'हाल नेपाल र भारत सम्बन्ध वास्तवमै अर्थतन्त्र र संस्थागत विकासमा आधारित हुँदै गएको छ ।'
काठमाडौँ — दक्षिण एसियामा आफूमात्रै खेलाडी नभई धेरै खेलाडी रहेको कुरा नयाँ दिल्लीले बुझेको अनुसन्धानकर्ता स्नेहा कुम्चाले बताएकी छन् ।
कान्तिपुर कन्क्लेभको दोस्रो दिन मंगलबार 'शक्तिको रस्साकसीमा नेपाल' सत्रमा भारतको साउथ एसिया सेन्टर, एमपी-आईडीएसएकी अनुसन्धानकर्ता कुम्चाले दक्षिण एसियामा अन्य खेलाडी पनि रहेको बुझेरै नयाँ दिल्लीले आफ्ना कदम चालिरहेको बताइन् । 'नयाँ दिल्लीले दक्षिण एसियामा धेरै खेलाडीहरू छन् भन्ने कुरा बुझेको छ,' उनले भनिन् ।
दक्षिण एसियामा अन्य खेलाडी रहे पनि आफ्नो उपस्थिति रहने कुरा पनि नयाँ दिल्लीलाई राम्रोसँग थाहा रहेको कुम्चाको भनाइ थियो । भारतले दक्षिण एसियामा अन्य शक्ति राष्ट्रको उपस्थिति रहेपनि आफ्नो प्रासंगिकतालाई मध्यनजर गरेरै आत्मविश्वासका साथ कदम चालिरहेको उनले बताइन् ।
अनुसन्धानकर्ता कुम्चाले भारतले नेपालसँग गर्ने सम्बन्धलाई पछिल्लो समय परिवर्तन गर्दै गएको बताइन् । कुम्चाले भनिन्, 'पाँच वर्षअघिसँग तुलना गर्दा, हाल नेपाल र भारत सम्बन्ध वास्तवमै अर्थतन्त्र र संस्थागत विकासमा आधारित हुँदै गएको छ ।'
