ठूला दलहरू मिलेर चुनाव लड्ने स्थितिको अन्त्य भयो : प्रदीप पौडेल

'दुईपटक शपथ ग्रहण गरेको व्यक्तिले तेस्रोपटक प्रधानमन्त्री बन्न नपाउने व्यवस्था गरेका छौं ।'

माघ २७, २०८२

कान्तिपुर संवाददाता

The situation of big parties contesting elections together has ended: Pradeep Poudel

काठमाडौँ — कांग्रेस महामन्त्री प्रदीप पौडेलले कांग्रेसले आफूलाई परिवर्तन गरेर अगाडि आएको बताएका छन् । पार्टीलाई संरचनागत र नीतिगत रूपमा परिवर्तन गरेर आएको उनको भनाइ थियो । 

कान्तिपुर कन्क्लेभको पाँचौं संस्करणको अन्तिम सत्र 'नीति, नेता र नेतृत्व' माथिको छलफलमा महामन्त्री पौडेलले उक्त धारणा राखेका हुन् ।

ठूला राजनीतिक दलहरू मिलेर चुनाव लड्ने स्थितिको अन्त्य गरिएको पनि उनको भनाइ थियो । 'आज पुराना ठूला दलहरू मिलेर चुनाव लड्ने स्थिति छैन । लोकतन्त्रको सीमालाई साँघुर्‍याएको स्थिति थियो त्यो त कांग्रेसले आफूलाई परिवर्तन गरेको कारणले सम्भव भएको हो,' महामन्त्री पौडेलले भने, 'लामो समयसम्म नेतृत्वमा एउटै व्यक्ति रहिरहने स्थिति थियो । त्यसलाई अभ्यास र विधानबाट अन्त्य गर्ने स्थिति बनाएका छौं । दुईपटक शपथ ग्रहण गरेपछि तेस्रोचोटि त्यही व्यक्तिले प्रधानमन्त्रीका रूपमा शपथ लिन पाउनेछैन । हामीले प्रस्ट ढंगबाट त्यो लेखेर आएका छौं ।'

पार्टीमा व्यापक नीतिगत परिवर्तन र राज्यका निकायहरूमा पनि त्यसै खालको परिवर्तनको प्रतिबद्धता व्यक्त गरिएको महामन्त्री पौडेलको भनाइ थियो ।

कान्तिपुर

Link copied successfully