'कान्तिपुर कन्क्लेभ-२०२६ को छैटौं सत्रमा ‘अर्थतन्त्रको पुनरुत्थान, विश्वासको पुनःस्थापना’ विषयमा बहस भएको छ ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले केन्द्रीय बैंकको मुख्य भूमिका आर्थिक स्थिरता कायम गर्नु रहेको बताए । जसका लागि राष्ट्र बैंकले नीति निर्माणका क्रममा अन्तर्राष्ट्रिय अभ्यास र प्रयोगलाई निरन्तर अध्ययन गरेको उनले बताए । 'स्थिरता प्रमुख कुरा हो । हामीले आर्थिक स्थिरता कायम गर्न केन्द्रीय बैंकहरूले जोखिम पनि लिएका हुन्छन्,' उनले भने , 'विदेशी विनिमय दर व्यवस्थापनमा केही परिवर्तन गरेर सहजता प्रदान गरिएको छ ।' उनले हाल राष्ट्र बैंकले ब्याजदरलाई निश्चित सीमाभित्र राखेर सन्तुलन कायम गर्ने प्रयास गरिरहेको जानकारी दिए ।
आसन्न निर्वाचनमा राजनीतिक दलहरुले अर्थतन्त्रलाई आर्थिक गतिविधिलाई प्राथमिकता दिनुपर्ने चौधरी ग्रुपका कार्यकारी निर्देशक निर्वाण चौधरीले बताए । यही कारण नेपाल उद्योग परिसंघले केही साता अघि नै औपचारिक कार्यक्रमै गरेर राजनीतिक दलहरुले आफ्नो घोषणापत्रमा अर्थतन्त्र निजी क्षेत्रका मुद्दालाई प्राथमिकता दिनुपर्ने सुझाव दिएको उनले बताए । पछिल्लो २५ वर्षमा १५ वटा सरकार बन्नुले मुलुकमा राजनीतिक अस्थिरता कति छ भन्ने प्रमाणित हुने उनले बताए । यसकारण पनि अब राजनीतिक दलहरुले अर्थतन्त्रलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो ।
नेपालका बैंकहरू व्यवसायका लागि ऋण प्रवाह गर्न सकरात्मक र खुला हुँदै गएको सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक निर्वाण चौधरीले बताए । उनले बैंकहरू उद्योग र व्यवसायका लागि ऋण प्रवाह गर्न सकरात्मक रहेको बताए । उनले भने, 'हाल बैंकहरू नयाँ व्यवसायिक अवसरहरूमा ऋण प्रवाह गर्न अझ धेरै सकारात्मक र खुला भएका छन् । यस प्रक्रियामा केन्द्रीय बैंकको नीतिगत भूमिका अत्यन्तै महत्वपूर्ण रहेको छ ।'
अहिले निजी क्षेत्रको आत्वविश्वास न्यून रहेपनि आफूहरु आशावादी रहेको उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । 'अहिले निजी क्षेत्रमा मात्र होइन समाजै आत्मविश्वास घटेको छ,' उनले भने, 'तर, निजी क्षेत्र आत्मविश्वास कम भएको छ भनेर त्यसै बसेको छैन ।' यसका लागि निरन्तर काम गरिरहेको उनले बताए । 'उदाहरणका लागि भदौ २३ र २४ गतेको आन्दोलनमा सरकारी निजी क्षेत्रको धेरै सम्पत्तिमा क्षति भयो । त्यसमध्ये निजी क्षेत्रका अधिकांश उद्योग व्यवसाय सञ्चालनमा आइसके,' उनले भने, 'तर, सरकारी क्षेत्रले अझै पाल टाागेरै सेवा दिइरहेको छ । यसले पनि निजी क्षेत्रको काम गर्ने इच्छाशक्ति प्रमाणित गर्छ ।' यसका आधारमा निजी क्षेत्रको आत्मविश्वासमा कमी मात्र आएको नभई, भविष्यप्रति आशावादी पनि रहेको उनले बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारको नीतिले गर्दा व्यवसायीहरु म्यानुफ्याक्चरिङ छोडेर व्यापारमा लागेको बताए । म्यानुफ्याक्चरिङमा किन व्यवसायीहरु लागेका छैन ? किन व्यापारमा मात्रै लागिरहेका छन् ? भन्ने प्रश्नमा सरकारको नीति बाधक रहेको उनले बताए । हरेक व्यक्तिले व्यवसायमा नाफा खोज्ने भन्दै जता नाफा त्यतै व्यवसायीहरु लाग्ने उनले सुनाए । म्यानुफ्याक्चरिङ उद्योगका लागि कर छुटलगायत छुटसुविधा ल्याउन सके व्यापारमा लागिरहेका व्यवसायीहरु पनि सिफ्ट हुने उनको भनाइ छ ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले अर्थतन्त्रको पुनरुत्थानका लागि केवल कर्जा प्रवाह बढाउनु मात्र पर्याप्त नभई लगानीकर्तामा विश्वास र सुरक्षाको अनुभूति आवश्यक रहेको बताए । उनले राष्ट्र बैंक उपयुक्त लगानी वातावरण बन्ने पर्खाइमा रहेको बताए । उनका अनुसार हाल कर्जाको माग अपेक्षाअनुसार बढ्न सकेको छैन । 'केही समय अघिको प्रकाशित निजी संस्थाको सर्वेक्षणले करिब ७० प्रतिशत लगानीकर्ता अब के गर्ने भनेर हेरेर बसेको र ७ प्रतिशतले अब लगानी नगर्ने बताएको देखेको थिएँ,' उनले भने,'कर्जाको माग नबढ्नु लगानीकर्तामा आत्मविश्वास र सुरक्षाको अनुभूति नहुनु तथा उत्पादनबाट प्रतिफल आउँदैन भन्ने धारणाले हुनसक्छ ।'
अनलाइन बजार दराजकी प्रबन्ध निर्देशक आँचल कुँवरले जेन-जी आन्दोलनले व्यावसायमा असर गरेको गुनासो गरिन् । दसैं बजारको तयारीमा रहेको बेला आन्दोलन भएपछि व्यवसायमा असर पुगेको उनले बताइन् । ‘हाम्रा ३५ हजार ग्राहक छन् । दसैं बजारको तयारी गर्दै थियौं । आन्दोलनले निजी क्षेत्रमा पनि क्षति पुग्यो,’ उनले भनिन्, ‘त्यसको असर दराजलाई पनि पर्यो ।’ आन्दोलनपछि रिबिलडिङ नेपाल अभियानमा जोडिएर व्यवसायलाई पनि अघि बढाउँदै आएको उनले जनाइन् । ‘ग्राहकले हामीसँग अनलाइनमा सामान अर्डर गर्छन् । डिमार्टमेन्टल स्टोरबाट अर्डर नुसारका सामान प्याकिङ भएर आउँछ,’ उनले भनिन्, ‘हामी ग्राहकको घरसम्म पुर्याइदिन्छौं ।’ जेन– आन्दोलनले व्यवसायमा प्रत्यक्ष असर गरे पनि पुनः लयमा फर्कँदै गएको उनले बताइन् ।
एनसेलका सीईओ माइकल फोलेले गत सेप्टेम्बरमा नेपालमा मात्रै आन्दोलन नभएको बताएका छन् । 'सेप्टेम्बरमा नेपालमा मात्रै यो आन्दोलन भएको होइन । यो विश्वभर नै चलिहरहेको थियो । केन्यामा सरकार परिवर्तन हुनै खोजेको थियो, मदागास्कर, श्रीलंका र बंगलादेशमा सत्ता परिवर्तन भयो । नेपालमा मात्रै भएको भने होइन । हिजो के भयो भन्ने कुरामा परिभाषित गर्ने भन्दा पनि अब मार्चमा हुने निर्वाचनपछि के हुन्छ भन्ने कुराले लगानीको विषयमा निश्चितता हुन्छ,' उनले भने, 'मैले प्रतिनिधित्व गर्ने कम्पनी एनसेल नेपालमा आएको झण्डै २२ वर्ष भयो । अझै लामो समयसम्म जान्छ भन्ने लाग्छ ।' उनले एनसेललाई अनुमति दिएमा फाइभजी ल्याउने समेत बताए । 'हामी धेरै विश्वस्त छौं । हामी लगानी गर्न चाहन्छौं । अनुमति दिइएमा हामी लगानी गर्छौं,' उनले भने, 'र हामी फाइभजी ल्याउनेछौं । हामी डेटा सेन्टरहरू ल्याउनेछौं जुन गर्न आवश्यक छ ।'
'कान्तिपुर कन्क्लेभ-२०२६ को छैटौं सत्र ‘अर्थतन्त्रको पुनरुत्थान, विश्वासको पुनःस्थापना’ मा नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेल, एफएनसीसीआई अध्यक्ष चन्द्र ढकाल, सीजी कर्प ग्लोबलका एमडी निर्वाण चौधरी, एनसेलका सीईओ माइकल फोलो र दराज नेपालकी एमडी आँचल कुँवर बहस गर्दैछन् ।अस्थिर नीतिका कारण खस्किएको लगानी वातावरण, निजी क्षेत्रको मनोविज्ञान र सुधारका विकल्पबारे पनि उक्त सत्रमा बहस गरिनेछ ।
हरि शर्माले नेपाली समाज साँघुरो बन्दै गएको बताए । उनले प्रजातन्त्रमा समाज खुला हुनुपर्ने जनाए । ‘नेपाली समाज फराकिलो बन्दै गएको छ भनिन्छ । तर झन् झन् साँघुरो बन्दै गए जस्तो लाग्छ,’ उनले भने, ‘प्रजातन्त्रमा खुला हुनुपर्छ । बहस छलफल हुनुपर्छ । तर त्यो क्रमशः खुम्चँदै गए जस्तो लाग्छ ।’ समाज बनाउन हिँडेकाहरुले समाज बिग्राने गरेको उनले जनाए । ‘राज्यको इतिहास लामो छ । राज्य र समाजको सम्बन्ध कुखुरा र अण्डाको जस्तो छ । समाज बनाउन हिँडेकोहरुबाट नै समाज बन्न सकेको छैन,’ उनले भने, ‘प्रश्न उत्तर र छलफलबाट समाजलाई फराकिलो बनाउनुपर्छ ।’
फागुन २१ गते हुने चुनावको नतिजाले शासन गर्ने वैधता दिने हरि शर्माले बताए । जेन-जी आन्दोलनले त्यतिबेलाको संसद्को वैधानिकता अन्त्य गरेर पुनः निर्वाचनमा जानु परेको धारणा राखे । उनले प्रश्न गरे, ‘अदालतले संसद् पुन:स्थापना गर्यो भने राजनीतिक रुपमा शासन गर्ने वैधता प्राप्त गर्छ ?’ चुनावले केही दिँदैन भन्ने भाष्य बन्दै गएको जनाउँदै उनले निर्वाचित हुनेहरुलाई शासन गर्ने र जननिर्वाचित सरकार बनाउने अधिकार दिने बताए ।
राजनीतिज्ञ घनश्याम भुसालले पछिल्लो समय प्रविधिको तीव्र विकाससँगै समाज अझ चलायमान बन्दै गएको बताए । उनले भने, ‘प्रविधि पछाडि भए पनि समाज अगाडि बढिरहेको छ । पुस्ता परिवर्तनसँगै समाज पनि परिवर्तन भएको छ ।’ आफ्नो समयको अनुभव सम्झँदै उनले भने, ‘हाम्रो पालामा असन्तुष्टि व्यक्त गर्न व्यक्तिलाई नै भेट्नुपर्थ्यो, सम्बन्धित व्यक्तिसँग पुग्नैपर्थ्यो ।’ सामाजिक सञ्जालले नागरिकलाई छिटो प्रतिक्रिया दिन सक्ने समय आएको उनले बताए ।
राजनीतिक गतिविधिले जनताका आकांक्षा पूरा नगर्दा निराशा छाएको नेता घनश्याम भुसालले बताए । नेता भुसालले जेन-जी आन्दोलनका तमाम प्रश्नबारे छलफल नै नभएको बताए । राजनीतिक दृष्टिबाट मात्रै हेर्ने भन्दा पनि आर्थिक राजनीतिक अवधारणाबाट हेर्दा यसको अवस्था अझ प्रष्ट र छिटो देखिने उनले बताए ।
राजनीतिक विश्लेषक हरि शर्माले सामाजिक सञ्जाल जञ्जाल जस्तो भएको बताए । उनले डिजिटल प्रविधिको कारण समय र स्पेस साघुँरो हुँदै गएको जनाए । छोटो समयमा सामाजिक सञ्जालबाट भएको आह्वानबाट जेन–जी आन्दोलन भएको र तुरुन्तै रोकिएको बताए । ‘अब भोलि आउने समय कस्तो होला म निकै दुविधामा छु,’ उनले भने, ‘३/४ घण्टामा एक्कासि जेन–जी आन्दोलन चल्यो र रोकियो ।’ राजनीतिक विश्लेषक शर्माले राजनीतिक प्रणालीले दिनुपर्ने अवसर दिन नसकेर युवाहरुले विद्रोह गरेको जनाए ।
हास्य कलाकार सुन्दर खनालले दर्शकलाई हँसाउनु सजिलो काम नभएको बताए । कान्तिपुर कन्क्लेभ–२०२६ अन्तर्गत ‘आफैँमाथि व्यङ्ग्य लेख्दै नेपाली राजनीति’ सत्रमा बोल्दै भने, 'आँसु नचाहेर आउँछ, तर मानिस हाँसो चाहन्छ । मानिसलाई हँसाउन गाह्रो छ । यसका लागि धेरै मेहनत चाहिन्छ । कमेडी केवल मनोरञ्जन नभई गम्भीर सिर्जना हो ।' कमेडी कहिलेसम्म बाँच्छ भन्ने प्रश्न उठाउँदै उनले यो क्षेत्र कलाकारको जिम्मेवारी, दर्शकको बुझाइ र समग्र समाजको सहयोगमा निर्भर रहने बताए । खनालले कमेडी गर्नेहरू गलत दिशातर्फ जान लागे त्यो समयमा सुधारका लागि खबरदारी र आलोचना पनि उत्तिकै आवश्यक रहेको बताए ।
कान्तिपुर कन्क्लेभको पाँचौँ सत्रमा राजनीतिक विश्लेषक हरि शर्मा र घनश्याम भुसालबीच संवाद सुरु भएको छ ।विश्लेषक शर्माले जेन–जी विद्रोहलाई हेर्ने विषयमा नेपाली समाज विभाजित रहेको र यसबारे फरक–फरक बुझाइहरू रहेको बताए । शर्माले जेन–जी विद्रोहलाई कुन राजनीतिक सिद्धान्तका आधारमा हेर्ने भन्ने प्रश्न जटिल भएको बताए ।
हास्य कलाकार प्रभात लामाले कमेडीसँग जहिले पनि सत्ता डराउने बताए । संसारभर नै निरंकुश सत्तालाई कमेडीले कमजोर बनाउने काम गरेको लामाले बताए । ‘कमेडी बन्द भए विचार र प्रश्न बन्द हुन्छ । जनता डराउन थाल्छन । जनता डराए राजनीतिक परिवर्तन हुन सक्दैन,’ उनले थपे, ‘कमेडीले परिवर्तन ल्याउन सक्छ । नेपालको परिवर्तनमा पनि कमेडीको भूमिका छ ।’ कमेडीले राजनीतिमा जवाफदेहीता खोज्दै शासकलाई निरंकुश हुनबाट रोकेको उनले जनाए ।
हास्य कलाकार आदर्श मिश्रले राजनीति र राजनीतिज्ञलाई 'सटायर' गर्दा सोचेर बोल्नुपर्छ जस्तो नलाग्ने बताए ।
उनले नेता एवं राजनीतिज्ञहरु नै सोचेर बोल्दैनन् भने हामीले पनि सोचेर बोल्नु नपर्ने सुनाए । ‘धेरै नेताहरु भाषणहरु हेरेको छु, १५/२० मिनेटसम्मको,’ उनले भने, ‘त्यसैले सबैभन्दा बढी हास्ने नै नेता बोल्दा हो ।’
कमेडी विश्वव्यापी भइरहेको भन्दै उनले भारतमा कमेडियनले जोक गर्दा जेल जानुपर्ने स्थिति रहेको उनले बताए ।
उनी सम्झन्छन्, ‘नेपालमा पनि सुरुमा प्रनिश जेल गयो । त्यसपछि अपूर्व गयो । मलाई पनि लग्ने वाला थियो । मलाई पक्राउ पुर्जी जारी गर्न विहार जानुपर्छ । किनकि मेरो नागरिकता छैन ।’ जोक ट्विस्टेड वा ब्लेन्डेड हुनुपर्छ जस्तो नलाग्ने भन्दै उनले जुन भावमा लेख्यो त्यसमै सुनाउनुपर्ने बताए ।
वर्तमान समयमा मान्छेहरू फुर्सदमा नरहेको हास्य कलाकार आदर्श मिश्रले बताए । कान्तिपुर कन्क्लेभको पाँचौं संस्करणको चौथो सत्र 'आफैंमाथि व्यङ्ग लेख्दै नेपाली राजनीति' सत्रमा मिश्रले भने- 'मलाई वान लाइनहरू मन पर्छ । मान्छेसँग त्यति धेरै धैर्यता छैन कि पूरै कुरा सुनुन् अहिलेको समयमा । १५ सेकेन्डको रिल त हेर्न सक्दैन अहिलेको मान्छेले भनेपछि मेरो डेढ मिनेटपछि आउने जोकमा त कसले ध्यान दिन्छ होला ?'
हास्य कलाकार आदर्श मिश्रले नेपालमा हरेक समाचार हास्यव्यंग्यको पञ्चलाइन जस्तो लाग्ने बताएका छन् । पाँचौं संस्करणको कान्तिपुर कन्क्लेभको चौथो सत्र 'आफैंमाथि व्यङ्ग लेख्दै नेपाली राजनीति' मा मिश्रले भने, 'म हरेक दिन समाचार पढिरहेको हुन्छु, हरेक समाचार मलाई हास्यव्यंग्यको पञ्चलाइन लाग्छ । अस्ति मैले पढिरहेको थिए- देश ७३.६ बिलियन ट्रेड डेफिसिटमा गयो । यो राम्रो जोक हो । यसमा त थप्न केही पनि पर्दैन, यत्ति पढे पुग्छ ।'
हास्य कलाकार प्रभात लामाले हास्य क्षेत्र र पत्रकारिताबीचको आम्दानीलाई लिएर आफ्नो भनाइ राखेका छन् । काठमाडौंमा सोमबारदेखि सुरु भएको ‘कान्तिपुर कन्क्लेभ’ को चौथो सत्र ‘आफैंमाथि व्यङ्ग्य लेख्दै नेपाली राजनीति’ सत्रमा बोल्दै उनले कमेडियनले भन्दा पत्रकारले बढी कमाउने गरेको बताए ।
कान्तिपुर कन्क्लेभको चौथो सत्रमा ‘आफैंमाथि व्यङ्ग्य लेख्दै नेपाली राजनीति’ शीर्षकमा छलफल हुँदैछ ।
हास्य कलाकार मनोज गजुरेलले संयोजन गर्ने यस सत्रमा हास्य कलाकारहरू आदर्श मिश्र, प्रभात लामा र सुन्दर खनाल सहभागी रहनेछन् ।
राजनीतिक विश्लेषक सीके लालले जेन-जी आन्दोलन नेपालको नभई नव युवाहरूको भएको बताएका छन् । कान्तिपुर कन्क्लेभको पाँचौं संस्करणमा सोमबार 'नेपाली क्रान्तिको यात्रा : विगतको विवेचना, आगतको आकलन' सत्रमा विश्लेषक लालले उक्त कुरा बताएका हुन् । 'नेपालीहरूलाई ब्रान्ड बडो मन पर्छ, चाइनाको नक्कली भएपनि ब्रान्ड चाहिँ लगाउनुपर्ने । राजनीतिक कुरामा पनि ब्रान्ड एउटा लिनुपर्ने । ब्रान्ड के लियो भने जेन-जी । जेन-जी आन्दोलन नेपालको होइन, नव युवाहरूको । त्यो विरोध प्रदर्शनबाट सुरु भयो । विरोध प्रदर्शनको व्यवस्थापन गर्ने क्षमता थिएन । विरोध प्रदर्शनको व्यवस्थापन हुन नसकेपछि विस्फोट भयो । जब विस्फोट भयो तब राज्यसत्ता र भूराजनीतिक शक्ति एउटै ठाउँमा आए । यसलाई विद्रोह, आन्दोलन वा क्रान्तितिर नजाउँ भनेर व्यवस्थापन चाहिँ राम्रोसँग गरे ।'
राजनीतिक विश्लेषक सीके लालले वर्तमान मुलुकका जटिल समस्या निर्वाचनबाट मात्र समाधान नहुने बताएका छन् । उनले परिवर्तनको कार्यसूची निर्वाचनभन्दा बढी सरकार र राज्य संयन्त्रसँग जोडिएको विषय भएको बताए । उनका अनुसार अहिले देखिएका समस्या परिवर्तनको कार्यसूचीसँग सम्बन्धित भए पनि ती समस्याको सम्बोधन निर्वाचनमार्फत सम्भव हुँदैन । 'निर्वाचनले सरकार बनाउँछ, तर परिवर्तनको कार्यसूची कार्यान्वयन सरकारबाट हुन्छ,' उनले भने । अहिलेको प्रणालीभित्र रहेर केही ‘माइक्रो’ मुद्दा मात्र सम्बोधन हुन सक्ने उनले बताए । तर, समाजले अपेक्षा गरेको रूपान्तरणकारी परिवर्तन निर्वाचन प्रक्रियाबाट मात्रै सम्भव नहुने उनको निष्कर्ष थियो । उनका अनुसार संरचनात्मक सुधार, संस्थागत पुनर्संरचना र राजनीतिक संस्कृतिमा परिवर्तन बिना दीर्घकालीन समाधान सम्भव छैन ।
राजनितिक विश्लेषक सीके लालले क्रान्ति स्वाभाविक प्रक्रिया भए पनि त्यसको पछाडि व्यापक तयारी हुने गरेको तर्क गरे । विगतका आन्दोलनहरूलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै उनले नेपालका विभिन्न राजनीतिक आन्दोलनहरू पनि योजनाबद्ध तयारीसहित अघि बढेको इतिहास रहेको सुनाए । 'नागरिकको अपेक्षा पूरा नभएपछि परिवर्तन चाहने समाजसँग विकल्प खोज्दै विद्रोह वा क्रान्ति गर्छ ,' उनले भने,' विद्रोह र क्रान्ति कुनै आकस्मिक घटना नभइ लामो तयारी र सामाजिक बाध्यताबाट जन्मिने प्रक्रिया हो । ' उनका अनुसार क्रान्ति एक पटक सुरु भएपछि त्यसले आफ्नो दिशा आफैं तय गर्छ र अगाडि बढ्छ ।
जेन-जी आन्दोलनका घाइते प्रकाश बोहराले सही ठाउँमा भोट हाल्यौं भने सही नेतृत्व आउने बताएका छन् । कान्तिपुर कन्क्लेभको सत्र 'जेन-जी विद्रोह : जुत्ताको कथा'मा बोल्दै उनले आउँदो चुनावमा सक्षम व्यक्तिलाई रोज्न अनुरोध गरे । ‘फेरि पनि हामीले गल्ती गयौं भने पुन: देश आन्दोलनमा गयो भने भोलि ठूलो क्षति हुन सक्छ । त्यो बेला मृत्यु हुने र घाइते तपाईं हाम्रो परिवारका मान्छे हुन सक्छन्,’ उनले भने ।
कान्तिपुर कन्क्लेभमा राजनीतिक विश्लेषक सीके लालले ‘नेपाली क्रान्तिको यात्रा : विगतको विवेचना, आगतको आकलन’ शीर्षकको सत्रमा परिवर्तन स्वाभाविक भएको र खोज्नुपर्ने कुरा परिवर्तनको गति र दिशा रहेको बताएका छन् । 'हामी के छौं भन्ने कुरा इतिहासबाट आउँछ । किन एउटा दैलेखको स्वास्थ्यकर्मीलाई रुसमा गएर लड्ने इच्छा आउँछ भन्दाखेरि त्यो चारथरी मनस्थितिले निर्धारण गर्छ- भूगोल, इतिहास, अर्थतन्त्र तथा उत्पादन प्रणाली र संस्कृति । यो चार पांग्रामा मान्छेको मनस्थिति गुड्छ,' उनले भने, 'परिवर्तन स्वाभाविक हो । परिवर्तन खोजिराख्नु पर्दैन । खोज्नुपर्ने कुरा के हो भने परिवर्तनको गति र दिशा कता हुने हो ? त्यो खोज्नुपर्ने हुन्छ ।'
विश्लेषक सीके लालले नेपाल र भारतमा भएका क्रान्तिहरूको पृष्ठभूमि तथा त्यसताका भएका घटनाक्रमहरूको व्याख्या प्रस्तुत गरेका छन् ।
क्रान्ति र प्रतिक्रान्तिको शृङ्खला कसरी चल्छ र यसको निर्माण कसरी हुन्छ भन्नेबारे पनि उनले चर्चा गरेका छन् । कान्तिपुर कन्क्लेभमा ‘नेपाली क्रान्तिको यात्रा : विगतको विवेचना, आगतको आकलन’ शीर्षकमा बोल्दै उनले नेपालमा भएका क्रान्तिको विगतबारे विश्लेषण गरेका हुन् ।
जेन-जी आन्दोलनका घाइते भएका प्रकाश बोहराले परिवर्तनका लागि गत भाद्र २३ गतेको जेन-जी आन्दोलनमा सहभागी भएको बताए । कान्तिपुर कन्क्लेभको 'जेन-जी विद्रोह : जुत्ताको कथा सत्र'मा बोल्दै उनले नयाँ पुस्ताका लागि योगदान गर्न आन्दोलनमा लागेको बताए । ‘रुसी सेनामा १८ महिना काम गरेर नेपाल फर्केका थिएँ । कतार प्रहरीमा भर्ती हुन जाने तयारी गर्दै थिएँ । भदौ २३ गते जेन-जी आन्दोलन बानेश्वरमा हुने सामाजिक सञ्जालबाट थाहा पाएँ,’ उनले भने, ‘मागहरु सुन्दा मेरो रगत उम्लिन थालिसकेको थियो ।’ देशमा परिवर्तन ल्याउने अपेक्षासहित माइतीघर हुँदै भदौ २३ गते बानेश्वर पुगेको उनले सुनाए । ‘नयाँ पुस्ताका लागि आन्दोलनमा जानुपर्छ भन्ने सोच मलाई आयो । आयोजक को थियो थाहा थिएन । बानेश्वर पुग्दा पानी दिनुभयो । मेरो भाइ मसँगै बानेश्वरतर्फ लाग्यौं । एउटा टिमसँग मिसिएर अघि बढ्दै थियौं । संसद् भवनको पर्खाल भत्काएको ठाउँतिर जाँदा देब्रे खुट्टामा गोली लागेर ढलेँ,’ उनले भने, ‘ट्रमा सेन्टर लगेर उपचार गरिँदै रहेछ ।’ दैलेखका २८ वर्षिय बोहरा ५ महिना राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गराएर माघ २० गते मात्र डिस्चार्ज भएका थिए । उनले आन्दोलनमा जाँदा लगाएको रगत लतपतिएको जुत्ता भाइरल भएको थियो भने जेन-जी आन्दोलनको आइकन बन्यो ।
जेन–जी आन्दोलनका घाइते प्रकाश बोहोराले अस्पतालमा रहँदा प्रधानमन्त्री सुशीला कार्कीको कुरा सुन्दा आफूलाई आनन्द लागेको, तर सरकारमा आएपछि सोअनुसार काम नहुँदा दुःख लागेको बताएका छन् । कान्तिपुर कन्क्लेभमा कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
‘म घाइते भएर अस्पताल पुगेपछि १२ घण्टा लामो अप्रेसन भयो । २६ घण्टापछि होस आयो । त्यसपछि मोबाइलमा सुशीला कार्कीको कुरा सुन्दा शरीर नै सिरिङ्ग भयो,’ बोहोराले भने, ‘कानुनकी विज्ञ महिला रहनुभएकी उहाँले हत्या गर्ने अपराधीहरूलाई कारबाहीमा ल्याउनुपर्छ भन्ने कुरा गर्नुभएको थियो । मलाई उहाँले राम्रो गर्नुहुन्छ जस्तो लागेको थियो । तर सोअनुसार काम नहुँदा दुःख लागेको छ ।’
उनले जेन–जी आन्दोलनका दोषीमाथि कारबाही नभएको गुनासो पनि गरे ।
जेन–जी आन्दोलनका घाइते प्रकाश बोहराले ‘कान्तिपुर कन्क्लेभ–२०२६’ को 'जेन-जी विद्रोह जुत्ताको कथा' सत्रमा बोल्दै सरकारले युवाको लागि केही गर्न नसकेपछि म युक्रेन युद्धमा जान बाध्य भएको बताए । उनले भने, 'यो मसहित सबै युवाको वर्तमान अवस्था हो ।' सरकार कमजोर हुँदा देशका युवाको अवस्था दयनीय बनेको र वैदेशिक रोजगारी बाध्यता बनेको उनले बताए । जेन–जी विद्रोहको आइकन बनेको रगताम्मे जुत्ता उनै २८ वर्षीय प्रकाश बोहराको थियो । दैलेखको नारायण नगरपालिका–८ स्थायी घर भएका उनको खुटामा गोली लागेको थियो ।
बंगालादेशकी समाजशास्त्री मार्जाना महनालले आन्दोलनपछिको चुनावमा नयाँ पार्टी र नयाँ नेताहरुको जन्म हुने भन्दै उनीहरुलाई पनि जवाफदेही बनाइराख्नुपर्ने बताइन् । कान्तिपुर कन्क्लेभ २०२६ को पहिलो सत्र 'आन्दोलनबाट अवसरतर्फ'मा बंगलादेशबाट नेपालले के सिक्न सक्छ भन्ने प्रश्नमा जवाफ दिँदै उनले चुनाव गर्न ढिला गर्न नहुने समेत बताइन् । नेपालले चाँडो गरी तोकिएकै समयमा चुनाव गर्नुपर्ने उनको सुझाव थियो । ‘एउटा पाठ यो हो कि शक्ति खाडल हुँदा, चरमपन्थी समूहहरूले आफ्नो विचार र नियन्त्रण थोपर्न सक्छन् । त्यसैले चुनाव चाँडै, ढिलो नगरी, गर्नुपर्छ,’ उनले भनिन् । दोस्रोमा युवा र विद्यार्थी आन्दोलन पछि लोकप्रिय नेता र पार्टीहरु आउने सम्भावना बढी हुने उनले औंल्याइन् । त्यस्ता पार्टी र नेतालाई जवाफदेही बनाइराख्नुपर्ने उनको भनाइ थियो । उनले भनिन्, ‘युवाहरूले आफ्ना नेतालाई समेत सधैं प्रश्न गर्नुपर्छ । अहिले चुनाव नजिकिँदै गर्दा धेरै लोकप्रिय र नयाँ पार्टीहरू देखा पर्न थालेका छन् । ती नेताहरूलाई जवाफदेही बनाइराख्नु आवश्यक छ । उनीहरुलाई विगतको जस्तो भ्रष्टाचार नगर्ने बनाउनुपर्छ ।’
जेन–जी आन्दोलनका घाइते प्रकाश बोहोराले कान्तिपुर कन्क्लेभमा आफू कसरी रोजगारीको खोजीमा रुस पुगेर रुसी सेनामा भर्ती भई युक्रेनसँगको लडाइँमा होमिए भन्ने अनुभव सुनाएका छन् । उनले भने, ‘मजस्तै धेरै नेपाली त्यहाँ छन् । कतिखेर मरिन्छ भन्ने टुंगो नभएको ठाउँमा ।’
उनले आफू रणभूमिमा रहेका बेला यता नेपालमा आफ्नो छोरा जन्मिएको बताए । उनले भने, ‘बच्चाको अनुहार देखेपछि म धेरै नै आत्तिएँ । गुडेर जाऊँ कि उडेर जाऊँ जस्तो लाग्यो । भाग्छु भन्ने पनि लाग्यो ।’
उनले रुसी सेनाबाट नेपाल फर्केपछि आफु कसरी जेन-जी आन्दोलनमा जोडिए भनेर पनि सुनाए ।
श्रीलंकाको अखबार 'डेली मिरर'की पत्रकार कामन्थी विक्रमसिंघेले श्रीलंकाको आन्दोलनपछि नयाँ विकल्प र अनुहार रोज्नुबाहेक श्रीलंकाली जनतासँग अर्को विकल्प नरहेको बताएकी छन् । 'श्रीलंकाको आन्दोलनपछि नयाँ विकल्प र अनुहार रोज्नुबाहेक श्रीलंकाली जनतासँग अर्को विकल्प थिएन । त्यसैले जनताले नयाँ राजनीतिक शक्ति नेसनल पिपुल्स पावर (अहिलेका राष्ट्रपति अनुरा कुमारा दिसानायके)लाई मतदान गरेका हुन्,' उनले भनिन्, 'सरकारले जनताको आवाज, सञ्चारमाध्यमको भूमिका र सार्वजनिक अभिमतप्रति उत्तरदायी भइरहेको देखिन्छ ।'
जेन–जी आन्दोलनका घाइते प्रकाश बोहोराले कान्तिपुर कन्क्लेभमा आफ्नो संघर्षपूर्ण विगतबारे बताएका छन् । उनले दैलेखको गाउँमा आफू कसरी हुर्किए र रोजगारीको खोजीमा के–कस्ता हैरानी खेपे भन्ने अनुभव सुनाए ।
जेन–जी आन्दोलनका क्रममा खुट्टामा गोली लागेपछि उनको रगताम्मे जुत्ता सडकमै छुटेको थियो । प्रकाशको त्यो रगताम्मे जुत्ता जेन–जी आन्दोलनको प्रतीकजस्तै बनेको थियो ।
सम्बन्धित समाचार
जेन-जी आन्दोलनका घाइते प्रकाश बोहोरा ५ महिनापछि अस्पतालबाट डिस्चार्ज
नेपालकी जेन-जी अभियन्ता तनुजा पाण्डेले ‘पपुलिजम’ लोकतन्त्रको लागि खतरनाक रहेको बताइन् । हामीले नेतृत्वलाई प्रश्नबाट जोगाएर राख्ने गरेकाले नेपालमा आन्दोलनको अवस्था सिर्जना भएको समेत उनले सुनाइन् । ‘सधैं नेतृत्वलाई पूजा गर्ने प्रचलन छ । हामीले नयाँ अनुहारलाई पनि प्रश्न राख्नुपर्छ,’ उनले भनिन्, ‘पपुलिजम लोकतन्त्रको लागि खतरनाक हुन्छ । यसले परिस्थितिलाई झन् भयवह बनाउँदै लैजान्छ । नेतृत्वलाई पूजा गर्ने अवस्थालाई फेरि दोहोरिन दिनु हुँदैन ।’ प्रश्न मात्रै पर्याप्त नभएको भन्दै उनले आन्दोनलाई संस्थागत स्मृति र दिगो बनाउन काम गर्नुपर्ने उनले सुनाइन् । ‘हरेक दशकमा हामीले आन्दोलनहरु भोगिरहेका छौं, हामीले ती आन्दोलनहरुबाट पाठ सिक्नुपर्छ । संस्थागत ज्ञानको भण्डारलाई एकअर्कासग जोडनुपर्छ,’ उनले भनिन् ।
बंगलादेशकी समाजशास्त्री मार्जाना महनाजले आन्दोलनपछि बंगालादेशका नागरिकहरु सचेत भएको बताइन् । तर अफवाह फैलाउने क्रम पनि बढ्दै गएकोमा उनले चिन्ता गरिन् । बंगलादेशका नागरिकहरुले जवाफदेहीता पनि खोज्न थालेको उनले बताइन् । २०२४ मा बंगलादेशमा भएको विद्यार्थी आन्दोलनपछि नागरिकहरुमा चेतना आएको उनको भनाइ थियो । ‘जुलाई २०२४ मा भएको प्रदर्शन पछि, मानिसहरू बढी सचेत भएका छन् । उनीहरू प्रतिरोध र लचिलोपन देखाइरहेका छन् जुन पहिले देखिएको थिएन । उनीहरुले बुझ्न थालेका छन् कि उनीहरूले अधिकारलाई प्रश्न गर्न र जवाफदेहिता माग्न सक्छन् ।’
जेन-जी अभियन्ता तनुजा पाण्डेले नेपालमा युवाहरुको आन्दोलन राजनीतिक दलमा सुधार, पारदर्शिता, जवाफदेहीता र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध हटाउन केन्द्रित रहेको बताइन् । यो आन्दोलन बंगलादेश र श्रीलंकासँग मिल्दोजुल्दो भए पनि नेपालको आफ्नै अर्गानिक रहेको उनले बताइन् । परम्परागत राजनीतिक दलमा सुधार चाहे पनि नयाँ अनुहार र नयाँ दलको लागि भने जेन-जी आन्दोलन नभएको उनको भनाइ छ । जेन-जी आन्दोलन लामो समयदेखि युवाहरुमाझ रहेको नैराश्यताको विस्फोट रहेको समेत उनले जनाइन् ।
श्रीलंकामा भएको आन्दोलनपछिको निर्वाचनबाट आएको सरकारमा भ्रष्टाचार नभएको कुरा जनताले नै आभाष गरिरहेको डेली मिररकी पत्रकार कामन्थी विक्रमसिंघेले बताएकी छन् । काठमाडौंमा सोमबार आयोजित 'कान्तिपुर कन्क्लेभ' को पाँचौं संस्करणमा पत्रकार विक्रमसिंघेले उक्त कुरा बताएकी हुन् ।
ट्युनिसियन गायिका एमेल माथलुथीले आफू सानैदेखि स्वतन्त्रता मन पराउने र स्वतन्त्रता मन पर्ने बताइन् । ‘कान्तिपुर कन्क्लेभ–२०२६’ अन्तर्गत सोमबारको सुरुआती सत्र ‘आन्दोलनबाट अवसरतर्फ’मा उनले उक्त कुरा बताएकी हुन् । 'म सानोदेखि नै नै स्वतन्त्रता मन पराउँथेँ र मलाई स्वतन्त्रता मन पर्थ्यो । म शासकहरुद्वारा शासित हुन चाहन्न थिएँ,' उनले भनिन्, 'विस्तारै त्यो शासकीय प्रणालीविरुद्ध बोल्नुपर्छ भन्ने लाग्यो । र म कसैका लागि आवाज बन्न सक्छु भने किन नबन्ने भनेर गीतमार्फत विरोध गरेँ । मेरो आवाज आवाज विहिनहरुका लागि थियो ।' उनले २०१० देखि सुरु भएको ट्युनिसियाली क्रान्ति 'अबर स्प्रिङ'का क्रममा गाएको 'माइ वर्ड इज फ्री' गीत विश्वव्यापी रुपमा क्रान्तिको प्रतिक बनेको थियो ।
‘कान्तिपुर कन्क्लेभ–२०२६’ अन्तर्गत सोमबारको सुरुआती सत्र ‘आन्दोलनबाट अवसरतर्फ’ सुरु भएको छ । उक्त सत्रमा ट्युनिसिया, श्रीलंका र बंगलादेशका प्रतिनिधिहरूले जनआन्दोलनपछि ती मुलुकले भोगेको संक्रमणकालीन राजनीतिक अनुभव सुनाउनेछन् । यस सत्रमा ट्युनिसियन गायिका एमेल माथलुथी, श्रीलंकाकी पत्रकार कामन्थी विक्रमसिंघे, बंगलादेशकी मार्जाना महनाज र नेपालकी जेन–जी अभियन्ता तनुजा पाण्डे सहभागी हुनेछन् ।
नोबेल शान्ति पुरस्कार विजेता तथा मानवअधिकार अभियन्ता शिरिन एबादीले लोकतन्त्रको आधार स्तम्भ नै मानव अधिकार र अभिव्यक्ति स्वतन्त्रता भएको बताएकी छन् । कान्तिपुर कन्क्लेभ-२०२६ मा मुख्य मन्तव्य दिने क्रममा उनले राजनीतिक दलका लागि होइन, नेपालमा पुराना राजनीतिक दलले गरेको एकतन्त्रीय शासनविरुद्ध युवाले आवाज उठाएको बताइन् । उनले भनिन्, 'मेरो देशमा ४ दशकदेखि राज्यविरुद्धको आन्दोलन जारी छ । तर सत्ता अझै डगमगाएको छैन ।'
नोबेल शान्ति पुरस्कार विजेता शिरिन एबादीले इरानका जनता र जेन–जीहरू निरन्तर आन्दोलनमा रहेको र उनीहरूले हार नमानेको बताइन् । उनले सत्ताले निरन्तर हिंसा गरिरहेको उल्लेख गर्दै यसबाट ठूलो मानवीय क्षति भएको पनि जनाइन् ।
उनले छिट्टै इरानमा जनताको जीतको खबर आउने विश्वास व्यक्त गर्दै जेन–जी तथा अन्य नागरिकहरूको आन्दोलनले निष्कर्ष निकाल्ने बताइन् ।
नोबेल शान्ति पुरस्कार विजेता तथा मानवअधिकार अभियन्ता शिरिन एबादीले कान्तिपुर कन्क्लेभ-२०२६ मा मुख्य मन्तव्य दिने क्रममा नेपालमा गत भदौ २३-२४ को जेन–जी आन्दोलनले आफ्नो ध्यान खिचेको बताएकी छन् । 'नेपालमा जेन-जी आन्दोलन भएपछि मेरो ध्यान नेपालले खिच्यो । उनीहरुले किन आन्दोलन गरेको भनेर मैले पनि चासोका साथ हेरेँ । लोकतन्त्रका लागि गरिएको आन्दोलनले म खुसी भएँ,' उनले भनिन्, 'आन्दोलनमा ज्यान गुमाउनेहरुप्रति म हार्दिक श्रदाञ्जली अर्पण गर्न चाहन्छु ।'
इरान र विश्वभर लोकतन्त्र तथा महिला अधिकारका पक्षमा भइरहेका आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै आएकी शिरिन एबादीले पछिल्लो चार दशकयता नागरिकहरू सडकमा उत्रिएर निरन्तर आन्दोलन गरिरहेको पृष्ठभूमि स्मरण गरिन् । उनले शासकहरूले आन्दोलनमा सहभागी हुनेलाई मार्ने र थुन्ने काम गरिरहेको बताइन् ।
एबादीले इरान चौथो ठूलो ग्यास भण्डार भएको देश भए पनि दुई तिहाइ जनता गरिबीको रेखामुनि रहन बाध्य भएको उल्लेख गर्दै लोकतन्त्रको मूल्य जनतामाझ पुर्याउन नसक्दा यस्तो अवस्था आएको बताइन् ।
नोबेल शान्ति पुरस्कार विजेता तथा मानवअधिकार अभियन्ता शिरिन एबादीले कान्तिपुर कन्क्लेभ-२०२६ मा मुख्य मन्तव्य दिने क्रममा नेपालमा गत भदौ २३-२४ को जेन–जी आन्दोलन भएको कुरा उल्लेख गर्दै १८ वर्ष पुगेकाहरुलाई भोट हाल्न सुझाइन् । भनिन्, 'युवाले उठाएको आवाजका कारण अबको १९ दिनमा चुनाव हुँदै छ । त्यो कुराले म खुसी छु । फेरि पनि त्यस्तै आन्दोलन गर्न नपरोस् भनेर म तपाईंहरुलाई सुझाव दिन चाहन्छु । जति जना १८ वर्ष पुग्नुभएको छ । तपाईंहरु भोट हाल्नुहोस् ।'
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले पछिल्ला समयका आन्दोलन, असन्तोष र नागरिक आवाजले राज्य र राजनीतिक नेतृत्वलाई अब कता, कसरी र कसको नेतृत्वमा भनेर नयाँ किसिमका प्रश्नहरू सोधिरहेका बताएका छन् । गाउँबस्तीदेखि सहरसम्म, युवा पुस्तादेखि पाका नागरिकसम्म, सडकदेखि डिजिटल मञ्चसम्म प्रश्न चर्का देखिए पनि तिनका जवाफ खोक्रा देखिएको उनले बताए । धाराप्रवाह भाषण, चर्का नारा र आकर्षक आश्वासनले नागरिकको आकांक्षालाई सम्बोधन गर्न नसकिने उनको भनाइ थियो । 'आजको आवश्यकता शान्त, तथ्यमा आधारित, इमानदार र परिणाममुखी राष्ट्रिय संवाद हो । त्यही प्रयोजनका लागि ‘कान्तिपुर कन्क्लेभ’लाई सार्थक मञ्च बनाउने हाम्रो संकल्प छ,' उनले भने ।
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले सचेत समाजको आधार भनेकै सही सूचना, बहस र संवाद भएको बताएका छन् । कान्तिपुर कन्क्लेभको पाँचौं संस्करणको पहिलो दिन काठमाडौंमा आयोजित कार्यक्रममा उनले आफूहरूले समाचार र विचारको दैनिक अभ्याससँगै राष्ट्रिय महत्त्वका मुद्दामा केन्द्रित रहेर बहस र संवादका मञ्चलाई समेत निरन्तर अगाडि बढाइरहेको बताए ।





































