दाङको बबई र दंगीशरणका स्थानीयले चुनाव बहिष्कारको कुरा किन गरे ?

दाङको बबई गाउँपालिकाका वडा नम्बर १ र ७ तथा दंगीशरण गाउँपालिकाको १ मा जंगली जनावरको प्रत्यक्ष प्रभाव खेप्ने २ हजार मतदाता छन् ।

फाल्गुन ६, २०८२

अमर क्षितिज भण्डारी

Why did the locals of Babai and Dangisharan in Dang talk about boycotting the elections?

What you should know

दाङ — गत शनिबार बबई गाउँपालिका–७ जलजलामा सयौँ स्थानीयहरू भेला भएका थिए । उनीहरू कुनै दलको कार्यक्रममा भेला भएका थिएनन्, न कुनै सभा–समारोहकै लागि उनीहरू जम्मा भएका थिए । बरु उनीहरू त आउने चुनावमा भोट माग्न आउने उम्मेदवारहरूलाई आफूहरूले सामूहिक रूपमा के प्रश्न गर्ने भन्ने विषयमा सहमति जुटाउन भेला भएका थिए । यही भेलामा उनीहरूले वर्षौँदेखि आफ्ना कुरा नसुन्ने अनि आश्वासन मात्रै दिने तर चुनावपछि फर्केर नआउने दलहरूलाई किन भोट दिने भनेर पनि छलफल भयो । छलफलबाट उनीहरू उस्तै परे यो निर्वाचनमा भोट नै नहाल्ने निष्कर्षमा पुगे ।

दाङको बबई गाउँपालिकाका वडा नम्बर १ र ७ तथा दंगीशरण गाउँपालिकाको १ मा जंगली जनावरको प्रत्यक्ष प्रभाव खेप्ने २ हजार मतदाता छन् । तीमध्ये धेरैजसो मतदाताहरू त्यहाँ भेला भएका थिए । पछिल्ला दुई आर्थिक वर्षमा मात्रै ४ सय ५७ घरधुरीको पशु र अन्नबाली वन्यजन्तुले नोक्सान गरेको छ । पीडितको दाबीअनुसार त्यसबाट झन्डै ४५ लाख रुपैयाँको नोक्सानी भएको छ । लगाएको बालीनालीदेखि गोठमा बाँधेका गाईवस्तुसमेत जंगली जनावरले खाइदिनाले यहाँका नागरिकहरू पीडित बनेका छन् । पटक–पटक माग राखे पनि कतैबाट सुनुवाइ नभएपछि उनीहरूले फागुन २१ को निर्वाचन बहिष्कार गर्नेसम्मको चेतावनी दिए ।

Why did the locals of Babai and Dangisharan in Dang talk about boycotting the elections?

स्थानीय चन्द्रबहादुर राङुमगरले बस्ती स्थानान्तरणको मुद्दा नसुल्झाउने हो भने सबै गाउँलेहरूले मतदान नगर्ने निष्कर्षमा पुगेको सुनाए । बबई गाउँपालिका–७ का चिन्ताबहादुर बुढाले पनि चन्द्रकै जस्तो कुरा सुनाए । उनले भने, ‘बाटो र बिजुलीको आश्वासनबाट हामी पीडित छौँ । त्यसैले हामीहरू मतदान नै नदिने भनेर बसेका छौँ ।’

बबई गाउँपालिका–७ जलजलाका ठाकुर प्रसाद वलीका चारवटा गोरू दुई महिनाको फरकमा बाघले खायो । खेतवारी जोत्ने ट्र्याक्टर नपाइने, र हलगोरू बाघले खाइदिएपछि ठाकुरलाई अहिले के गरी बाँच्ने चिन्ता थपिएको छ । उनले प्रश्न गरे, ‘के खाने, के गर्ने ? कसरी बाँच्ने ?’

बबई–७ मलैखोलाका दिलबहादुर परियारको व्यथा पनि ठाकुरको भन्दा फरक छैन । किनकि गत मंसिरमा उनको गोठमै बाँधेको दुई गोरू र दुई सुँगुर बाघले खाइदियो ।

दिलबहादुर र ठाकुरजस्तै यहाँका नागरिकलाई आफ्नो ठाउँमा अब के गरी बस्ने चिन्ता थपिएको छ । २०६५ सालमा बाँके राष्ट्रिय निकुञ्ज स्थापना भएपछि दाङका साविकका पञ्चकुले र पुरन्धारा गाविसका केही भू–भागहरूलाई मध्यवर्ती क्षेत्रका रूपमा घोषणा गरियो ।

निकुञ्ज घोषणासँगै वन्यजन्तुको संख्यामा वृद्धि हुन थाल्यो । आहाराका खोजीमा वन्यजन्तुहरू ३४३ वर्गकिलोमिटरको मध्यवर्ती क्षेत्रका नागरिकहरूले लगाएका विभिन्न बालीनाली खाइदिन थाले । अहिले यहाँका नागरिकहरू राज्यले वन्यजन्तुलाई बढी प्राथमिकता दिएको र आफूहरूलाई बेवास्ता गरेको बताउन थालेका छन् ।

बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पर्ने दाङको बबई गाउँपालिका–१ को जिल्ला, क्वीरेनी, सिमलकुना, वडा नम्बर ७ का जलजला, मलैखोला, माझगाउँ, गौजे, असारे, लामीतारा, दंगीशरण गाउँपालिका–१ को फुर्केशल्लीलगायत क्षेत्रमा बसोबास गर्ने बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका वासिन्दाले वन्यजन्तुबाट आफूहरूलाई सुरक्षित बनाउन भूमिका नखेलेको भन्दै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै पनि उम्मेदवारलाई मत नदिने बताएका छन् ।

अमर क्षितिज भण्डारी

Link copied successfully