जेन-जी आन्दोलन विस्फोट भएपछि राज्यसत्ता र भूराजनीतिक शक्ति एउटै ठाउँमा आए : सीके लाल

'असन्तुष्टिलाई सम्बोधन गर्ने कुनै राजनीतिक दल भइदिएको भए उसले कार्यसूची लिएर आउँथ्यो । संगठन परिचालन गर्थ्यो, त्यसको दृश्य नेतृत्व हुन्थ्यो ।'

माघ २६, २०८२

कान्तिपुर संवाददाता

After the explosion of the Gen-G movement, state power and geopolitical power came together: CK Lal

What you should know

काठमाडौँ — नेपालमा भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनको व्यवस्थापन राम्रोसँग भएको राजनीतिक विश्लेषक सीके लालले बताएका छन् ।

कान्तिपुर कन्क्लेभको पाँचौं संस्करणमा सोमबार 'नेपाली क्रान्तिको यात्रा : विगतको विवेचना, आगतको आकलन' सत्रमा विश्लेषक लालले जेन-जी आन्दोलन कार्यसूचीको नभई नाराको भएको पनि टिप्पणी गरे ।

नेपालीहरूले विगतदेखि नै ब्रान्डको राजनीति गर्दै आएको र जेन-जी आन्दोलन पनि त्यसैको निरन्तरता भएको लालको भनाइ थियो । 'नेपालीहरूलाई ब्रान्ड बडो मन पर्छ, चाइनाको नक्कली भएपनि ब्रान्डचाहिँ लगाउनुपर्ने । राजनीतिक कुरामा पनि ब्रान्ड एउटा लिनुपर्ने । अहिले ब्रान्ड के लियो भने जेन-जी । जेन-जी आन्दोलन नेपालको होइन, नव युवाहरूको । त्यो विरोध प्रदर्शनबाट सुरु भयो । विरोध प्रदर्शनको व्यवस्थापन गर्ने क्षमता थिएन,' लालले भने, 'विरोध प्रदर्शनको व्यवस्थापन हुन नसकेपछि विस्फोट भयो । जब विस्फोट भयो तब राज्यसत्ता र भूराजनीतिक शक्ति एउटै ठाउँमा आए । यसलाई विद्रोह, आन्दोलन वा क्रान्तितिर नजाउँ भनेर व्यवस्थापनचाहिँ राम्रोसँग गरे ।'

जेन-जी आन्दोलन नाराबाट सुरु भएकाले के हासिल भयो भन्ने प्रश्न गर्नु नै निरर्थक हुने लालको भनाइ थियो । 'जेन-जी आन्दोलन नाराबाट सुरु भएको थियो, कार्यसूचीबाट भएको थिएन । त्यसैले तपाईंको एजेन्डा के थियो के हासिल भयो भन्ने प्रश्न नै निरर्थक हो । त्यो प्रश्न थिएन । प्रश्न असन्तुष्टि थियो । असन्तुष्टिप्रति विरोध प्रदर्शन थयो,' उनले भने । 

नेपालमा जेन-जी आन्दोलन भ्रष्टाचार, नेपो किड्स, तीन जना मिलेर १० वर्षदेखि म्युजिकल चेयर खेल्दखाको गोलचक्करका कारण भएको लालको भनाइ थियो । 'असन्तुष्टि त व्यापक थियो त्यसलाई इन्कार गर्न सकिँदैन तर असन्तुष्टिलाई सम्बोधन गर्ने कुनै राजनीतिक दल भइदिएको भए उसले कार्यसूची लिएर आउँथ्यो । उसले संगठनलाई परिचालन गर्थ्यो, त्यसको दृश्य नेतृत्व हुन्थ्यो, नियनत्र्ण गर्न सक्थ्यो गतिमाथि नियन्त्रण लिन सक्थ्यो, दिशा सकरात्मक बनाउन सक्थ्यो तर असन्तोषको विस्फोट भएर टुंगियो,' उनले भने । 

कान्तिपुर संवाददाता

Link copied successfully