गत भदौ २३ गते नयाँ बानेश्वरस्थित संसद् भवनअघि भएको प्रदर्शनका क्रममा उनको देब्रे खुट्टामा गोली लागेको थियो ।
What you should know
काठमाडौँ — जेन–जी आन्दोलनका क्रममा गोली लागेर सख्त घाइते भएका प्रकाश बोहोरा ५ महिनापछि राष्ट्रिय ट्रमा सेन्टरबाट डिस्चार्ज भएका छन् ।
गत भदौ २३ गते नयाँ बानेश्वरस्थित संसद् भवनअघि भएको प्रदर्शनका क्रममा उनको देब्रे खुट्टामा गोली लागेको थियो । गोली लाग्दा नसामा गहिरो चोट पुगेपछि उनलाई लामो समय आईसीयुमा राखेर उपचार गर्नुपरेको थियो ।
प्रकाश जेन–जी आन्दोलनका ती अनुहार हुन्, जसको रगत लतपतिएको जुत्ता आन्दोलनकै ‘आइकोनिक प्रतीक’ बनेको थियो । अस्पतालका सुरुवाती साढे ३ महिनाको बसाईं आफ्नो लागि ‘नर्कको बसाइ’जस्तै रहेको प्रकाश सम्झन्छन् ।
‘त्यो समय असह्य थियो, लगातार प्यानिक हुन्थ्यो,’ उनले भने, ‘नसाको दुखाइ यति धेरै थियो कि कहिलेकाहीँ मर्नु नै सजिलो लाग्थ्यो ।’
पछिल्लो डेढ महिनामा भने स्वास्थ्यमा केही सुधार आएको र अहिले दुखाइ निकै कम भएको उनले बताए ।
प्रकाशको उपचारका लागि उनकी आमा नन्दा बोहोरा असोज ३ गते काठमाडौँ आइपुगेकी थिइन् । यतिन्जेल छोराको स्याहारमा जुटेकी उनी डिस्चार्जको खबरले खुसी त छन्, तर चिन्ता नसकिएको बताउँछिन् ।
‘घर जान पाइन्छ भन्ने सोच्दा खुसी लाग्छ,’ उनले भनिन्, ‘तर खुट्टाको नसा कत्तिको बलियो हुन्छ, भविष्यमा के हुन्छ भन्ने डर पनि उस्तै छ ।’ डाक्टरका अनुसार नसाले पूर्ण रूपमा काम गर्न अझै समय लाग्नेछ । केही समयपछि पुनः फलोअप र थप उपचार आवश्यक पर्ने बताइएको छ ।
प्रकाश बोहोरा हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट आसन्न प्रतिनिधिनसभा निर्वाचनको समानुपातिक उम्मेदवारतर्फको बन्दसूचीमा चौथो नम्बरमा छन् । उनले अब आफू राजनीतिक यात्रामा सक्रिय हुने बताए ।
‘मैले सडकबाट सुरु गरेको परिवर्तनको आवाज अब सदनसम्म पुर्याउनेछु,’ उनले भने, ‘जेन–जीका माग, सुशासन, भ्रष्टाचारमुक्त समाज र आर्थिक रूपान्तरणका मुद्दा संसद्मा उठाउँछु ।’
