समयसँगै समाज चलायमान भइरहेको छ : भुसाल

नेपालमा आर्थिक र राजनीतिक उकुसमुकुस जेन-जीको नाममा आएको भुसालले बताए ।

माघ २६, २०८२

कान्तिपुर संवाददाता

Society is evolving with time: Bhusal

What you should know

काठमाडौँ — समाजको परिवर्तन समयसँगै भइरहेको नेता घनश्याम भुसालले बताएका छन् । कान्तिपुर कन्क्लेभको पाँचौँ संस्करणको 'विचारधाराको अन्त्य ? : नेपाली राजनीतिको रेट्रोफिटिङ' सत्रमा भुसालले समयको परिवर्तनसँगै समाज चलायमान र भइरहेको बताए ।

विगतभन्दा वर्तमान र वर्तमानभन्दा भविष्य परिवर्तन भइरहेको भुसालको भनाइ छ । 'जति समय बित्दै छ, समाज त्यति नै चलायमान हुँदैछ । म र मेरो बुबा युवा हुँदाका अवस्थाका कुरा गरेर हुँदैन । मेरो बुबा युवा हुँदा ४/५ वर्षमा सकिने काम म युवा हुँदा एक वर्षमै सकिन्थ्यो होला । अहिले ६ घण्टामा भइदिन्छ,' भुसालले भने । 

अघिल्लो पुस्ताको असन्तुष्टिको कुरा अहिलेको समयमा गरेर नहुने भुसालको भनाइ थियो । संविधानले मौलिक अधिकार, रोजगारीको ग्यारेन्टी गरेको तर कार्यान्वयन नभएको उनले बताए । संविधानले सुनिश्चित गरेका कुरालाई जनताले मागिरहेको उनको धारणा छ । 'समृद्धि र समानताबीचको भिन्नतालाई छुट्याउन सकेनौं भने यो आन्दोलन जेन-जीको नाममा आयो । अर्को आन्दोलन अर्को नाममा आउँछ,' उनले भने ।

त्यस्तै, जताततै विवाद र बहस भइरहेको पनि भुसालको भनाइ छ । 'पार्टीभित्रै विवाद, पार्टी र समाजबीच विवाद । यस्तै चल्दै थियो । भूकम्प, त्यसको पराकम्प नसकिँदै कोरोना आयो । यी सबै कुराले गर्दा समाजको ड्राइभिङ फोर्स मध्यम वर्ग हो, त्यो वर्गमा छटपटी र निराशा छाइरहेको थियो । समाजको सबै उकुसमुकुस जहाँ केन्द्रित थियो त्यही आन्दोलनमा निस्कन्छ भन्ने पनि हुँदैन रहेछ,' उनले भने ।

जेन-जीको आन्दोलनका नाममा समाजले कमजोर कडीलाई फेला पारेर आफ्ना असन्तुष्टि पोखेको भुसालको भनाइ थियो । नेपालमा आर्थिक र राजनीतिक उकुसमुकुस जेन-जीको नाममा आएको भुसालले बताए ।

जेन-जी आन्दोलनको कारक राजनीतिक दृष्टिबाट मात्रै हेर्ने भन्दा पनि आर्थिक राजनीतिक अवधारणाबाट हेर्दा यसको अवस्था अझ प्रष्ट र छिटो देखिने उनको भनाइ थियो । 'हाम्रो विकास, विकासको अवस्था र संविधानले बढाएको आकांक्षाहरू, ती आकांक्षाहरू आफैंमा ठूलो शक्ति र सामर्थ्य हो जस्तो लाग्छ । संविधानपछि केही फरक मतका बाबजुद बनेको पछिल्ला राजनीतिक कामहरूले गर्दा त्यो आकांक्षाले बाटो पाएन । यसले ठूलो फ्रस्ट्रेसन आयो ।  जति मान्छेमा आशा र उत्साह आउँछ त्यो पूरा नभएपछि त्यही किसिमको निराशा आउँछ,' भुसालको भनाइ थियो ।  

पछिल्लो समय प्रविधिको तीव्र विकाससगै समाज अझ चलायमान बन्दै गएको पनि बताए । ‘प्रविधि पछाडि भए पनि समाज अगाडि बढिरहेको छ । पुस्ता परिवर्तनसँगै समाज पनि परिवर्तन भएको छ,’ उनले भने ।

देशका नागरिकको जीवनस्तरमा परिवर्तन ल्याउनुपर्ने भुसालको भनाइ छ । 'हाम्रो जस्तो समाजमा अरु जतिसुकै सुन्दर सिद्धान्तका कुरा गरे पनि वास्तविक व्यक्तिगत जीवन भनेको घर बस्ने, खाने, डुल्ने नै हो । आजको नेपालीलाई  नयाँ जिन्दगी दिने वाचा पुरानो हो । राजा महेन्द्रदेखि ओली र प्रचण्डसम्मले गरेका वाचा हुन् । ती वाचाहरू पूरा भएनन्,' भुसालले भने, 'संविधानमा अधिकार लेखिएको छ । त्यो लेखिएको पाएन भने बन्द गर्ने, हड्ताल गर्न, विरोध गर्न संगठित हुन पनि पाइने संविधानमै लेखिएको छ । समाज कसरी व्यवस्थापन हुन्छ भन्दा नयाँ जिन्दगी दिनुपर्छ । संविधानको संकट, नागरिक र संविधानबीचको विरोधाभाष हाम्रो जस्तो समाजको निसन्देह रोजगारी र सुशासन हो ।'

वर्तमान अवस्थामा सबै कुरालाई व्यवस्थापन गरेर अगाडि बढ्ने रहेको भुसालको भनाइ छ ।  

कान्तिपुर संवाददाता

Link copied successfully