'म सबै विवरण भन्न सक्दिनँ, तर केही निकै चासोलाग्दा पक्षहरू भने अवश्य छन् ।’
What you should know
काठमाडौँ — जेन-जी अभियन्ता तनुजा पाण्डेले जेन-जी आन्दोलनमा केही स्वार्थी समूहको गहिरो गरी घुसपैठ भएको बताएकी छन् ।
सोमबार सुरु कान्तिपुर कन्क्लेभको पहिलो सत्र 'आन्दोलनबाट अवसरतर्फ'मा बोल्दै उनले भनिन्, 'भदौ २३ मा हाम्रो करको पैसा कहाँ गइरहेको छ ? हाम्रो सूचना पाउने अधिकार र विचार व्यक्त गर्ने अधिकार कहाँ छ ? भन्ने प्रश्नबाट सुरु भएको आन्दोलनमा कसरी हामीले आफ्नै करले बनेको संसद् भवन जलाउन सक्छौं ?'
आन्दोलनमा केही स्वार्थी समूहले घुसपैठ गर्दा घर भवनहरूमा आगजनी भएको बताइन् ।
आफ्ना साथीहरूलाई निर्ममतापूर्वक मारिएको कारण जनआक्रोश व्यापक रूपमा फैलिएको उनको भनाइ थियो । 'भदौ २४ भनेको भदौ २३ मा भएको घटनाको एक किसिमको नतिजा हो,' उनले भनिन्, 'तोडफोड र आगजनीका सबै गतिविधिहरू जेनजी आन्दोलनको विरुद्धमा थिए । यो आन्दोलन शान्तिपूर्ण हुनुपर्ने थियो । त्यसैले हामीले सामूहिक रूपमा विध्वशंको स्वामित्व लिन अस्वीकार गर्यौँ र त्यसलाई कहिल्यै स्वीकार गर्न सक्दैनौँ ।’
यो आन्दोलनमा ‘विदेशी शक्तिहरू’ को प्रयोग गरिएको भन्ने गलत बुझाइ आममानसमा परेको समेत उनले बताइन् । ‘नेपालका आम नागरिकहरूले सरकारको अयोग्यता महसुस गरेर सडकमा उत्रिए, त्यसैले विदेशी हस्तक्षेपको कुरा सबैभन्दा ठूलो गलत बुझाइ हो,’ उनले भनिन् ।
भदौ २४ को आन्दोलनलाई अपराधीकरण गर्नु पनि अर्को गलत बुझाइ रहेको उनले प्रस्ट्याइन् । ‘यी गलत बुझाइहरू परिस्थितिसम्बन्धी प्रतिवेदनहरू सार्वजनिक गरेपछि प्रस्ट हुन सक्छन्,’ उनले भनिन्, ‘अहिले ती सबै कुरा प्रक्रियामै छन् । म सबै विवरण भन्न सक्दिनँ, तर केही निकै चासोलाग्दा पक्षहरू भने अवश्य छन् ।’
