नेपालको स्वतन्त्रता जोगाउन परराष्ट्र नीति बलियो बनाउनुपर्छ : मृगेन्द्र कार्की

'अरू देशबाट लगानी आउँदै गर्दा राजनीतिक र आर्थिक सर्तहरू हुने भएकाले राष्ट्रिय हित र आन्तरिक अखण्डताको सुरक्षा सुनिश्चित गर्नुपर्छ ।'

माघ २७, २०८२

कान्तिपुर संवाददाता

Foreign policy should be strengthened to protect Nepal's independence: Mrigendra Karki

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयको सेन्टर फर नेपाल एन्ड एसियन स्टडिज (सिनास) का कार्यकारी निर्देशक मृगेन्द्र कार्कीले नेपालले विदेश नीति निर्माण गर्दा आफ्नो स्थिति र राष्ट्रिय हितलाई ध्यानमा राख्नुपर्ने बताएका छन् ।

‘कान्तिपुर कन्क्लेभ–२०२६’ अन्तर्गत दोस्रो दिनको तेस्रो सत्र 'शक्तिको रस्साकसीमा नेपाल’ मा बोल्दै कार्कीले नेपालको स्थिति र राष्ट्रिय हितको ख्याल राखेर होसियार रही त्यसका लागि आफ्नै विदेश नीति निर्माण गर्न आवश्यक रहेको  बताएका हुन् । कार्कीले नेपालले धेरै कम लगानी गरिरहेको र अन्य देशबाट पैसा लिएर आफ्नो विकासलाई अघि बढाउने सीमित दृष्टिकोण रहेको टिप्पणी गरे । 

उनका अनुसार अरू देशबाट लगानी आउँदै गर्दा राजनीतिक र आर्थिक सर्तहरू हुने भएकाले राष्ट्रिय हित र आन्तरिक अखण्डताको सुरक्षा सुनिश्चित गर्नुपर्छ । परराष्ट्र नीतिमा सावधानी अपनाउन आवश्यक छ । 'यदि हामी आफ्नो परराष्ट्र नीति सही तरिकाले बनाउँदैनौं भने हाम्रो आन्तरिक क्षेत्रीय अखण्डता जोखिममा पर्न सक्छ,' उनले  भने, 'भारत र चीनसँगकाे सम्बन्धमा थप हाेसियार बन्नुपर्छ ।'

नेपालको मुख्य चुनौती विश्व शक्तिहरूसँग सम्बन्ध विस्तार गर्दै जाँदा आफ्नो स्वतन्त्रता, सार्वभौमिकता र पहिचान जोगाउनु रहेको उनले बताए ।

कान्तिपुर संवाददाता

Link copied successfully