सामाजिक सञ्जाल- सामाजिक जञ्जालका रूपमा विकसित भयो : हरि शर्मा

‘जेन–जी’ पुस्तालाई कसरी हेर्ने भन्ने विषय आफूलाई जटिल लाग्ने गरेको उनले स्वीकार गरे ।

माघ २६, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — राजनीतिक विश्लेषक हरि शर्माले प्रविधि, नयाँ मिडिया र पुस्तागत परिवर्तनले नेपाली राजनीतिमा ठूलो परिवर्तन ल्याएको बताएका छन् ।

‘कान्तिपुर कन्क्लेभ–२०२६ को पाँचौं सत्र ‘विचारधाराको अन्त्य ? :  नेपाली राजनीतिको रेट्रोफिटिङ’ शीर्षकको सत्रमा बोल्दै शर्माले सामाजिक सञ्जाल अब केवल सञ्चारको माध्यम नभई ‘सामाजिक जञ्जालको रूपमा विकसित भएको बताए ।

उनका अनुसार प्रविधिको विकासले समय र स्थानको दुरी घटाइदिएको छ, जसले राजनीतिक गतिविधि र जनसम्पर्कको स्वरूप नै परिवर्तन गरिदिएको छ। 'पहिले मान्छे जम्मा गर्नै गाह्रो हुन्थ्यो,' उनले भने, 'तर प्रविधिका कारण अहिले समय र स्थानको दुरी कम भएको छ।' नयाँ मिडियाको प्रभावले स्थानसँग जोडिएका तर हामीले अझै पूर्ण रूपमा नबुझेका नयाँ परिदृश्यहरू देखिन थालेको उनको भनाइ थियो।

सत्रमा उनले ‘जेन–जी’ पुस्तालाई कसरी हेर्ने भन्ने विषय आफूलाई समेत जटिल लाग्ने गरेको स्वीकार गरे।

कान्तिपुर कन्क्लेभ–२०२६मा विचारधारा, प्रविधि, मिडिया र पुस्तागत परिवर्तनले नेपाली राजनीतिमा पारेको प्रभावबारे विभिन्न सत्रमार्फत छलफल भइरहेको छ।

कान्तिपुर कन्क्लेभ–२०२६

कान्तिपुर

Link copied successfully