चुनाव जितेर आएपछि पार्टी र शीर्ष नेताको ह्वीप लाग्ने पद्धति बदल्नुपर्छ : सुमना श्रेष्ठ

‘पार्टी र पार्टी सभापतिको ह्वीप मात्रै मान्ने हो भने त ढ्यापढ्यापे सांसद हुन्छ ।'

माघ २७, २०८२

कान्तिपुर संवाददाता

The system of whipping party and top leaders after winning the election should be changed: Sumana Shrestha

काठमाडौँ — राजनीतिकर्मी तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले चुनावबाट निर्वाचित भएर आउने सांसदहरु जनप्रतिनिधि बन्नुपर्ने बताइन् ।

कान्तिपुर कन्क्लेभको 'नीति, नेता र नेतृत्व' विषयक अन्तिम सत्रमा बोल्दै उनले भनिन्, ‘पार्टी र पार्टी सभापतिको ह्वीप मात्रै मान्ने हो भने त ढ्यापढ्यापे सांसद हुन्छ । जनतालाई ढाँट्नु हुँदैन । चुनाव जितेर आएपछि त पार्टी र शीर्ष नेताको ह्वीप लाग्ने पद्धति बदल्नुपर्ने उनले बताइन् ।

‘पार्टीको ह्वीप लगाउने सिस्टम हुँदैन । सांसदले विवेक प्रयोग गर्न पाउनुपर्छ । जनप्रतिनिधि हुनुपर्छ । पार्टी प्रतिनिधि हुने होइन,’ श्रेष्ठले भनिन् ।

दलबिना राजनीति नै हुँदैन भन्ने भाष्य पनि परिवर्तन गर्नुपर्ने उनको भनाइ थियो ।  ‘म सदनबाटै च्यालेन्ज गर्दै आएको छु । नेपाली राजनीतिमा इनोभेट भएन । नयाँ पुरानो सबै पार्टीमा लागू हुन्छ । राजनीतिमा छिरेपछि बाहिर निस्कन हुँदैन र ?’ उनले प्रश्न गरिन् ।

नेपालमा आजीवन राजनीति गर्नु गलत रहेको उनको टिप्पणी थियो । ‘संसद्मा शीर्ष नेताहरु किन अग्रपंक्तिमा बस्नुपर्‍यो ? संसद्मा समानुपातिक सांसद र महिला संसदलाई बोल्न कति समय दिइन्छ ?,’ उनले प्रश्न गरिन् ।

राजनीतिलाई पद प्राप्तभन्दा पनि जिम्मेवारी र कामको रुपमा लिनुपर्ने उनले बताइन् । ‘चुनावका घोषणापत्र भनेको बुद्धविलाशजस्ता भएका छन् । लागू हुँदैन । राजनीतिलाई पदबाहेक जिम्मेवारीको काम हो भनेर ठान्नुपर्छ,’ उनले भनिन् ।

कान्तिपुर संवाददाता

Link copied successfully