नेपालका विभिन्न राजनीतिक आन्दोलन पनि योजनाबद्ध तयारीसहित अघि बढेको इतिहास उनले सुनाए ।
काठमाडौँ — राजनितिक विश्लेषक सीके लालले विद्रोह वा क्रान्ति कुनै आकस्मिक घटना नभई तयारीसहित हुने प्रक्रिया भएको बताएका छन् ।
‘कान्तिपुर कन्क्लेभ–२०२६’मा 'नेपाली क्रान्तिको यात्रा विगतको विवेचना, आगतको आकलन’ विषयमा बोल्दै उनले क्रान्ति स्वाभाविक प्रक्रिया भए पनि त्यसको पछाडि व्यापक तयारी हुने गरेको तर्क गरे। विगतका आन्दोलनलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै उनले नेपालका विभिन्न राजनीतिक आन्दोलन पनि योजनाबद्ध तयारीसहित अघि बढेको इतिहास रहेको सुनाए ।
उनका अनुसार विद्रोहका लागि केही हदसम्म संगठित संरचना र विचार आवश्यक हुन्छ । विद्रोह शान्तिपूर्ण वा हिंसात्मक दुवै हुन सक्छ। 'नागरिकको अपेक्षा पूरा नभएपछि परिवर्तन चाहने समाजसँग विकल्प खोज्दै विद्रोह वा क्रान्ति गर्छ,' उनले भने, 'विद्रोह र क्रान्ति कुनै आकस्मिक घटना नभई लामो तयारी र सामाजिक बाध्यताबाट जन्मिने प्रक्रिया हो । '
