कांग्रेसले केन्द्रीय कार्यसमितिमा चुनावी हारको समीक्षा गर्ने

कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचन परिणाम कांग्रेसका लागि प्रतिकूल रहेपनि अप्रत्याशित नभएको बताउँदै पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बोलाएर त्यसको गहन समीक्षा गरिने बताएका हुन् ।

फाल्गुन २२, २०८२

कान्तिपुर संवाददाता

Congress to review election defeat at Central Working Committee

काठमाडौँ — कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचन परिणाम कांग्रेसका लागि प्रतिकूल रहेपनि अप्रत्याशित नभएको बताएका छन् । उनले केहीबेर अघि एक भिडियो सन्देशमार्फत निर्वाचन परिणामको केन्द्रीय कार्यसमितिको बैठक बोलाएर गहन समीक्षा गरिने बताएका हुन् । 

पार्टीका कार्यकर्ता र शुभचिन्तकहरूलाई सम्बोधन गर्दै शर्माले विगतका कमजोरीहरूको पहिचान गरी एकताबद्ध भएर पार्टी नयाँ ऊर्जाका साथ अघि बढ्ने बताएका छन् । 

‘निर्वाचन परिणाम प्रतिकूल आयो । तर, अप्रत्याशित होइन । गहिराइमा गएर चाँडै नै समीक्षा गर्न चाँडै नै केन्द्रीय कार्यसमितिको बैठक बोलाइने छ,’ उनले भने, ‘२०७९ को स्थानीय तह निर्वाचनमा धरान, काठमाडौं र धनगढीबाट मतदाताले ‘तिम्रो दललाई बदल’ भन्ने सन्देश दिए । तर,  पार्टीले अपेक्षित गतिमा सम्बोधन गर्न सकेन । 

बरु मतदाताको रुष्टतालाई मतमा बदल्न त्यही मौका छोपेर नयाँ दल रास्वपा स्थापना भयो । रास्वपाले छोटो समयमा जुन सिट ल्यायो । त्यो अर्को सन्देश थियो ।’ 

निर्वाचनपछि पार्टीले सरकारको नेतृत्व गर्नुपर्ने वा पूरै समय प्रतिपक्षमा बस्नुपर्ने विकल्पमध्ये एक रोज्नुपर्नेमा त्यसो नगरी सत्तामा गएको र सरकार सञ्चालनमा कमीकमजोरी भएको उनले बताए । 

‘सरकारको कामकारबाहीमा र गतिमा प्रगति गर्न  कमजोरी रह्यो । समग्रतामा अनेकौं निराशा र प्रश्नहरू आए । त्यसलाई विद्रोहमा लग्यो,’ उनले भने । शर्माले जेन-जी विद्रोहपछि पनि अपेक्षित गतिमा परिवर्तन गर्न नसकेको र विशेष महाधिवेशनबाट नीति तथा नेतृत्वमा परिवर्तन गरे पनि त्यसलाई नागरिकसम्म पुर्‍याउन नसकेको स्वीकारे । 

‘विशेष महाधिवेशनले नीति र नेतृत्वमा परिवर्तन गर्‍यो । तर, विशेष महाधिवेशन सम्पन्न भएर नयाँ नेतृत्व आएको पचास दिनमा निर्वाचन भयो । त्यसमार्फत जे परिवर्तनको सुरुवात गरेका थियौं, समाजका विषयवस्तुहरू, प्रश्न, गुनासोहरूलाई डकुमेन्टमा लेख्यौं, तर नागरिक पंक्तिमा राम्रोसँग लैजान सकेनौं,  लोकप्रियतावादलाई पनि चिर्न सकेनौं,’ उनले भने । 

जेन-जी विद्रोहपछि सबै क्षेत्रमा परिवर्तन हुनुपर्ने अपेक्षालाई एउटा पार्टीले निर्णयबाट मात्र पूरा गर्न नसकिने उल्लेख गर्दै शर्माले भने, ‘जेन-जी विद्रोहपछि सबै क्षेत्रमा परिवर्तन हुनुपर्छ भन्ने अपेक्षा जो थियो, त्यो परिवर्तन एउटा निर्णयले हुन सक्दैनथ्यो । त्यो सबैले गर्नुपर्दथ्यो । तर, कांग्रेसले गर्‍यो । तर, नागरिक पंक्तिमा लैजान सकिएन । त्यसले निर्वाचन परिणाम हाम्रो पक्षमा आएन ।’

उनले निर्वाचन परिणामलाई बाह्य र आन्तरिक कारणहरूको गहन पहिचान गरी कमजोरीहरू केलाउने र नयाँ जीवनका साथ अघि बढ्ने बताए । ‘कांग्रेसले हार र जित कैयौं पटक देखेको छ । यो पराजयको क्षणलाई छोटो बनाउनेछौं । गहिराएर समीक्षा गरेर सम्पूर्ण पार्टी पंक्ति एक भएर नयाँ सम्भावनाको खोजी गर्नेछौँ,’ शर्माको भनाइ थियो,‘त्यसका लागि वर्तमान र निवर्तमान नेतृत्वलाई एक ठाउँमा उभिएर सोच्नुपर्ने छ ।’ उनले  लोकतान्त्रिक अभ्यासबाट आएको परिणामलाई आत्मसात् गर्दै संयमता, एकता र ऊर्जा राख्न पार्टीका सबैलाई आह्वान गरेका छन् । 

‘अहिले जे परिणाम आएको छ, त्यो लोकतान्त्रिक अभ्यासको बाटोबाट आएको छ । यसलाई आत्मसात् गरेर संयमता, एकता र ऊर्जा राख्न सबैसँग आग्रह गर्छु । निर्वाचनमा विजयी सबै राजनीतिक दल, विशेषगरी पहिलो दल बन्दै गरेको रास्वपा र उम्मेदवारहरूलाई बधाई दिन्छु,’ शर्माले सन्देशमा भनेका छन् ।

प्रतिनिधिसभा निर्वाचन २०८२

कान्तिपुर

Link copied successfully