इरानमा सत्ताले गरिरहेको दमनभन्दा युवाको प्रदर्शन शक्तिशाली : शिरिन एबादी

कान्तिपुर कन्क्लेभकी मुख्य वक्ता रहेकी उनले भनिन्- 'सानै उमेरदेखि उनीहरू राजनीतिबारे छलफल गर्छन्, सरकारलाई प्रश्न गर्छन्, राज्यका गतिविधिहरू निगरानी गर्छन् ।’

माघ २६, २०८२

कान्तिपुर संवाददाता

Youth protests in Iran are more powerful than the regime's repression: Shirin Ebadi

What you should know

काठमाडौँ — नोबेल शान्ति पुरस्कार विजेता तथा मानवअधिकार अभियन्ता शिरिन एबादीले इरानमा प्रदर्शनरत जनताको विजयको शुभ समाचार एकदिन आफूले ल्याउने बताएकी छन् ।

इरानी जनता र त्यहाँका युवाले प्रदर्शन गरिरहेको शाहस राज्यले गरिरहेको दमनभन्दा शक्तिशाली रहेको भन्दै इरानी जनताले हार नमान्ने बताइन् । ‘सबै कठिनाइका बाबजुद, हाम्रो युवापुस्ता मौन बसेको छैन । उनीहरू अझै बोलिरहेका छन्, संगठित भइरहेका छन्र परिवर्तनको माग गरिरहेका छन्,’ हाल बेलायतमा बस्दै आएकी उनले सोमबारदेखि सुरु कान्तिपुर कन्क्लेभमा बोल्दै भनिन्, ‘सानै उमेरदेखि उनीहरू राजनीतिबारे छलफल गर्छन्, सरकारलाई प्रश्न गर्छन् राज्यका गतिविधिहरू निगरानी गर्छन् । उनीहरू हार मान्दैनन् ।’

इरानी जनता चार दशकभन्दा लामो समयदेखि सत्ताविरुद्ध बारम्बार सडकमा उत्रिएको भन्दै उनले थपिन्, ‘तर हरेक पटक, शासनले दमन, जेल, हिंसा र मृत्युदण्डद्वारा जवाफ दिएको छ ।’  

उनले एक महिनाअघि आफ्नो देशमा अशान्ति भएको स्मरण गराउँदै भनिन्, ‘धेरै युवाहरू सडकमा उत्रिए, र धेरैलाई सरकारले मारेको छ । हाम्रो दुःखद कथा अझै पछाडिदेखि सुरु हुन्छ । सन् १९७९ को क्रान्तिले हाम्रो देशमा निरंकुश धार्मिक शासन स्थापना गर्‍यो । त्यसयता हामी कठोर धार्मिक नियमअन्तर्गत बाँचिरहेका छौँ, जहाँ सजायहरू शताब्दी पुराना जस्ता छन् ।’

लिंग, धर्म, यौन झुकाव र अल्पसंख्यक पहिचानका आधारमा विभेदपूर्ण कानुनहरू रहेको भन्दै इरानमा भ्रष्टाचार र हिनामिना व्यापक रहेको बताइन् । विश्वका ठूला तेल र ग्यास भण्डार तथा खनिज सम्पदाले धनी देश हुँदाहुँदै इरानी जनसंख्याको दुई तिहाइ हिस्सा गरिबीको रेखामुनि बाँचिरहेको रहेको उनले बताइन् ।

शिरिनले सेप्टेम्बर २०२२ मा थोरै कपाल देखिएको मुद्दामा पक्राउ परेकी युवतीको प्रहरी हिरासतमा मृत्यु भएपछि आन्दोलन चर्किएको स्मरण गराइन् । इरानमा सुरक्षा बलले आन्दोलनलाई दमन गर्न गोली प्रहारसँगै घाइतेलाई अस्पतालमै छापा मारेर समेत पक्राउ गरेको भन्दै उनले घाइतेलाई सहयोग गर्ने स्वास्थ्यकर्मीलाई समेत गिरफ्तार गरिएको बताइन् । 

उनले नेपालमा गएको भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनबारेका खबर समेत ध्यानपूर्वक अध्ययन गरेको भन्दै आन्दोलनप्रति सम्मान व्यक्त गरिन् । ‘तपाईंहरूको देशमा भएको अशान्तिका क्रममा केही प्रदर्शनकारी मारिएको खबर सुन्दा मलाई अत्यन्त दुःख लागेको छ । म पीडित परिवार र तपाईंहरूको जनताप्रति, विशेषगरी आफ्नो आवाज सुनाउन उठेका युवापुस्ताप्रति, गहिरो समवेदना व्यक्त गर्न चाहन्छु,’ उनले भनिन्, ‘यहाँ सौभाग्यवश, युवाहरूका आवाज बेवास्ता भएनन् । राजनीतिक परिवर्तन भएको छ, तपाईंहरूको सरकार राजीनामा दिएको छ, र चाँडै नै मध्यावधि निर्वाचन हुने अपेक्षा गरिएको छ । यसले युवाहरूका आवाजले प्रभाव पार्न सक्छ भन्ने देखाउँछ ।’ 

उनले यस्तै अवस्था फेरि नदोहोरियोस् भनेर केवल आवाज उठाउँदा मात्र सबै कुरा समाधान हुन्छ भन्ने नसोच्न आग्रह गरिन् । ‘उनीहरूले प्रणालीभित्रै प्रवेश गर्नुपर्छ, समाधान प्रस्ताव गर्नुपर्छ र किनारामा उभिएर मात्र कराउनुको सट्टा परिवर्तनको हिस्सा बन्नुपर्छ,’ उनले नेपाली जेनजी नेताहरुलाई सुझाव दिइन्, ‘१८ वर्ष वा सोभन्दा माथिका युवाहरूलाई मेरो सल्लाह सरल छ- मतदान गर्न जानुहोस् । आफूले विश्वास गरेको राजनीतिक दलमा आबद्ध हुनुहोस् । सक्रिय बन्नुहोस् । यदि कुनै पनि दल मन पर्दैन भने, मिलेर नयाँ दल गठन गर्नुहोस् । अग्रपंक्तिमा उभिनुहोस् ।’ 

उनले केवल नारा लगाएर नभई सहभागी बन्दै नेतृत्व दिएर भविष्य निर्माणमा योगदान दिन आग्रह गरिन् ।

कान्तिपुर

Link copied successfully