मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले नागरिकको सेवा गरेको बताए।
काठमाडौँ — लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनता प्रदेश सरकार चाहिन्छ भन्ने पक्षमा रहेको बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित कान्तिपुर कन्क्लेभ : संघीयता संरचना मात्र कि संवाहक पनि ? विषयक सत्रमा बोल्दै उनले प्रदेश सरकारले जनतामा आशा जगाएको जानकारी दिए।
‘जेन-जी आन्दोलनमा लुम्बिनी प्रदेशको सरकारी संरचना जलेन। मेरो घर जलाइयो। कुनै राजनीतिक दलका आबद्धहरूले मेरो घर जलाए,’ उनले भने, ‘लुम्बिनी प्रदेशका जनता प्रदेशको पक्षमा छन्।’
मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले नागरिकको सेवा गरेको बताए। ‘सुशासन र भ्रष्टाचार न्यूनीकरणका लागि लुम्बिनी प्रदेशले काम गरेको छ। त्यही एजेन्डा जेन-जी आन्दोलनमा उठ्यो। प्रदेश मन्त्रीलाई आचारसंहिता लागू गरिएको छ। पारदर्शी ढंगले काम गरेका छौँ। आर्थिक मितव्ययिता अपनाएका छौँ। मुख्यमन्त्री र प्रदेशमन्त्रीले सुविधाहरू कटौती गरेका छौँ,’ उनले भने।
लुम्बिनी प्रदेश सरकारले १२ महिना ५५ प्रतिशत जमिनमा सिँचाइको व्यवस्था मिलाएको पनि उनले जानकारी दिए। ‘९५ प्रतिशत घरधुरीमा खानेपानीको धारा पुर्याएका छौँ। १२ सय शय्याको सुविधासम्पन्न अस्पताल बुटवलमा निर्माणाधीन छ,’ उनले थपे। ‘राजश्व संकलन वृद्धि भएको छ। ४ अर्ब राजश्वलाई बढाएर साढे ५ अर्ब संकलन गर्न थालेका छौँ।’
