। संघीयता लागू भएको आठ वर्ष भइसके पनि प्रदेशले वास्तविक सरकारको हैसियत पाउन नसकेको उनले दाबी गरेका छन्।
काठमाडौँ — बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकार अझै बन्न नसकेको बताएका छन्। संघीयता लागू भएको आठ वर्ष भइसके पनि प्रदेशले वास्तविक सरकारको हैसियत पाउन नसकेको उनले दाबी गरेका छन्।
‘संविधानले केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकार भन्ने व्यवस्था गरेको छ। स्थानीय सरकार छ। केन्द्र सरकार छ। तर प्रदेश संरचना छ, प्रदेश सरकार छैन,’ कान्तिपुर कन्क्लेभको संघीयता: संरचना मात्र कि संवाहक पनि ? सत्रमा उनले भने।
उनले थप, ‘सरकार हुनको लागि प्रहरी चाहिन्छ, निजामती कर्मचारी चाहिन्छ, भूगोलको अधिकार चाहिन्छ, भूमिसम्बन्धी अधिकार चाहिन्छ, वनसम्बन्धी अधिकार चाहिन्छ। यी मध्ये कुनै अधिकार प्रदेश सरकारसँग छैन। त्यस कारण यो प्रदेश सरकार होइन, प्रदेश संरचना मात्रै हो।’
बानियाँले संघीय गणतन्त्र ल्याउने नेतृत्वहरूले संघीयता लागू गर्न ढिला गरेको बताए। ‘प्रदेशको एकल अधिकार, सहअस्तित्व, सहकार्यको विषयमा अक्षरशः कार्यान्वयन नगर्दा संघीयता नचाहनेलाई गोडमेल गर्ने ठाउँ पाए,’ उनले भने, ‘त्यसको मारमा हामी परेका छौं।’
नेपाली कांग्रेस बागमती प्रदेशका सभापति समेत रहेका बानियाँले आफ्नै दलको मुख्यमन्त्री बहादुर लामालाई हटाउनुको पछाडि सरकार सञ्चालनमा देखिएको कमजोरीसँग सम्बन्ध रहेको बताए। ‘लोकतन्त्रमा नेतृत्वबीच रस्साकस्सी हुन्छ। प्रदेशको व्यवस्था राम्रोसँग भएन। बजेट वितरण मुख्यमुखी भयो। जनमुखी, गाउँमुखी, विकासमुखी नभएपछि सरकार बदल्नुपर्छ भनेर पार्टीको सभापतिको हैसियतमा म लागेकै हो,’ उनले भने।
