नेपाललाई थप हवाई रुट प्रयोगको अनुमति दिने विषय भारतका लागि संवेदनशील रहेको कुम्चाको भनाइ थियो ।
काठमाडौँ — नेपालमा जोसुकै पार्टी सत्तामा आएपनि राजनीतिक स्थायित्व र संस्थागत निरन्तरताको अपेक्षा भारतले राखेको अनुसन्धानकर्ता स्नेहा कुम्चाले बताएकी छन् ।
भारतको एमपी–आईडीएसएकी अनुसन्धानकर्ता कुम्चाले कान्तिपुर कन्क्लेभको दोस्रो दिन मंगलबार 'शक्तिको रस्साकसीमा नेपाल' सत्रमा नेपालमा हुने राजनीतिक परिवर्तनले दुई देशबीचको दीर्घकालीन नीतिमा असर पर्ने बताइन् । 'भारतले नेपालमा राजनीतिक स्थायित्व र संस्थागत निरन्तरताको अपेक्षा गर्छ । काठमाडौंमा बारम्बार हुने राजनीतिक परिवर्तनले दीर्घकालीन नीतिगत प्रतिबद्धतामा गम्भीर असर पार्छ,' उनले भनिन् ।
नेपालको शासन सत्तामा जुनसुकै पार्टी आएपनि भारत काम गर्न तयार रहेको पनि कुम्चाको भनाइ थियो । 'कुनै दल सत्तामा भए पनि भारत सहकार्य गर्न तयार छ । नेपालले विगतका सम्झौता र प्रतिबद्धताहरूको सम्मान गरी तिनको निरन्तरता कायम राख्न सके भने भारत कुनै पनि दलसँग काम गर्न तयार छ,' उनले भनिन् ।
त्यस्तै, नेपाललाई थप हवाई रुट प्रयोगको अनुमति दिने विषय भारतका लागि संवेदनशील रहेको पनि कुम्चाको भनाइ थियो । उनले भारतसँग नेपालले अर्थतन्त्र, व्यापार वा कनेक्टिभिटीमार्फत देशलाई आर्थिक उन्नतिमा लैजाने कुरा गर्दा खुला संवाद आवश्यक रहेको बताइन् । उनले दुई देशबीच सम्बन्ध बिस्तार गर्नका लागि पारदर्शिता आवश्यक रहेको पनि बताइन् । नेपालले अन्य विश्व शक्तिहरूलाई कसरी सम्हाल्ने भन्ने कुरा स्पष्ट पार्नुपर्ने पनि उनको भनाइ थियो ।
