पार्टीका उम्मेदवार गोविन्द काराखेती अनुशासनको कारबाहीमा परेपछि प्रलोपाले रुपन्देही क्षेत्र नं. ३ मा एमालेका उम्मेदवार वासुदेव घिमिरेलाई सघाउने निर्णय बुधबार सार्वजनिक गरेको हो ।
What you should know
बुटवल — पार्टीले आफ्नै उम्मेदवारलाई कारबाही गरेपछि प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले रुपन्देही क्षेत्र नं. ३ मा नेकपा एमालेलाई सघाउने भएको छ । पार्टीका उम्मेदवार गोविन्द काराखेती अनुशासनको कारबाहीमा परेपछि प्रलोपाले रुपन्देही क्षेत्र नं. ३ मा एमालेका उम्मेदवार वासुदेव घिमिरेलाई सघाउने निर्णय बुधबार सार्वजनिक गरेको हो ।
पार्टीले प्रत्यक्षतर्फ एमालेका उम्मेदवार घिमिरेलाई सूर्य चिह्नमा मतदान गर्न आफ्ना नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई अपिल गरेको छ । पार्टीका क्षेत्रीय इन्चार्ज तथा केन्द्रीय सदस्य रविना भण्डारी र केन्द्रीय सदस्य विमला विकले रुपन्देही क्षेत्र नं. ३ को चुनावी तालमेलसम्बन्धी औपचारिक जानकारी सार्वजनिक गरेका हुन् ।
सार्वजनिक विज्ञप्तिमा कर्णाली प्रदेश तथा साविक राप्तीका केही स्थानमा समेत एमालेसँग चुनावी तालमेल भएको उल्लेख छ । तर, क्षेत्र खुलाइएको छैन । प्रलोपाका केन्द्रीय सदस्य वामदेव क्षेत्रीले अहिले रूपन्देही क्षेत्र नं. ३ मा एमालेका उमेदवारलाई सहयोग गर्ने निर्णय भएको र अन्य क्षेत्रको विषयमा पछि सार्वजनिक गरिने बताए ।
यसअघि माघ २३ गते प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट रुपन्देही-३ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार गोविन्द काराखेतीलाई पार्टीबाट निष्कासित गरिएको थियो । उनलाई पार्टी हितविपरीतका व्यक्तिवादी गतिविधिमा संलग्न भएको भन्दै पार्टीले कारबाही थियो । काराखेतीले आफू प्रलोपाबाट प्रत्यक्ष तर्फको उमेदवार बनेपनि श्रीमतीलाई श्रम संस्कृति पार्टीबाट समानुपातिक उम्मेदवार बनाएको आरोप लागेको थियो ।
यसअघि रूपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ मा जनता समाजवादी पार्टी नेपालका उमेदवार नै एमाले प्रवेश गरेका थिए । जसपा नेपालका उम्मेदवार रहेका श्रीनिवास यादवले उमेदवारी फिर्ता लिँदै एमाले उम्मेदवारलाई सहयोग गर्ने विज्ञप्ति जारी गरेका थिए ।
घिमिरे कांग्रेसका सुशील गुरुङ र रास्वपाका डा. लेखजंग थापासँग प्रतिस्पर्धामा छन् । १ लाख ४० हजार ३५ मतदाता रहेको यो क्षेत्रमा एमाले, कांग्रेस र रास्वपाबीच नै प्रतिस्पर्धा छ । यसअघि रुपन्देही–४ मा उमेदवारी मनोनयनकै दिन कांग्रेसका उमेदवार प्रमोद यादव एमाले प्रवेश गरेका थिए ।
२०७४ मा कांग्रेसबाट निर्वाचित यादव यस पटक पनि कांग्रेसबाट उमेदवार बन्ने तयारीमा थिए । तर, मांघ ६ गते बिहान एमाले प्रवेश गरेपछि अध्यक्ष केपी शर्मा ओलीले यादवलाई नै उम्मेदवारको टिकट दिएका थिए । रुपन्देही–४ मा यादवको प्रवेश र ३ मा श्रीनिवासको प्रवेश र प्रलोपाको समर्थनले एमालेका उमेदवार घिमिरे थप बलियो बन्दै गएको र एमालेको जित सुनिश्चित भएको एमाले जिल्ला अध्यक्ष यज्ञ गैरेले बताए ।
