'कमेडी नभए सत्ता अहम्कारी र निरंकुश हुन्छ । जनताको मनबाट डर हटाउने काम कमेडियनले गर्छ ।’
काठमाडौँ — हास्य कलाकार प्रभात लामाले कमेडीसँग जहिले पनि सत्ता डराउने बताएका छन् । सत्तालाई खबरदारी गर्न नै कमेडीको केन्द्रबिन्दुमा राजनीतिक विषयवस्तु पर्ने गरेको उनले जनाए ।
कान्तिपुर कन्क्लेभ २०२६ को चौथो सत्र 'आफैंमाथि व्यङ्ग्य लेख्दै नेपाली राजनीति' सत्रमा उनले भने, ‘कमेडीलाई सत्ताले सधैं हल्का रुपमा लिन्छ । किनकि कमेडीसग सत्ता जहिले पनि डराउँछ । कमेडी नभए सत्ता अहम्कारी र निरंकुश हुन्छ । जनताको मनबाट डर हटाउने काम कमेडियनले गर्छ ।’
संसारभर नै निरंकुश सत्तालाई कमेडीले कमजोर बनाउने काम गरेको लामाले बताए । ‘कमेडी बन्द भए विचार र प्रश्न बन्द हुन्छ । जनता डराउन थाल्छन् । जनता डराए राजनीतिक परिवर्तन हुन सक्दैन,’ उनले थपे, ‘कमेडीले परिवर्तन ल्याउन सक्छ । नेपालको परिवर्तनमा पनि कमेडीको भूमिका छ ।’ कमेडीले राजनीतिमा जवाफदेहिता खोज्दै शासकलाई निरंकुश हुनबाट रोकेको उनले जनाए ।
