चीनले कनेक्टिभिटीमार्फत सहकार्य प्रवर्धन गर्न चाहेको छ : गाओ लियाङ

'चीन सरकारले छिमेकी देशहरूको समृद्धि चीनको बाह्य वातावरणको स्थिरतासँग सम्बन्धित रहेको विश्वास गर्छ ।'

माघ २७, २०८२

कान्तिपुर संवाददाता

China wants to promote cooperation through connectivity: Gao Liang

काठमाडौँ — चीनको सिचुआन विश्वविद्यालयको नेपाल सेन्टरका उपनिर्देशक गाओ लियाङले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को कुरा गर्दा यसलाई प्रायः गलत रूपमा बुझिने गरेको बताएका छन् ।

कान्तिपुर कन्क्लेभको दोस्रो दिनको तेस्रो सत्र 'शक्तिको रस्साकसीमा नेपाल' मा बोल्दे उनले भने, 'चिनियाँ दृष्टिकोणबाट हेर्दा, यो दीर्घकालीन सोचसहितको योजना हो ।'

चीनका लागि विकास र स्थिरता आपसमा गहिरो रूपमा जोडिएको उनको भनाइ थियो । 'चीन सरकारले छिमेकी देशहरूको समृद्धि चीनको बाह्य वातावरणको स्थिरतासँग सम्बन्धित रहेको विश्वास गर्छ । यसमा नेपाल पनि पर्छ । यदि छिमेकी देशहरूले बढी स्थिरता र विकास हासिल गर्छन् भने यसले क्षेत्रीय विकासका लागि सुरक्षित र सकारात्मक वातावरण सिर्जना गर्छ,' उनले भने ।

चीनले कनेक्टिभिटीमार्फत सहकार्य प्रवर्धन गर्न चाहेको उनले बताए । 'यसरी विकास केवल आर्थिक वृद्धिमा सीमित हुँदैन, बरु स्थिर बाह्य वातावरण निर्माण गर्ने प्रक्रियासँग पनि सम्बन्धित हुन्छ । यस विषयमा अझ विस्तृत रूपमा छलफल गर्न सकिन्छ,' उनले भने, 'चीनले क्षेत्रीय विकास र छिमेकीसँगको सहकार्यलाई गहिरो रूपमा परस्पर जोडिएको विषयका रूपमा हेर्छ भन्ने कुरा बुझ्न महत्वपूर्ण छ ।'

कान्तिपुर संवाददाता

Link copied successfully