपा प्रवेश गरेको जानकारी कांग्रेसले उम्मेदवार बनेपछि मात्रै पाएको थियो । प्रतिनिधिसभा सदस्य निर्वाचित भइसक्दासमेत थापा कांग्रेस जिल्ला सदस्य रहेको कांग्रेस कार्यकर्ता बताउँछन् । 

दाङ–१ बाट निर्वाचित देवराज पाठक लामो समय शिक्षण पेसासँगै कांग्रेसको राजनीति गर्दै आएका थिए । शिक्षक संघको जिल्ला उपसभापति भइसकेका उनी २०७९ मा तत्कालीन शिक्षक संघ र अध्यापन पेसा त्यागेर रास्वपा प्रवेश गरेका थिए । उनले कांग्रेस सहमहामन्त्री योगेन्द्र चौधरी, पूर्वसहरी विकासमन्त्री मेटमणि चौधरी र लुम्बिनी प्रवेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीलाई पराजित गरेका हुन् । रास्वपाबाट उम्मेदवार बन्नुअघि बाँके–३ बाट निर्वाचित खगेन्द्र सुनार पूर्वकांग्रेस कार्यकर्ताका रूपमा चिनिएका थिए । यस पटक बाँके–३ बाट उनले कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनलाई पाखा लगाए । बाँके–१ बाट विजयी सुरेशकुमार चौधरी नागरिक उन्मुक्ति पार्टीबाट रास्वपा प्रवेश गरेका हुन् । 

०७९ को निर्वाचनमा बर्दिया–१ मा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बनेका पूर्वपत्रकार ठाकुरसिंह थारू यस पटक रास्वपाबाट निर्वाचित भए । लामो समय पत्रकारिता गरेका थारू सुरुमा एमालेनिकट थिए । ०७९ मा पत्रकारिता छाडेर नागरिक उन्मुक्तिबाट उम्मेदवार बनेका थिए । त्यसबेला कांग्रेसका सञ्जय गौतमले पराजित गरेका थिए । यस पटक रास्वपा प्रवेश गरेर उम्मेदवार बनेका थारूले कांग्रेसका उनै गौतमलाई पराजित गरे । नाउपा कमजोर बनेपछि उनी रास्वपा छिरेका थिए । बर्दिया–२ मा रास्वपाबाट जितेका श्रीधर पोखरेलले यसअघि लामो समय कांग्रेसमा आबद्ध भएर विभिन्न संघसंस्थामा नेतृत्व गरेका थिए । उनी डेढ वर्षअघि रास्वपा प्रवेश गरेका थिए । 

कर्णाली प्रदेशमा रास्वपाले एउटा मात्रै सिट जितेको छ । रास्वपा उम्मेदवार रमेशकुमार सापकोटा सुर्खेत–२ बाट विजयी भएका हुन् । उनी कांग्रेसका पूर्ववीरेन्द्रनगर सचिव हुन् । सुदूपश्चिममा पनि दल बदलेर सफलता हासिल गर्ने प्रशस्त छन् । कैलाली–१ मा रास्वपाबाट निर्वाचित कोमल ज्ञवाली यसअघि नाउपामा थिइन् । डडेलधुरामा कांग्रेस गढ भत्काउन सफल डा. ताराप्रसाद जोशी तत्कालीन एकीकृत समाजवादीका नेता थिए । उनी ०७९ मा स्वतन्त्र उम्मेदवार बनेर प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । यस पटक मनोनयनपूर्व प्रदेशसभा सदस्यबाट राजीनामा दिएर उम्मेदवार बनेका थिए । बैतडीबाट विजयी हरिमोहन भण्डारी ०७९ मा कांग्रेसका बागी उम्मेदवार थिए । पार्टीले कारबाही फुकुवा गरेको केही समयमै उनी रास्वपा प्रवेश गरेका थिए । रास्वपाबाट उम्मेदवार बनेर उनले कांग्रेसका चतुरबहादुर चन्दलाई पराजित गरे । ***


***कञ्चनपुर–३ मा रास्वपाबाट निर्वाचित ज्ञानेन्द्रसिंह महताले यसअघि आफू कुनै पार्टीसँग आवद्ध नभएको बताएपछि सो प्रसंग हटाइएको छ ।  - सम्पादक

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

दीपेन्द्र

गंगा

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully