ट्युनिसियन गायिका एमेल माथलुथीले आफ्नो आवाज आवाजविहीनहरुका लागि भएको बताइन् ।
काठमाडौँ — ट्युनिसियन गायिका एमेल माथलुथीले आफूलाई सानैदेखि शासकीय प्रणालीविरुद्ध बोल्नुपर्छ भन्ने लागेको सुनाएकी छन् ।
कान्तिपुर कन्क्लेभको सोमबारको सुरुवाती सत्र ‘आन्दोलनबाट अवसरतर्फ’मा वक्ताका रुपमा सहभागी मथलुथीले आफू सानोदेखि नै स्वतन्त्रता मन पराउने खालको भएको बताइन् । 'मलाई स्वतन्त्रता मनपर्थ्यो । तानाशाहीद्वारा शासित हुन चाहन्नँ थिएँ,' उनले भनिन् ।
कसैका लागि आवाज बन्न सक्छु भने किन नबन्ने भनेर नै गीतमार्फत विरोधको स्वर बोल्न थालेको पनि उनको भनाइ थियो । 'मेरो आवाज आवाजविहीहरुका लागि थियो,' उनले भनिन् ।
उनले २०१० देखि सुरु भएको ट्युनिसियाली क्रान्ति 'अबर स्प्रिङ'का क्रममा गाएको 'माइ वर्ड इज फ्री' गीत विश्वव्यापी रुपमा क्रान्तिको प्रतीक बनेको थियो ।
अरब आन्दोलनपछि उनी अमेरिकाको न्युयोर्क सहरमा बस्दै आएकी छन्, जहाँ उनले विभिन्न प्रतिष्ठित कार्यक्रमहरूमा प्रस्तुति दिन्छिन् । २०१५ मा नोबेल शान्ति पुरस्कार समारोहमा उनले हजारौंको अगाडि आफ्नो चर्चित गीत प्रस्तुत गरेकी थिइन् ।
उनले विशेषत: विश्वभर दमन र उत्पीडनमा परेकाहरूका पक्षमा गीत गाउने गरेकी छन् । उनले २०१७ मा ‘इन्सेन’, २०१९ मा ‘एभ्रिह्वेर वी लुक्ड वाज बर्निङ’, २०२० मा ‘द ट्युनिस डायरिज’ लगायत एल्बम निकालेकी छन् ।
