कान्तिपुर कन्क्लेभमा बोल्दै उनले चुनाव नजिकिँदै जाँदा बंगलादेशको अवस्था शान्त रहेको बताइन् ।
What you should know
काठमाडौँ — बंगलादेशकी समाजशास्त्री मार्जाना महनाजले आन्दोलनपछि बंगलादेशका नागरिकहरु सचेत भएको बताएकी छन् ।कान्तिपुर कन्क्लेभ २०२६ को पहिलो सत्र 'आन्दोलनबाट अवसरतर्फ'मा बोल्दै उनले तर अफवाह फैलाउने क्रम पनि बढ्दै गएकामा चिन्ता गरिन् ।
बंगलादेशका नागरिकहरुले जवाफदेहिता पनि खोज्न थालेको र २०२४ मा बंगलादेशमा भएको विद्यार्थी आन्दोलनपछि नागरिकहरुमा चेतना आएको उनको भनाइ थियो । ‘जुलाई २०२४ मा भएको प्रदर्शनपछि मानिसहरू बढी सचेत भएका छन् । उनीहरू प्रतिरोध र लचिलोपन देखाइरहेका छन्, जुन पहिले देखिएको थिएन । उनीहरुले बुझ्न थालेका छन् कि उनीहरूले अधिकारलाई प्रश्न गर्न र जवाफदेहिता माग्न सक्छन्,’ उनले भनिन् ।
चुनाव नजिकिँदै जाँदा बंगलादेशको अवस्था शान्त रहेको उनले बताइन् । तर अघिल्ला चुनाव हेर्दा धेरै मानिस शान्त रहे पनि डराइराखेको उनको भनाइ थियो ।
आन्दोलनयता बंगलादेशमा चरमपन्थी प्रवृत्ति बढ्दै गएको उनले सुनाइन् । ‘केही वर्षमा बढ्दो चरमपन्थी प्रवृत्तिले मलाई धेरै चिन्तित बनाएको छ । एउटा उदाहरण दिन्छु- केही दिनअघि, एक हिन्दु पुरुषलाई धर्मको अपमानको आरोपमा मारिएको थियो । पछि पत्ता लाग्यो कि उनले इस्लाम धर्मको अपमान गर्ने कुनै कुरा बोलेका थिएनन् । यो अफवाहमा आधारित भिडको हिंसाको घटना थियो । हामीले देखेका छौं कि भिडले समाचारमाध्यमका घर जलाएका पनि छन् । कानुन लागू गर्ने निकायले रोक्न सकेन,’ उनले भनिन् ।
बंगलादेशमा धर्मलाई राजनीतिक हतियारका रुपमा प्रयोग गरिएको र त्यसो गर्नु गलत रहेको उनले टिप्पणी गरिन् ।
