नेता वर्षमान पुनले आफूलाई नयाँ भन्ने राजनीतिक दललाई आफ्नो विचार, राजनीति र कार्यदिशा स्पष्ट गर्न आग्रह समेत गरेका छन् ।
What you should know
काठमाडौं — नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले लोकप्रियतावादी राजनीति मुलुकका लागि घातक हुन सक्ने बताएका छन् ।
गृह जिल्ला रोल्पाको लिवाङमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा रोल्पाबाट नेकपाका प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका पुनले स्पष्ट विचार, दृष्टिकोण र गन्तव्यबिनाको राजनीतिले मुलुकलाई सही दिशा दिन नसक्ने बताएका हुन् ।
कुन ठाउँमा के बोल्दा मानिसले मन पराउँछन् भन्ने आधारमा बोल्दै हिंड्नेहरूले देशको नेतृत्व लिन नसक्ने उनको भनाइ छ । काठमाडौंमा संघीयताको विरोध गर्ने र जनकपुर पुगेर संघीयता चाहिन्छ भन्ने तथा काठमाडौंबाट सुकुमबासीलाई लखेटेर झापामा पुगेपछि सुकुमबासीको पक्षमा काम गर्छु भन्नेजस्ता असंगत अभिव्यक्ति दिनेहरूबाट कुनै आशा गर्न नसकिने तर्क पुनले गरे । उनले आफूलाई नयाँ भन्ने राजनीतिक दललाई आफ्नो विचार, राजनीति र कार्यदिशा स्पष्ट गर्न आग्रह गरे ।
‘काठमाडौंमा संघीयताको विरोध गर्ने र जनकपुर गएपछि संघीयता चाहिन्छ भन्ने । काठमाडौंमा सुकुमबासी, ठेलागाडामा व्यापार गर्नेहरू र कबाडीको काम गर्नेलाई खेद्ने अनि झापा झरेपछि सुकुम्बासीको पक्षमा छौं भन्ने,’ पुनले भने, ‘जहाँ जसले जे सुन्न चाहेको छ त्यही बोल्ने ‘पपुलिष्ट’ राजनीति घातक छ । हामी नयाँ हौं भन्ने साथीहरूलाई आफ्नो विचार, राजनीति र कार्यदिशा स्पष्ट गर्न म आग्रह गर्न चाहन्छु ।’
यद्यपि, वर्तमान संघीय लोकतान्त्रिक शासन प्रणाली स्वीकार गर्ने स्पष्ट प्रतिबद्धता तथा गणतन्त्रलाई समाजवादसँग जोड्ने, असमावेशीतलाई पूर्ण समावेशीतालामा लैजाने, धनी र गरिबबीचको खाडल पुरेर समानता कायम गर्ने एजेण्डामा समहत भए नयाँ भनिएका दलसँग सहकार्यका लागि तयार रहेको पुनले बताए । ‘हामी नयाँसँग काम गर्न तयार छौं । तर, अहिलेको उपलब्धी खोसेर पछि हट्न खोज्ने नयाँसँग होइन, अहिलेको उपलब्धी जोगाएर अघि बढ्ने नयाँसँग काम गर्न हामी तयार छौं,’ उनले भने ।
पुनले विचार, राजनीति र एजेण्डाले नेपाली कम्युनिष्ट पार्टी नयाँ दल भएको दाबी गरे । आफूहरू यथास्थितिवादी तथा नयाँका नाममा दक्षिणपन्थी लोकप्रियतावादी नभएको बताए । ‘विचारले नयाँ, राजनीतिले नयाँ, एजेण्डाले नयाँ हामी हौं,’ उनले भने, ‘यथास्थितिवादी र नयाँका नाममा दक्षिणपन्थी लोकप्रियतावादी पनि होइनौं हामी । जनताले बुझ्नुपर्ने विषय यो छ ।’
