नेपालले भारतसँगको सम्बन्धलाई पुनर्परिभाषित गर्दै छ : मृगेन्द्र कार्की

'विश्व शक्तिहरूसँग संलग्न हुँदा आफ्नो स्वतन्त्रता, सार्वभौमिकता र पहिचानलाई नेपालले कसरी जोगाउँछ ?'

माघ २७, २०८२

कान्तिपुर संवाददाता

Nepal is redefining relations with India: Mrigendra Karki

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय सेन्टर फर नेपाल एन्ड एसियन स्टडिज (सिनास) का कार्यकारी निर्देशक मृगेन्द्र कार्कीले भारतसँगको गहिरो सम्बन्ध अझै कायम रहेको बताएका छन् ।

कान्तिपुर कन्क्लेभको दोस्रो दिनको तेस्रो सत्र ‘शक्तिको रस्साकसीमा नेपाल’ मा बोल्दै उनले नेपाल अब एउटै दिशातर्फ मात्र हेर्ने अवस्थामा नरहेको बताए ।

'नेपाल र भारततर्फ दुवै देशका प्रधानमन्त्री, नागरिक अगुवा, कुटनीतिज्ञले नेपाल भारत सम्बन्धबारे भेग कुरा गरेका छन् । खासमा हाम्रो सम्बन्ध अनन्त छ, पुरानो छ । अहिले नेपालले भारतसँगको सम्बन्धलाई पुनर्परिभाषित गर्दै छ,' उनले भने, 'चीन पछिल्लो समय अझ फरक तरिकाले अघि बढेको छ । कनेक्टिभिटी, पूर्वाधार विकास बढेका छन् । यसले नेपालका लागि अवसर मात्र होइन, रणनीतिक प्रश्नहरू पनि प्रस्तुत गरेको छ ।'

अमेरिकाले भने अझै पनि लोकतन्त्र, मानवअधिकार र स्वतन्त्रताको मुद्दालाई प्राथमिकतामा राख्दै आफूलाई प्रस्तुत गरिरहेको उनले बताए । त्यसैले नेपाल अहिले एकातिर चीनबाट आउने आर्थिक विकासका अवसरहरू सन्तुलन गर्दै, अर्कोतिर अमेरिकाले जोड दिने लोकतन्त्र र स्वतन्त्रताका मूल्यहरूसँग पनि संलग्न हुनुपर्ने अवस्थामा रहेको उनको भनाइ थियो । 

'मुख्य प्रश्न भनेको नेपालले यो अवस्थालाई कसरी व्यवस्थापन गर्छ ? विश्व शक्तिहरूसँग संलग्न हुँदा आफ्नो स्वतन्त्रता, सार्वभौमिकता र पहिचानलाई कसरी जोगाउँछ ? भन्ने नै हो,' उनले भने ।

कान्तिपुर संवाददाता

Link copied successfully