धरानबासीलाई पानी खुवाउन चाहन्छ रास्वपा : बालेन्द्र शाह

उनले विश्वको पहिलो तिर्थस्थल बराह क्षेत्र भएकाे दाबी गर्दै विश्वलाई यसबारे जानकारी दिन रास्वपाले चाहेको पनि बताए ।

फाल्गुन १२, २०८२

कान्तिपुर संवाददाता

RSP wants to provide water to Dharan residents: Balendra Shah

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले धरानबासीलाई पानी खुवाउने जिम्मा रास्वपाले लिन चाहेकाे बताएका छन् । इटहरीमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै शाहले धरानमा कोशीको पानी खुवाउन वर्षौ अघि खानेपानी आयोजनाको डीपीआर भए पनि अपूरै रहेको र अब रास्वपा सरकारमा गएपछि उक्त आयोजना पूरा गर्ने बताएका हुन् । 

यस्तै, उनले पूर्वी पहाडी जिल्लामा प्रशस्त तरकारी उत्पादन हुने भए पनि पूर्वी तराईका जिल्लामा बोर्डर पारिबाट आयातित तराकारी खान बाध्य भएको बताए । यो समस्याको समाधान अब चाडै नै पूरा हुने उनले घोषणा गरे । उनले पूर्वी तराईका ४ जिल्लामा उत्पादन हुने धानले देशरभरका जनतालाई पुग्ने भए पनि यहीँका जिल्लामा पुर्याउन नसकेको अवस्था छ । सिंचाइ अभाव र बर्खामा आउने बाढीको बलुवाले पुर्ने उनको भनाइ थियो । अब यो सबै समस्याको समाधान गर्न रास्वपाले चाहेको उनले बताए । 

उनले विश्वको पहिलो तिर्थस्थल बराह क्षेत्र भएकाे दाबी गर्दै विश्वलाई यसबारे जानकारी दिन रास्वपाले चाहेको पनि बताए । आफूले लगाएकाे सिलाम सक्मालाई देखाउँदै उनले रास्वपाले पनि सिलाम साक्माले जस्तै नेपाली जनताकाे रक्षा गर्न चाहेकाे बताए । 

कान्तिपुर

Link copied successfully