उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एसपी शाह नामक व्यक्तिलाई बबरमहल क्षेत्रबाट पक्राउ गरेको एसएसपी सन्तोष खड्काले पुष्टि गरे ।
काठमाडौँ — २१ फागुनमा चुनाव हुँदैन भन्दै अभिव्यक्ति दिएको आरोपमा एसपी शाह नामक व्यक्ति पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई बबरमहल क्षेत्रबाट पक्राउ गरेको एसएसपी सन्तोष खड्काले पुष्टि गरे । उनले सोमबार बेलुकी दुर्गा प्रसाईंलाई पक्राउ गरिएको विरोधमा समेत खरो टिप्पणी गर्दै आएका थिए ।
उनले आफूले ‘प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्याललाई दुर्व्यवहार गरेको’ सपना देखेको भन्दै अभिव्यक्तिसमेत दिएका थिए । उनले ७८ जना युवाको बलिदानले बनेको सरकार भएको भन्दै जेन-जीलाई धोका भएको भन्दै अभिव्यक्ति दिएका थिए । त्यसैले सपनामा आएको कुरा पूरा पनि हुन सक्ने उनले बताएका थिए ।
उनलाई पनि जनतामा त्रास फैलाएको कसुरमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीले मंगलबार चुनावको विरोध गर्ने नेकपा बहुमतका धर्मेन्द्र बाँस्तोलासहित उनका पार्टीका काभ्रे सेक्रेटरीलाई पनि पक्राउ गरेको थियो ।
