स्वच्छ निर्वाचन गरी राजनीतिक सुशासन कायम गर्न सबैको योगदान आवश्यक : गृहमन्त्री अर्याल

गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ निर्वाचन सम्पन्न गरी राजनीतिक सुशासन कायम गर्न सबैले जिम्मेवार भएर योगदान गर्न आवश्यक रहेको बताएका छन् ।

फाल्गुन १७, २०८२

कान्तिपुर संवाददाता

Everyone's contribution is necessary to maintain good political governance by conducting fair elections: Home Minister Aryal

What you should know

काठमाडौँ — गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ निर्वाचन सम्पन्न गरी राजनीतिक सुशासन कायम गर्न सबैले जिम्मेवार भएर योगदान गर्न आवश्यक रहेको बताएका छन् । आसन्न प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनिय ढंगले सम्पन्न गर्न बाँके जिल्लाको तयारी तथा सुरक्षा व्यवस्था सम्बन्धमा आइतबार स्थलगत अनुगमनमा पुगेका मन्त्री अर्यालले यस्तो बताएका हुन् । 

गृहमन्त्री अर्यालले हालसम्म बाँके जिल्लाको तयारी सन्तोषजनक रहेको र जिल्लाको परिवेश अनुसार सुरक्षा योजना प्रभावकारी ढंगले कार्यान्वयन गर्न निर्देशन दिए । साथै उनले निर्वाचन आचारसंहिताको पालना गर्न गराउन र कानुन उल्लंघन गर्नेलाई कानुनी दायरामा ल्याउन निर्देशन दिए । 

गृहमन्त्री अर्यालको नेतृत्वमा गृहसचिव राजकुमार श्रेष्ठ तथा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका प्रहरी महानिरीक्षकहरुसहितको टोलीले बाँके जिल्लाको तयारी तथा सुरक्षा व्यवस्था सम्बन्धमा स्थलगत अनुगमन गरेको हो ।

अनुगमनको क्रममा बाँके जिल्लाको मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरु, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालको लुम्बिनी प्रेदेश प्रमुखहरु, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, अनुगमन अधिकृतहरु लगायतको उपस्थिति रहेको थियो । 

उक्त कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जिल्लामा हालसम्म भएका निर्वाचनसम्बन्धी गतिविधिहरु, एकीकृत निर्वाचन सुरक्षा योजना, सुरक्षाकर्मी परिचालन रणनीति, मतपेटिका ढुवानी योजना लगायतको विषयमा प्रस्तुतिकरण गरेका थिए । त्यस क्रममा गृहसचिव राजकुमार श्रेष्ठले सबै सुरक्षा निकायहरु आपसमा समन्वयात्म ढंगले समूह भावनाका साथ परिचालित भई निर्वाचन सफल बनाउन निर्देशन दिए ।  

उक्त कार्यक्रमपछि गृहमन्त्री अर्यालले बाँकेस्थित पत्रकारहरुसँगको संक्षिप्त भेटघाटका क्रममा सम्बोधन गर्दै निर्वाचनको माहोल राष्ट्रिय रुपमै उत्साहजनक हिसाबले बढिरहेको र बाँकेके हालसम्मको तयारीलेसमेत त्यसैलाई पुष्टि गर्ने बताए ।

कान्तिपुर

Link copied successfully