'राजनीतिमाथि व्यंग्य गर्दा जेल जानुपर्ने अवस्था आउनु राम्रो होइन।'
What you should know
काठमाडौँ — हास्य कलाकार आदर्श मिश्रले राजनीतिक व्यंग गर्दा सोच्नुपर्ने आवश्यकता नभएको बताएका छन् । नेताहरूले सोचेर भाषण नगर्ने भएकाले हास्य कलाकारले पनि राजनीतिक व्यंग गर्दा सोच्न आवश्यक नहुने मिश्रको भनाइ थियो ।
कान्तिपुर कन्क्लेभको पाँचौं संस्करणको 'आफैंमाथि व्यङ्ग लेख्दै नेपाली राजनीति' सत्रमा मिश्रले नेताहरूका भाषण हेरेको र त्यहाँ नेताहरू सोचविचार नगरी बोल्ने गरेको बताए । 'राजनीतिक व्यंगहरू सोचेर बोल्नुपर्छ लाग्दैन किनकि हाम्रो देशका नेता सोचेर बोल्दैनन् । मैले धेरैका भाषणहरू हेरेको छु, १५-२० मिनेट,' मिश्रले भने, 'म सबैभन्दा बढी हाम्रो देशका नेताहरू बोल्दा हाँस्छु । धेरै कुराहरू भन्नुहुन्छ उहाँहरूले ।'
विश्वभर राजनीतिक व्यंग्य यसरी नै भइरहेको मिश्रको भनाइ थियो । देशअनुसार हास्य व्यंगको प्रभाव र त्यसले निम्त्याउने प्रतिक्रिया भने फरक-फरक रहेको उनले बताए ।
राजनीतिमाथि हास्यव्यंग गर्दा जेल जानुपर्ने अवस्था आइरहेको मिश्रको भनाइ थियो । भारतमा राजनीतिक नेतामाथि हास्यव्यंग गर्दा जेल जानुपर्ने स्थिति रहेको र नेपालमा पनि त्यो अवस्था रहेको उनले बताए ।
जोक 'ट्विस्टेड वा ब्लेन्डेड' हुनुपर्छ जस्तो आफूलाई नलागेको बताउँदै मिश्रले हास्यव्यंग जुन भावमा लेखिएको हो त्यसैअनुसार प्रस्तुति गर्नुपर्ने बताए ।
हास्यव्यंगमा भाषागत अवरोध नहुने पनि मिश्रको भनाइ छ । ‘कमेडीमा भाषागत अवरोध हुँदैन,’ उनले भने, ‘कुनै मान्छे केराको बोक्रामा चिप्लेर लड्छ, त्यो हेर्नेहरु हाँस्छन् । तर लडेको मान्छेलाई चोट लाग्छ, त्यही हो ।’
वर्तमान समयमा मान्छेहरू फुर्सदमा नरहेको पनि उनले बताए । 'मलाई वान लाइनहरू मन पर्छ । मान्छेसँग त्यति धेरै धैर्यता छैन कि पूरै कुरा सुनून् अहिलेको समयमा । १५ सेकेन्डको रिल त हेर्न सक्दैन अहिलेको मान्छेले भनेपछि मेरो डेढ मिनेटपछि आउने जोकमा त कसले ध्यान दिन्छ होला ?,' उनले भने ।
हास्यव्यंगको स्रोतमा कमी नरहेको पनि मिश्रको भनाइ थियो । 'म हरेक दिन समाचार पढिरहेको हुन्छु, हरेक समाचार मलाई हास्यव्यंग्यको पञ्चलाइन लाग्छ । अस्ति मैले पढिरहेको थिए- देश ७३.६ बिलियन ट्रेड डेफिसिटमा गयो । यो राम्रो जोक हो । यसमा त थप्न केही पनि पर्दैन, यत्ति पढे पुग्छ,' उनले भने ।
