चुनावी प्रचार-प्रसारका क्रममा पहिलोपटक सिस्ने गाउँपालिका–२ प्वाङस्थित नायगाढ पुगेका नेकपाका उम्मेदवार तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष स्थानीयले सडक, गुणस्तरीय शिक्षा र स्वास्थ्य सुरक्षाको माग गरे ।
What you should know
रुकुम पूर्व — चुनावी प्रचार–प्रसारका क्रममा पहिलोपल्ट सिस्ने गाउँपालिका–२ प्वाङस्थित नायगाढमा पुगेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट यस क्षेत्रका उम्मेदवार तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष स्थानीयले सडकको सुविधा, गुणस्तरीय शिक्षाका साथै स्वास्थ्य सुरक्षाको माग गरेका छन् ।
मतदाता भेटघाट तथा चुनावी सभा गर्ने क्रममा यहाँ पुगेका दाहाललाई प्वाङबासीका तर्फबाट लिखित मागपत्र बुझाउँदै स्थानीयले हाल पुथाउत्तरगंगा गाउँपालिका १४ देउखोला भन्दा अगाडि बढ्न नसकेको सडकलाई सिस्नेको वडा नं. २ नायगाढ हुँदै वडा नं. १ सिस्ने गाउँबाट डोल्पा जोड्ने सडक, नायगाढबाट पुथाउत्तरगंगा–७ र ८ को चारगाउँ हुँदै खारबाङ–अर्जलबाट मैकोट र पेल्मा जोड्ने सडक र सिस्ने–३ पोखराबाट प्वाङ–सिस्ने हुँदै डोल्पा जोड्ने सडकको रुपमा विकास तथा विस्तार गर्न माग गरिएको सिस्ने–२ का पूर्व वडा अध्यक्ष जीवन केसीले जानकारी दिए ।
उक्त मागपत्रमा सिस्ने–२ कै सानीभेरी नदीमा चुमैजा–पुमा जोडने र पुथाउत्तरगंगाको ७ र ८ मा काशतारा–मानम जोड्ने मोटरेबल पुलको पनि माग गरिएको छ । यसका साथै नायगाढमा अस्पतालका लागि भर्खरै निर्माण सम्पन्न भएको भवनमा विशेषज्ञ चिकित्सक सहितको ५ श्य्याको सुविधा सम्पन्न अस्पतालमा सञ्चालन गर्नुपर्ने, गुणस्तरीय शिक्षाका लागि विद्यालयहरुको विकास र विस्तार गरिनुपर्ने एवम् रोजगारी सिर्जनाका जोड दिनुपर्ने बुँदाहरु उल्लेख गरिएको छ ।
आफ्ना मागबारे थप जानकारी दिँदै अर्का स्थानीय वसन्ती घर्तीले इलाका प्रहरी कार्यालयका लागि स्थानीयले जग्गा प्रदान गरिसकेको तर बजेट अभावमा भवन बन्न नसकेकाले त्यसलाई पनि मागपत्रमा समेटिएको बताइन् । उनले थपिन्, ‘हामीले उहाँ (पुष्पकमल दाहाल) मार्फत आज यी मागहरु प्रस्तुत गर्यौं । यसअघि पनि हाम्रो मत माग्न आउनुभएका एमाले र कांग्रेस लगायत पार्टीका उम्मेदवारलाई पनि यिनै विषयबारे ध्यानाकर्षण गराएका छौं ।’
दाहालले चुनावी सभामा आफ्नो मन्तव्यका क्रममा स्थानीयका उल्लेखित मागहरु आएको र यी पूरा गर्न आफू र आफ्नो पार्टीको तर्फबाट भरपुर पहल गर्ने बताएका छन् । ‘सडक, शिक्षा र स्वास्थ्य सुरक्षाका विषयमा यहाँहरुले राख्नुभएका माग एकदम जायज छन् । यसलाई पूरा गर्नका लागि हामी पहल गर्नेछौं । किनकि यो हाम्रो जिम्मेवारी हो ।’
जिल्लाका अरु स्थानमा सडकको ट्र्याक खोल्ने र जसोतसो सावारी साधानहरु आवतजावत गर्ने अवस्था भएपनि सिस्नेको वडा नं. १ र २ तथा पुथाउत्तरगंगागाको वडा नं. ७ र ८ लगायतका केही वडामा सडक सुविधा पुग्न सकेको छैन । जसका कारण सर्वसाधारणको दैनिकी कठिन छ । यही विषयलाई नै यस भेगका मतदाताले उम्मेदवारहरु समक्ष राख्ने प्रमुख माग बनेको छ ।
