निर्वाचनको परिणाम जस्तोसुकै भए पनि क्षेत्रको समग्र विकास, सुशासन र समृद्धिसहित उज्यालो नेपाल निर्माणका लागि आगामी दिनमा थप सक्रिय रहने प्रतिबद्धता कुलमान घिसिङले व्यक्त गरेका छन् ।
काठमाडौं — कुलमान घिसिङले प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं-३ बाट विजयी भएका राजु पाण्डेलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । शुक्रबार जारी गरेको वक्तव्यमा घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पाण्डेको विजयप्रति बधाई दिँदै आगामी कार्यकाल सफल रहोस् भन्ने कामना गरेका हुन् ।
उनले निर्वाचनमा आफूलाई विश्वास गर्दै अमूल्य मत प्रदान गर्ने क्षेत्र नम्बर ३ का सम्पूर्ण मतदाताप्रति हार्दिक आभार व्यक्त गरेका छन् । मतदाताले देखाएको विश्वास र माया आफूका लागि सधैं प्रेरणाको स्रोत रहने उनले उल्लेख गरेका छन् । निर्वाचनको परिणाम जस्तोसुकै भए पनि क्षेत्रको समग्र विकास, सुशासन र समृद्धिसहित उज्यालो नेपाल निर्माणका लागि आगामी दिनमा थप सक्रिय रहने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।
घिसिङले निर्वाचन अभियानमा साथ दिने आफ्ना पार्टीका नेता कार्यकर्ता, समर्थक, स्वयंसेवक तथा शुभेच्छुकहरूलाई पनि अथक मेहनत, साथ र सहयोगका लागि धन्यवाद दिएका छन्। साथै सबैको साथ, माया र विश्वासले आगामी दिनमा देश र जनताको सेवामा अझ जिम्मेवार र सक्रिय भएर लाग्न प्रेरणा दिएको उनले बताएका छन् । उनले सबैको सहकार्यबाट उज्यालो, समृद्ध र सुशासित नेपाल निर्माणको यात्रालाई निरन्तर अघि बढाउने विश्वास समेत व्यक्त गरेका छन् ।
